भगवान कृष्णको अवतार कथा राजनीतिमा धर्मको अध्यायको सुरुवात सँगै जन जनमा लोकप्रिय अवतार कथाको रुपमा प्रचलित छ । भगवान राम को अवतार पछि द्वापर युगमा भगवान कृष्णको जन्म भएको अवतार कथाले सम्पूर्ण सनातन संस्कृति गदगद र आत्ममुग्ध भएको अवस्था छ । घोर कलिकालमा पनि भगवान कृष्णलाई सम्पूर्ण कलाका साथ यस धराधाममा अवतरण गर्ने अवतार कथाले हरेक आस्तिक र नास्तिक को मनमस्तिष्कमा एउटा नयाँ तरङ्ग ल्याउने र सन्तुलन स्थापना गर्ने प्रयास गरेको छ। पदार्थवादी चेतनाले पदार्थ बाहेक यो संसारमा कोही पनि सर्वशक्तिमान छैन, भन्ने विचार को प्रतिपादन गरेको छ, भने पदार्थलाई पनि स्वयं जागृत बनाउने चेतना ईश्वर हो भन्ने विचार हरु धार्मिक ग्रन्थहरूमा उल्लेखित छ।आत्मचिन्तन र रहस्य कथाले भरिएका द्वापर युग मात्र होइन सत्ययुग र कलियुग सम्म पनि परमधामबाट भगवान विष्णु परम ईश्वरको रूपमा सृष्टिमात्रको कल्याण गर्नको लागि नयाँ नयाँ स्वरूप ग्रहण गर्ने र भक्तजनहरुलाई उद्दार गर्ने तथा मानवताको मार्गलाई प्रशस्त गर्ने कार्य हुँदै आइरहेको छ । यस संसारमा मानिस मात्र होइन हरेक जीव र जड चेतन समेत ईश्वरीय ऊर्जासँग सम्बन्धित रहेको हुनाले भगवानको सहरा बिना बाँच्न सक्दैन। जसरी बिउ बिना बोट बिरुवा उम्रिँदैन त्यसरी नै परमात्माले गोडमेल नगरी निराकार आत्माले शरीर धारण गर्न पाउँदैन, यही विचारले संसारमा धर्मलाई जीवन पुनर्जीवन दिइरहेको छ र मानिस जुनसुकै रुपमा ईश्वरीय शक्तिलाई सम्मान गर्ने आदर गर्ने र आफूलाई ईश्वरीय शक्तिभित्र समाहित गराउने प्रयासमा जीवनभरि नै लागेका हुन्छन् ।संसारमा धर्म र अधर्म ,न्याय र अन्याय, पाप र पुण्य, शान्ति र अशान्ति, जीवन र मृत्यु लाई छुट्याइदिने यस्तो कुन शक्ति हो जसलाई विज्ञानले पहिचान गर्न सकेका छैनन्, जसलाई बताउन सकिराखेका छैनन्, त्यस्तो अपूर्ण विज्ञानले कसरी मानवताको मार्ग प्रशस्त गर्न सक्दछ ,र संसारलाई बचाउन सक्दछ भन्ने प्रश्न टड्कारो रुपमा अहिलेको अवस्थामा देखा परिरहेको छ । मर्यादा पुरुषोत्तम भगवान श्रीराम सँगै रावणको नाम पनि जोडिएको छ ‘र बाट राम र र बाट रावण’ को पनि व्युत्पत्ति गर्न सकिन्छ त्यस्तै ‘क बाट कृष्ण र क बाट नै कंस’ शब्दको पनि व्युत्पत्ति हुन्छ । तर गुण दोष हेर्दा आकाश पातालको अन्तर छ।गुण दोषको आधारमा राम र कृष्ण पूर्णवतार हुन् तथा भगवान विष्णुको नयाँ अवतार हुन् । विश्वमा धर्मको स्थापना गर्नको लागि र अधर्मको विनाश गराउनको लागि रामले नयाँ शरीर प्राप्त गरेका हुन् भन्ने घोषणा त्रेता युगदेखि अहिले अहिलेको युगसम्म पनि अनवरत रुपमा चलिरहेको छ। ब्राह्मण, गाई, देवताहरू तथा साधुसन्तहरू को रक्षा गर्नको लागि र प्रेरणा दिनका लागि सन्मार्गमा लगाउनका लागि भगवान राम दशरथ र कौशिल्याको गर्भबाट जन्मिएका थिए । दैहिक दैविक तथा भौतिक दुःख कष्ट भोग्दा भोग्दै पनि आफ्नो जीवन र सुखको परवाह नगरी धर्मको वास्ता नगर्ने रावणलाई, रावणको लंकालाई तथा रावणको सेनालाई पराजित गरी भगवान रामले सत्य र असत्य, पाप र पुण्य, धर्म र अधर्मको बीच युद्धमा पाप ,असत्य र अधर्म तथा अन्याय कहिले पनि जित्न सक्दैन भन्ने कुरालाई प्रमाणित गरेर देखाए। कुनै सेना बिना नै भगवान रामले बाँदर, भालु लाई साथ लिएर लंकाको अजेय सेनामाथि चढाई गर्दा रावण, कुम्भकरण, अहिरावण, मेघनाथ, मारिच, खर्दूषण, ताडका लगायत सम्पूर्ण असुर शक्ति र साम्राज्य को अन्त्य गरी भगवती सीतालाई रावणको फन्दाबाट छुट्याएर अयोध्या फिर्ता ल्याउन सफलता पाएका थिए। यो एउटा आध्यात्मिक कथा मात्र नभएर मानव जीवनको पुरुषार्थको एउटा यस्तो कथा हो जसले युगौँ युगौंसम्म यस धराधाममा सनातन धर्मावलम्बीहरूलाई उत्प्रेरित गरिरहने छ तथा कुनै पनि शक्तिको अगाडि उभिने हौसला प्रदान गरिरहनेछ भन्ने कुरा नै रामायणको उद्घोष हो। भगवान कृष्ण भने पनि कंस, कालिया नाग, पुतना, बकासुर, शिशुपाल, दुर्योधन, सकुनी, कर्ण लगायतका स्वेच्छाचारी र आत्म अभिमानीहरूलाई तथा आफूभन्दा कमजोर लाई सताउनेहरूलाई समाप्त समाप्त पारी धर्मराष्ट्रको स्थापना गराउनको लागि पाँचजन्य शङ्खको उद्घोेष गर्नुभएको थियो । भगवान कृष्णले सुदर्शन चक्रबाट कैयौं आततायीहरूको संहार गर्नुभएको थियो। जब जब संसारमा धर्मको हानि र अधर्म ले जित्ने प्रयास गर्ने छ तब तब संसारमा असुर विचारहरूको प्रबलता बढ्दै जानेछ । अधम प्राणीहरूले सोझा इमान्दार र कमजोर मानिसहरूलाई सताउनेछ। त्यसलाई दण्ड दिनको लागि भगवान कृष्णको जन्म भगवान विष्णुको अवतारको रुपमा देवकी र बसुदेवको पुत्रको रुपमा कंशको कारागार मथुरामा भएको थियो । कंसले आफ्नै बाबुलाई बलजफ्ती राजगद्दी बात हटाएर राजा बनेका थिए । अधर्मले नातागोता र सम्बन्ध पनि बुझ्दैन। कंश भगवान कृष्णका साखै मामा थिए । तर पनि मथुराका राजा कंसले आफ्नो बलको अहंकारमा आएर आफ्नै बहिनीको सातवटा सन्तानहरूको जन्मिने बित्तिकै हत्या गरिदिएको थियो । आठौं सन्तानको रूपमा भदौ महिनाको अमावस्या तिथि को अर्धरात्रीमा भगवान कृष्ण नेल हत्करी लगाएर जेलमा बसिरहेकी आफ्नी आमा देवकीको गर्भबाट जन्म लिनुभएको थियो। जन्म लिने बित्तिकै भगवान कृष्णको मायाले सम्पूर्ण जेल प्रकाशित भएको थियो ।जेलका रक्षक तथा सिपाहीहरु निन्द्राको बसीभूत भएर निदाउन पुगेका थिए । पिता वसुदेव र आमा देवकीको शरीरमा लागेको नेल र हत्करी समेत आफसे आफ चुडिएको थियो । अमावस्याको घनघोर रात्रीमा मुसलधारे पानी परिरहेको थियो। आकाशमा चट्याङ परिरहेको थियो । पिता बसुदेवले कंस को अत्याचारबाट भगवान कृष्णको शिशु जीवनलाई जोगाउनको लागि एउटा साँघुरो टोकरीमा भगवान कृष्ण लाई टाउकोमा राखेर जेलबाट निस्किएर यमुना नदीको उफ्रिन्दो बाढीलाई तर्दै गोकुलको नन्दगाउँ पुगेर आफ्नो आफन्त पर्ने नन्दलाल र यशोदा बाट जन्मिएको नवजात शिशु को ठाउँमा कृष्णलाई राखेर तथा यशोदाबाट जन्मिएको शिशुलाई टोकरीमा राखेर पुनः कारागारमा फर्केर आउने बित्तिकै यशोदाको गर्भ बाट जन्मिएकी योगमायाले रुन थालेपछि कारागारका सिपाहीहरुले दौडेर महाराज कंस लाई जानकारी गराएका थिए । मथुराका राजा कंस जेलमा आएर शिशुलाई मार्न खोज्दा योगमाया रुपी शिशु आकाशमा उडेर आकाशवाणी गरेका थिए र कंसलाई मार्ने व्यक्ति संसारमा जन्म लिइसकेको छ अब तिमीलाई कसैले बचाउन सक्दैन भनेर घोषणा गरेका थिए ।
समाजमा रावण प्रवृत्ति र कंशप्रवृत्तिका मानिसहरू मानिसहरूकै शरीरमा जन्मिएका हुन्छन् जसले आसुरी शक्तिको प्रभावबाट आफूलाई अझ राम्रो र शक्तिशाली ठानेका हुन्छन् ।तिनीहरुले अनेकौं किसिमबाट आफूभन्दा दुर्बल र निरिह वर्ग का व्यक्ति र समाजलाई अनेकौं किसिमबाट शोषण गरेका हुन्छन्। थिचोमिचोमा परेका समाजका कमजोर व्यक्तिहरूले न्याय निसाप पाउन असम्भव हुन्छ। यस्तो अवस्थामा मानिसलाई अदृश्य शक्ति र सत्ताप्रति विश्वास जागृत हुन्छ र ईश्वरीय सामथ्र्य प्रति जागेको विश्वास र शक्ति मनुष्यमा स्थानान्तरित भएपछि मानिस आफूभन्दा जस्तोसुकै शक्तिशाली र प्रभावशाली अनैतिक व्यक्ति हरूको विरुद्ध जाई लाग्छन् र उनीहरूको अन्त्य गरेरै छाड्छन् ।आसुरी विचारको सत्ता पनि धेरै लामो समयसम्म टिक्न सक्दैन भन्ने कुरा बारम्बार इतिहासले प्रमाणित गरिदिएको छ ।
जेलमा जन्मिएका कृष्ण राजनीतिका कुशल खेलाडी थिए न्याय र अन्यायमा पाप र पुण्यमा धर्म र अधर्ममा सत्य र असत्यमा सधैं धर्मको रक्षा गर्ने पक्षको पक्षमा लागेर मानवताको संरक्षण र सम्बर्धनमा अहोरात्र खट्नुभएको थियो ।भगवान कृष्ण पनि मानव शरीर धारण गरेर नै मानव धर्मको स्थापनाको लागि ठूलाठूला युद्धको अगुवाई गर्नुभएको थियो। आफ्नै मामा कंशलाई पनि मल्ल युद्धमा चुनौती दिएर मामाकै राजमहलमा मामालाई पराजित गरी अधर्मको प्रतीक बनेका कंशको जीवन लीला समाप्त पारेका थिए ।आफ्नो निर्दोष बाबु वसुदेव र आमा देवकीलाई कारागारमुक्त पारि मथुराको राज्य बाबुलाई फिर्ता दिलाएका थिए ।
महाभारत युद्धमा धर्मको अगुवाइ गरेर भगवान कृष्णले अर्जुनलाई ठूलो सहायता गर्नुभएको थियो। दुर्योधनलाई आफ्नो शक्तिको ठूलो घमण्ड थियो। पाण्डवहरूका पिता पाण्डुले राज्य सञ्चालन गरेको हस्तिनापुर राज्य माथि धृतराष्ट्र र उनका सय वटा छोराहरूले अधिकार जमाएपछि पाण्डवहरूले पाँचवटा गाउँ मात्र दिनुस्। हामी त्यसैबाट जीवनयापन गर्छौं र शान्तिपूर्वक बस्छौं भनेर प्रस्ताव गर्दा पनि दिन नमानेपछि युद्धको घोषणा भएको थियो। भगवान कृष्णले पाण्डवको पक्ष लिएर युधिष्ठिर लगायत अर्जुन भीम नकुल सहदेव लाई साथ दिएका थिए भने कौरवहरू को तर्फबाट दुर्योधनलाई सघाउने थुप्रै राजाहरू थिए । महारथी कर्ण, भीष्म पितामह द्रोणाचार्य जस्ता अजेय सेनापतिहरू लाई पराजित गरी अर्जुनले दुर्योधनलाई मार्ने सफलता पाएका थिए तथा हस्तिनापुर राज्यमाथि धर्मको साम्राज्य खडा गरेका थिए। धर्म र अधर्मको युद्धमा भगवान कृष्णले धर्मको साथ दिएर पाण्डवहरुलाई जिताउन सघाएका थिए र अन्त्यमा धर्मको नै जीत भएको थियो। यसै कारणले भगवान कृष्णलाई योगेश्वर भनेर भनिन्छ । सम्पूर्ण राजनीतिको कला र विज्ञान भगवान कृष्णसँग छ यसै कारणले भगवान कृष्णको एउटा हातमा सुदर्शन चक्र छ भने अर्को हातमा मुरली छ, जसबाट शान्तिको मधुर संगीतको ध्वनि गुन्जायमान भइरहन्छ। भगवान कृष्ण प्रेमका देवता हुन् राधा र कृष्ण बीचको अमर प्रेमले संसारमा ईष्र्या र द्वेषबाट,तथा छलकपट र दम्भबाट संसार र समाजको व्यवहार चल्न सक्दैन, सामाजिक प्रचलनमा नैतिकता र सदाचारको स्थापना गर्नु जरुरी हुन्छ । आत्मा र परमात्मा बीचको सम्बन्ध को बारेमा हरेक मानिसलाई र हरेक प्राणीलाई जानकारी हुनुपर्दछ। अनि मात्र मानिसमा दया करुणा मानवता र सहयोगको भावनाको विकास हुन सक्दछ ।हिंसा, आतंकवाद, लुटपाट, घुसखोरी ,भ्रष्टाचार भ्रूण हत्या, बलात्कार लगायत का अनेकौं अपराधहरू लाई अन्त्य गर्न सकिन्छ, तथा भगवान कृष्णका जन्म दिन लाई सार्थक बनाउन सकिन्छ । कर्ममा विश्वास गर्ने र कर्मफलको आश न गर्ने विवेकशील मानिसले भगवान कृष्णको जन्मको उद्देश्य र जीवन प्रसङ्ग बाट धेरै कुराहरुमा सिक्न सक्दछन ।
गीता मा भनिएको छ–
“कर्मन्ये वाधिकारस्य मा फलेसु कदाचन
मा कर्म फल हेतुर्भूर्मा ते संगोस्त्व कर्मनि ।”