सम्पादकीय

रुसी सेनाका नेपालीको चाँडो उद्धार गर

नेपालीहरु बेरोजगारको पीडा खेपेर विदेशमा रोजगारकालागि जाँदा पनि सुख छैन । अर्थात उनीहरुले विदेशमा समेत त्रासमा बाँच्नु र उद्धारकालागि हारगुहार गरिरहनु परेको अवस्था छ । खाडी मुलुकमा पनि राम्रो रोजगार दिने भनेर मेनपावर कम्पनीमार्फत जाने तर त्यहाँ पुगेपछि शर्त अनुसारको रोजगारी नपाउँदा भोगेका समस्याको खात छ । त्यससँगै यसबेला रुस युक्रेनबीचको युद्धका क्रममा त्रास भोगिरहेका रुसी सेनामा कार्यरत २४० जना नेपालीले त्यहाँबाट आफ्नो उद्धारका लागि आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् ।

उद्धारका लागि उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको विभागमा महानिर्देशक प्रकाशमणि पौडेलले बताएका छन् । रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । व्यक्तिगत पहल तथा सरकारको पहलमा उनीहरू सकुशल नेपाल फर्किन सफल भए । रुसी सेनामा कार्यरत १२ जना भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ । सरकारले भने हालसम्म १० जनाको मात्रै आधिकारिता पुष्टि गरेको छ । तीबाहेक अन्य नेपालीको पनि मृत्यु भएको अनुमान गरिएको छ । उनीहरूको रुसमै अन्त्येष्टि गरिँदै आएको छ । शवको अन्त्येष्टि गरिए पनि अस्तु भने नेपाल पठाउन गरिएको छ ।

रुसले मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन तयार भएको उल्लेख त गरेको छ । तर यसअघि मृत्यु भएकाहरुको क्षतिपूर्ति तथा सेनामा भर्ना नगर्न गरेको आग्रहबारे रुसले कुनै प्रतिक्रिया दिएको थिइन् । अथक प्रयासपछि रुसले मृत्यु भएका नेपालीहरूको अस्तु नेपाल पठाउने र क्षतिपूर्ति समेत दिन तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युक्रेन रुसबीचको युद्धका लागि नेपालीहरू समेत रुसी सेनामा भर्ना हुँदै आएका थिए । यतिबेला भने सरकारले श्रम स्वीकृति र रुस भ्रमणमा रोक लगाएपछि नेपालीहरू पछिल्लो एक महिनादेखि जान पाएका छैनन् ।

उद्धारका लागि हारगुहार गरेका २४० मध्ये विभिन्न तरिकाको सोर्सफोर्सका आधारमा ४५ जना नेपाल फर्किएपनि सरकारको चुस्त र तीव्र पहलमा भनें सहजरुपले उनीहरु फर्किने वातावरण बन्न सकेको छैन । यसका लागि नेपालको कुटनीतिक पहल गर्न आवश्यक छ । आफ्नो देशमा रोजगार समेत सिर्जना गर्न नसक्ने तर रोजगारकालागि गएका मानिसले त्रास छ, ज्यान बचाउन उद्धार गरिदिनुहोस् भन्दापनि सरकारको तदारुकता नदेखिनु चाँही बिडम्बनापूर्ण अवस्था हो । उनीहरुले कमाएको रेमिट्यान्सबाट देशको विकासमा महत्वपूर्ण योगदान पुगेको अवस्थामा उनीहरुको समस्यामा भनें पीडा अनुभूत नगर्ने हो भनें हामी कसकालागि र किन सरकार सञ्चालन गरिरहेका छौं भन्ने अहम् प्रश्न खडा हुनेक्रम बढिरहन्छ ।

Author

You may also like