
दमक/ प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आइतबार भाइटीका दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । दिदीबहिनी नहुनेका लागि काठमाडौको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटिकाको दिनमात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने परम्परा रहि आएको छ । भौतिक रुपमा टाढा रहेका दाजुभाईलाई डिजिटल प्रविधिको प्रयोगबाट पनि टिका लगाइएको छ । भाइटिका लगाएसँगै नेपालीको दोस्रो ठूलो चाड तिहार किनारा लागेर छठको रौनकता बढेको छ । छठ पर्वलाई भव्यताका साथ मनाउन दमकसहित झापाका विभिन्न खोला तथा किनारमा पुजामण्डप बनाउने क्रम भईरहेको छ । समग्रमा तिहार रोचक र रोमाञ्चक तरिकाले बितेको छ । तथापि गाउँघरतिरको तिहार विगतजस्तो रमाइलो नभएका प्रतिक्रिया पनि आएका छन् । गाउँघरमा युवा घरबाहिर र पाकाहरुमात्र भएको कारणले पनि त्यति रमाइलो नभएको र युवाको अभावमा सामूहिक देउसीभैलोले प्राथमिकता पाएको प्रतिक्रिया दिएका छन् । तिहारमा देउसी भैलोले लोकसंस्कृति, संस्कार र परम्परागत नीतिविधि छोडेको अनुभूति पनि गराएको छ । जताततै साउण्डबक्सको माध्यमबाट भट्याउने, आषिस दिने र धेरै अन्य गीतमा डान्स गरेरै भेटी, दक्षिणा झार्ने गरेको देखियो ।
टिका पनि सर्वसाधारणदेखि पर्यटकसम्म र राष्ट्रप ति, प्रधानमन्त्री, पूर्व राजा, मुख्यमन्त्री, मन्त्रीलगायत उच्च ओहदाधारीले निर्धारित साइतमै टीका ग्रहण गरेका छन् । सबैका आ–आफ्ना चेलबेटीबाट टिका ग्रहण गरेका हुन । भौतिक रुपमा भेट हुने भौतिक रुपमै र देश परदेशमा रहनेहरुले डिजिटलको प्रयोगबाट टिका लगाएका छन् । त्यो भन्दा अर्को फरक दृश्य पनि देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने हिरासतमा रहेका कारणले उनको बहिनीले फोटो राखेर टिका लगाइदिएकी छन् भने जेनजीलगायतका नेता तथा कार्यकर्ताले सडकमा टिका लगाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । यसैगरी पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहिनी सुशीला खड्काको हातबाट भाइटीका लगाएका छन् । विभिन्न देशबाट आएका पर्यटकहरुलाई पोखरामा होटल एसोसिएसन अफ नेपाल (हान)ले विभिन्न देशबाट आएका ५६ जना पर्यटकलाई टिका लगाइदिएको छ । पर्यटकलाई लोकसाइडको रेन्बो चिल्ड्रेन होममा आश्रित बालिकाहरूले सप्तरंगी टीका र माला लगाइदिए। पुरूष पर्यटकलाई ढाका टोपी र महिला पर्यटकलाई रातो मफलर उपहार दिएका थिए ।
दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वरमा लगाए टिका
तिहारको प्रमुख भाइटीकाका दिन बिहीबार काठमाडौँको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाउँदै आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका छन् । भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो । मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाएका छन् । परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ । बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा बिहीबार विशेष चहलपहल देखिएको थियो ।
भाइटिकाकै दिन दुर्घटना
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बिहीबार साँझ माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको हो । गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।
मृतक र घाइते यात्रुहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
देउसी खेल्दा कुटपिटबाट मृत्यु
विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को उक्त स्थानमा देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिटबाट सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। घटनामा संलग्न रहेको आशंकामा तीन युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाले बताए। पक्राउ पर्नेहरूमा विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टाका १९ वर्षीय रिङकु गुरुङ, २० वर्षीय धरन पाइजा मगर र एक जना १७ वर्षीय किशोर रहेका छन्। मृतकको शवलाई पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।