अर्थ स्थानीय

मौरी पालन व्यवसायबाट समृद्धि खोज्दै

उर्लाबारी, १५ फागुन। मोरङ उर्लाबारीका कृषकहरु मौरी पालन व्यवसायबाट समृद्धि खोज्दै आएका छन् । १–२ घारबाट सुरु गरेर बढाउदै जाँदा छोरा–छोरीलाई वोर्डिङ पढाउन र प्राविधिक विषयबाट उच्च शिक्षा हासिल गराउन सहज बनेर जीवनस्तर उकासिएको अवस्था छ ।

‘गरे के हुदैन र ?’ भन्ने कुराको नमूना बनेकी छन्, तत्कालिन राजघाट ८ डाँडा टोली निवासी गोमा दाहाल । विगत २ दशक अघि परिवारलाई मह खुवाउन १ गोला मौरी घारबाट सुरु भएको युरोपियन मेलिफेरा जातको मौरीसँगको सम्बन्ध अहिले गतिलो आय आर्जन गर्ने व्यवसाय बनेको छ । खेतीपातीबाट सामान्य गुजारा चलाउदै आएको अवस्थामा रेडियोबाट प्रसारण हुने कृषि कार्यक्रम अन्तर्गत मौरी पालन व्यवसाय सुन्दा ध्यान केन्द्रित भइ गोदावरीमा तालिम लिएपछि राजघाट मौरी पालन उद्योग दर्ता गरेर उनले व्यवसाय सुरु गरिन् । त्यसरी सुरु गरेको व्यवसायले २ छोरा र १ छोरीलाई वोर्डिङ हँुदै प्राविधिक शिक्षा दिलाउन सफल भएको कहानी उनले सुनाइन् । ‘मेरो सवैथोक यही मौरी हो । यसैबाट जीवन सहज बनाउने बाटो मिलेको छ ।’– उनले भनिन् ।

उनकोमा अहिले २ सय घार मौरी छन् । सालमा ५० देखि १ सय गोला मौरी घारमै बिक्री गर्ने गरेको सुनाउँदै उनले भनिन् ‘वार्षिक ३० क्विन्टल मह बिक्री गर्दा सरदर कुल १५ लाख आम्दानी हुन्छ ।’– उनले सुखद अवस्था सुनाउने क्रममा भनिन् । धेरै परिमाणमा खरिद गर्नेका लागि प्रति केजीको ५ सयका दरले र खुद्राका लागि ८ सयले मह बिक्री गर्ने गरिएको बताइन् ।

पैत्रिक जमिनको कमाईले घर धान्न नपुग्दा अर्काको मेलापात, खोलाको बालुवा चाल्ने जस्ता काम गरेर आएको पैसाले व्यवहार चलाउनु परेको उनमा सम्झना आलैछ । तर अहिले समयले कोल्टो फेर्यो । मौरीको कमाईबाट उर्लाबारी ४ स्कूलडाँडामा अढाई र तीन तले २ वटा पक्की घर जोड्न सफल भएको उनको सुखद कथा छ । उनको जेठो छोरो सुनिल त्यही कमाइले पढेर विर्ताज्योति आँखा अस्पताल दमकको प्रशासन प्रमुखका रुपमा जागिरे छन् । छोरी सुधा व्याचलर पढेर मदन भण्डारी स्मृति प्रतिष्ठानमा ल्याब टेक्निसियन छिन् । कान्छो छोरी सुवास कृषि ज्ञान केन्द्र भोजपुरमा वागवानी विकास अधिकृत छन् ।

आमाले मौरी पालन व्यवसाय सुरु गर्नु नैं आफू लगायत दाजु, दिदीले समेत वोर्डिङ हँुदै उच्च शिक्षा हासिल गर्न र सक्षम परिवार बन्न सफल भएको सुवासको भनाई छ । कृषि कर्मबाट केही हँुदैन भन्नेहरुलाई प्रमाणित गरी देखाउन कृषि विषय लिएर आफूले अध्ययन गरी कृषि ज्ञान केन्द्रमा अधिकृत हुन पाएकोमा मौरी पालन व्यवसायप्रति उनले गौरब गरेका छन् ।

आफ्नो व्यवसायलाई टिकाइराख्न र ग्राहकको विश्वास जित्न, मौरीले सिल गरेको तथा पाकेको मह मात्र काढ्ने वा बिक्री गर्ने हो भने बजारको अभाव नहुने र सफलता पाइने अर्का सफल व्यवसायी तथा पद्मा श्री मौरी पालन कृषि फर्मका संचालक दिपेन्द्र थापा बताउँछन् । उनले भने ‘मैले घार, मौरीको गोला, मह बेच्ने गरेर वर्षको १८ लाखसम्म आम्दानी गर्ने गरेको छु ।’ उनका छोरा चिराग मौरीपालन व्यवसायबाट प्रभावित भएर हाल कृषि सम्बन्धी (वीएसजीएजी)मा गौरादह कृषि क्याम्पसमा अध्ययन गर्दै गरेका छन् । उनले स्थानीय जातको सेरेना र विदेशी मेलिफेरा दुवैखाले मौरी पालन गरेका छन् ।

स्वास्थ्यवद्र्धन मात्र नभएर औषधीय गुण भएको मह सुद्ध तरिकाले उत्पादन गर्दै आएको उनीहरुको भनाई छ । विशेषगरी मौरीकालागि टुनीको काठको घार राम्रो मानिन्छ । घार निर्माण गरेर मौरीका गोला राखी त्यस सम्बन्धी तालिम लिएर मह उत्पादन गर्ने क्रममा उर्लाबारीका किसान अग्रपंतीमा छन् । हाल उर्लावारीमा २ वटा कृषि समूह, १७ वटा कृषि फर्म, १ सहकारी, १ घार उद्योग र ८२ घर परिवारले मौरी पालन गरेर आफ्नो समृद्धि खोज्दै आएका उर्लावारी नगरपालिकाका कृषि शाखा प्रमुख अम्विका लुईटेलले जानकारी दिए । उर्लावारीमा ३ सय भन्दा बढी मौरी गोलाबाट वार्षिक ७० क्विन्टल भन्दाबढी मह उत्पादन हुँदै आएकोे तथ्यांक रहेको उनले बताए ।

यो त प्रतिनिधि पात्रको उदाहरण मात्र हो । केही गर्ने लक्ष्य लिएका नागरिकहरुलाई राज्यले तालिम र आर्थिक सहयोग प्रदान गर्ने हो भने स्वास्थ्यका हिसावले समेत औषधीय गुण भएको खाद्यान्न महको उत्पादनबाट स्थानीयको आर्थिकसँगै स्वास्थ्यको समेत समृद्धि हुनसक्ने देखिन्छ ।

Author

You may also like