सम्पादकीय

भारतसँग व्यापार बृद्धिको अपेक्षा

भारत हाम्रो छिमेकी मुलुक । जहाँ अर्काे छिमेकी चीनसँग भन्दा व्यापारिक तथा साँस्कृतिक सम्बन्ध प्रगाढ छ । नेपालबाट भारततर्फको आयात निर्यात व्यापार बढी हुने गरेको छ । भाषिक तथा साँस्कृतिक रहनसहन मिल्दोजुल्दो भएर पनि भारतसँगको सम्बन्ध अन्य छिमेकी देशसँग भन्दा प्रगाढ । त्यतिमात्र होइन हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूमिगत कालमा भारतका विभिन्न ठाउँमा बसी राजनीति गर्दै भारत राजनीतिक आश्रयस्थलका रुपमा पनि लिइएको थियो । तिनै प्रधानमन्त्री प्रचण्डले भारतको औपचारिक निम्तामा नयाँदिल्ली पुगेर त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरी दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने बारेमा छलफल गरेका छन् । साथै उनले व्यवसायीहरुसँग नेपालमा लगानी गर्न समेत आग्रह गरेका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् । सो अवसरमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

यसैबीच, सोमबार नै प्रधानमन्त्री दाहालले ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्दै नेपालमा लगानी गर्न त्यहाँका व्यवासायीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालमा लगानीको वातावरण र व्यवसायिक सम्भावना रहेको भन्दै व्यवसायीहरुलाई आग्रह गरेका थिए । उनले पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको जानकारी गराए । उपभोक्ता दृष्टिकोणले पनि नेपाल लगानीका लागि उपयुक्त थलो भएको उनले भनाइ राखे ।

भारत सरकारसँग दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिँदै प्रधानमन्त्री दाहालले ठूला जलविद्युत आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ उनका भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए । शपथग्रहणपछि सोही साँझ प्रचण्ड र मोदीबीच भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै उनको आउँदो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूबीच विगतमा भएका विद्युत खरिद सहितका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भयो । भूगोल, राजनीति, सँस्कृति, भाषा सहितका हिसावले सवैभन्दा नजिक भारतसँगको सम्बन्ध पनि चाँहिदो अर्थमा प्रगाढ बनिरहोस् । अनि व्यापार सहजताका हिसावले पनि थप सहज वातावरण बनोस् । नेपालले हाल बेच्न सक्ने भनेको विजुली हो । त्यो किन्ने कुरामा भारतले सघाओस् । अनि एउटा छिमेकीले गर्ने निश्वार्थ व्यवहार एकापसमा कायम रहिरहोस् ।

You may also like