ओमप्रकाश गौतम-
जिन्दगी एउटा रङ्गमञ्च रहेछ । यही रङ्गमञ्चमा जीवनका चर्खाहरु चल्दारहेछन् जीवन रहेसम्म । जब जीवन ढल्छ अनिमात्र नाम कमिदो रहेछ मान्छेको । बाचुन्जेल आफूले गरेको कर्म कोही कसैले नदेख्दो रहेछ । किनकि यहाँ बलेको बत्ती निभाएर अन्धकार बनाउने मानिसहरुको भिड बढ्दो छ । यही भिडभित्र अनगिन्ती मान्छेहरुको हतारो छ , जीवन कसरी धान्ने कसरी चलाउने भन्ने । यस्ता भिडैभिडमा हराउन बाध्य भए आम नेपालीहरु । कोही यही नेपाली भूमिमा श्रम बेचिरहेका छन् भने कोहीले विदेशी भूमिमा श्रम बेचिरहेका छन् । हुन पनि हो हिजोआज विदेश जाने हाम्रा विद्यार्थीहरुको त्रिभुवन विमानस्थलमा घुइँचो हेर्दा हामीलाई लाग्छ कि अबको २० वर्षपछि बृद्धवृद्दा बस्नेहरुको देश कुन हो भन्दा सबैले भन्नेछन् कि नेपाल हो भनेर । आज यस्तै हुँदै गएको छ नयाँ नेपाल, बेरोजगार उत्पादन गर्ने देश भएको छ । प्रजातन्त्र प्राप्तिदेखिको ३५ वसन्त पार गरिसक्दा पनि बेरोजगारहरुको बाक्लो भिड छ । एउटा साधारण कर्मचारी पदमा विज्ञापन खुल्दा हजारौं बेरोजगार युवायुवतीहरुले निवेदन दिन्छन् । अब भनेपछि बुझ्नु होस् कि अहिलेका युवाहरुले खाडीदेखि शक्ति सम्पन्न राष्ट्र कुन देश रोज्ला ? आखिर किन उनीहरूले नेपालमा रोजगार नपाएर विदेशै रोजे र रोज्नुपर्ने कारण के थियो ? यसको सार्वजनिक र व्यापक बहस अहिलेसम्म बनेका सरकारले किन गरेनन ? सर्वब्यापक खोजिको विषय बन्न सकेन हिजोदेखि आजसम्म किन ? सबैलाई देश दोहन गर्ने हतारो छ, ‘मै खाउ मै लाउ सुख सयल वा मोज म गरौं’ भन्ने सङ्कीणर् सोचको विकास सबैमा भएकाले गर्दा गरिब झनै गरिब बन्न पुगे ।
आज यही गरिबीका कारण गाँस, बास र कपासका लागि कामको खोजिमा मुग्लान पस्न बाध्य छन् युवाहरु । कोही मुग्लान पस्ने त कोही गाउँमा बसेर ढिडो र गुन्द्रुक खाएर आफ्नै परिवारसङ्ग रमाउनेहरु छन् । यहाँ यस्तै प्रतिनिधि पात्रका रुपमा नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ मा राई माइलाको भूमिकाको प्रतिनिधित्व गर्ने एक पात्र (दयाहाङ राई ) ले आफ्नो तिख्खर अभिनय देखाएका छन् । मेन्छ्याम पिक्चर्स र बासुरी फिल्मसको संयुक्त ब्यानरमा बनाइएको यो चलचित्रको निर्माता आमोद राई छन् भनें भने पटकथा लेखन निर्देशन नवीन सुब्बाले महेश राई सङ्गको सहकार्यमा गरेका छन् । यो चलचित्रले टोरन्टो र बुसान, साओ पाउलो, जिओ मामी, बेइजिङ्ग फिल्म महोत्सवमा समेत प्रसंशा बटुलेको छ । यो चलचित्र बुवाहरुमा समर्पित एउटा गाउँको कथा हो । यसलाई विश्वका थुप्रै अन्तर्राष्ट्रिय बजारमा हिजो देखाइसकेको अवस्था छ भने गत जेठ २८ गते देशभरका सिनेमा हलमा प्रदर्शन गरिएको अवस्था छ । हेर्ने दर्शकहरुले एकदमै सकारात्मक कथा र जिवन्तता र कलाकारको अभिनय बेजोड रहेको प्रतिक्रिया दिएका छन् । यो चलचित्र पूर्वी पहाडी जिल्ला भोजपुरमा छायांकन गरिएको छ । दयाहाङ राई र पशुपति राई श्रीमान , श्रीमती हुन भने प्रसन (बिन्द्रे ) राई उनीहरूको छोरो हो । गाउँमा सडक आएपछि बाउछोराको सम्बन्ध के कस्तो उतारचढाव आउँछ भन्ने कुरा चलचित्रमा देखाइएको छ । गाउँको गरिब परिवार जो गाउँमा डोका, मान्द्रा, नाङला र चित्रा बुनेर परिवारको न्यूनतम आवश्यकता धानिरहेको छ । छोरालाई ३० रुपैयाँको कालो चस्मा किन्न सकेको दिन संसार जितेको खुसी घर भित्रिने परिवार कसरी आफ्नो थातथलो छोडेर कठोर निणर्यमा पुग्छ भन्ने आभास गीतको भिडियोमा छल्किएको छ । यो चलचित्रको अर्को गीतको दृश्य आज भन्दा अगाडि नै भाइरल बनेको छ । त्यो गीत हो – ‘राई माइलाले गावै छाडयो रे’ । त्यसमा परिदृश्यले देखाए अनुसारको शव्द, संगीत, अभिनय प्रभावकारी छ । जसले गर्दा चलचित्र सबै दर्शकहरुका लागि प्रिय बनेको छ । जुन गीतमा श्रवण मुकारुङको शब्द रचना, कालिप्रसाद बास्कोटाको संगीत र सुनिता थेगिमको स्वर रहेको छ ।
यस गीतमा चलचित्रको मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई फिचर्ड छन् भने अर्का पूर्वेली बरिष्ठ कलाकार राज थापा काउचाको समेत अभिनय रहेको छ । यस गीतमा समावेश दृश्यले नवीन सुब्बाको निर्देशन रहेको यस चलचित्रको कथासार पूणर् रूपमा बुझाएको छ । यहाँ गाडीसंगै आफूले गर्दै आएको पेसा संकटमा परेपछि कसरी ब्यक्ति गाउँ छाडने निणर्यमा पुग्छ भन्ने गीतले देखाएको छ । अर्को कुरा बाबुछोराको सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जब गाउँमा मोटर आइपुग्छ । हुन पनि हो गाउँमा धेरै स्थानमा यो बेला पनि मोटरसम्म नदेख्ने धेरै मानिसहरु छन् । उनीहरुको कथा ब्यथा, पीडा छटपटाहट सुनिदिने कोहि छैनन । यो हुनु एउटा दुःखद कुरा हो । हो आज यस्तै कथा र ब्यथा बोलेको छ यो चलचित्रले । जब गाउँमा मोटर आइपुग्छ, सडकसंगै गाउँमा आउने आधुनिकताले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथा चलचित्रले अघि सारेको छ । बाटोले गाउँमा थुप्रै कुराहरु आए । सडक, खानेपानी लगायतका अन्य विविध कामहरु भएका छन् । परिवर्तनका कुराहरु धेरै भए पनि अझै बाँकी पनि छन् । विशेषत ः राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई प्रष्ट रूपमा चित्रण गरेको छ भने निर्देशक सुब्बाले चलचित्र किरात राई समुदायमा आधारित भएपनि बुवाले छोरालाई हुर्काउन गर्ने संघर्षको कथा भएको उल्लेख गरेका छन् । नेपाली समाजमा सन्तान हुर्काउन बाबुले गरिरहेको संघर्ष यस चलचित्रमा हामी दर्शकले देख्न सक्छौं । बाबु र छोराको सम्बन्ध कस्तो हुनुपर्छ , यी दुईबीचको सम्बन्ध बिग्रियो भनें घर कसरी लथालिङ्ग र भताभुङ्ग हुन्छ अनि यही समयमा गाउँघरमा झगडा लगाउने प्रवृत्ति बोकेका मान्छेहरुले कसरी घर बिगार्नका निम्ति कसरत गर्छन् भन्नका निम्ति गाउँले परिवेशको कथा, ब्यथा, छटपटी, औडाहा यस चलचित्रमा बेजोड तरिकाले कथाकारले उठान गरेका छन् । आगामी दिनमा यस्ता सशक्त कथा, संघर्ष, परिश्रम बोकेका कथाहरु आउँदै जाउन् । निर्माता / निर्देशक / छायाकार / कथाकार / सम्पूणर् कलाकारहरुलाइ हृदयदेखिनै आभार प्रकट गर्दै यो कलमी चलचित्रको व्यवसायिक हिसावको समेत पूणर् सफलताको कामना गर्दछ । कमल, झापा