सम्पादकीय

निर्यातमुखी बृक्षारोपण गरौं

देशमा हिजोआज बृक्षारोपणको बाढी चलेको छ । कुनै वार्षिकोत्सव होस् वा जन्मोत्सव वा अन्य कुनै अवसरको सदुपयोग भनेको बृक्षारोपणबाट गर्ने प्रचलन बढ्दै गएको छ । बृक्षारोपणका लागि आवश्यक नर्सरी हरेक लाखौं लाखौं बाँडिएका वा बिक्री भएका खबरहरु आइरहेका हुन्छन र ती विरुवा विभिन्न अवसर पारेर रोप्ने गरिन्छ तर रोपिएको बिरुवाको दिर्घकालिन लाभ वा हानीका विषयमा कसैले अनुमान गरेकै हुँदैन । जस्तो सुकै विरुवा पनि रोपिदिने र क्षणिक लोकप्रियता हासिल गर्न अहिलेको समाज अगाडि बढेको देखिन्छ । बिरुवाको नर्सरीमा कुन बिरुवाले कति वर्षमा के दिन्छ । कुन ठाउँको लागि बिरुवा खरिद गरिँदैछ त्यहाँको आवापानी र माटो कुन प्रकारको छ भन्ने बुझेर मात्र विरुवा बेच्नु पर्नेमा व्यापारको नाममा जथाभावी विरुवा दिएर जे पनि रोपिदिने गर्नु व्यवहारिक ठहरिँदैन । बृक्षारोपण सर्बपक्षिय सोचका साथ लगाईनु पर्दछ । एकातिर नेपाल बेराजगारीले समस्याग्रस्त मुलुक हो । बेरोजगारीकै कारण यहाँ दैनिक अपराधिक घटना घट्ने मात्र गरेका छैनन लाखौं नेपालीले आफ्नो यौवनकाल विदेशीलाई सुम्पिएका छन् । अर्कोतिर आत्मनिर्भरको माध्यम खोजिनु पर्दछ । आत्मनिर्भर भईयो भने सबै समस्याको समाधान एकै ठाउँमा पाउन पनि सकिन्छ । व्यक्तिगत समृद्धिसँगै राज्य समृद्ध बन्ने हो । राज्यको समृद्धि यिनै गाउँघर, भिर पाखामा गरिएका गतिविधिले निर्धारण गर्ने हो । सुन्दा सामान्य छ । विरुवा रोपे भन्ने । तर त्यसले पनि समृद्ध बनाउन सक्छ भन्ने हेक्का पनि हुन जरुरी छ ।
पाँचथरको फिदिम नगरपालिकाले बृक्षारोपणको एदाहरणीय कामको समाचार बाहिरियो । सो नगरपालिकाकामा एक वर्षमा एक लाख ३७ हजार दुई सय ४२ वटा फलफुलका बिरुवा रोपिएको छ । सो नगरपालिकाले नगर क्षेत्रका १४ वडामा विभिन्न वडामा सुन्तला, एभोकाडो, कागती, लिची, चिया, अलैँची, किवी, चिया र कफीका बिरुवा रोपिएको नगर प्रमुख मित्रप्रसाद काप्mलेले बताएका छन् । त्यहाँ फलफुल खेतिलाई लक्षित गरेर नै जनतालाई आत्मनिर्भरतातिर उन्मुख गराउन एक लाख २५ हजार क्षमताको नर्सरी स्थापना गरिएको छ । यसैगरी धरान नगरपालिकाका मेयर हर्क साम्पाङले भिडियामार्फत तै अबको केही वर्षमा झोला लिएर आम खाने कि, कटहर खाने कि, लिची खाने कि, तरकारी लाने कि आउनु अनि लिएर जानुस् भन्दै हिंडिरहेका छन् । धरानमा पनि ठूलो क्षेत्रमा फलफूललाई प्राथमिकता दिएर बृक्षारोपण गरिएको छ । जंगलभित्र पनि बाँदर आतंक कम गर्न फलफुलका बिरुवा साम्पाङ्को अगुवाई रोपिएको छ ।
फलफूलमा विश्व मै उत्पादन भईरहेका प्रमुख फलफूलहरु सबैजसो नेपालमा खेती गर्न सकिन्छ । भौगोलिक उंचाईलाई हेर्दा नेपालको दक्षिणी भाग तराईमा समथर भूभाग क्षेत्रदेखि प्रायः उत्तरी भूभागतर्फ क्रमशः उँचाई बढ्दै गएको पाईन्छ, सवैभन्दा कम पूर्वी तराईको झापाको केचना कबलको उँचाई करीव ५८ मीटर समुन्द्री सतहवाट माथि देखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८ मीटर) सम्मको उंचाई पाईन्छ । तराई तथा भित्री मधेशमा उष्ण प्रदेशीय फलफूल खेती गर्न सकिन्छ भने मध्य–पहाडमा उपोष्ण तथा सम–शितोष्ण फलफूल र उतर तर्फ उच्च पहाडमा शितोष्ण फलफूल खेती गर्न सकिन्छ । तराई तथा भित्री मधेशमा उष्ण प्रदेशिय अर्थात वर्षे फलफूल, मध्य पहाडमा सुन्तलाजात फलफूल तथा समशितोष्ण फलफूल, उच्च पहाडमा शितोष्ण फलफूल खेतीका व्यवसायिक खेती गर्न सकिन्छ । जसमा स्वस्थ जीवनलाई चाहिने खनिज तत्व, भिटामिन, एन्टि अक्सिडेण्टहरु पाईन्छ । मानिसलाई दैनिक आवश्यक पर्ने पोषक तत्व पनि फलबाटै प्राप्त हुने र विभिन्न रोगको शिकार बन्नबाट बच्ने आधार मात्र दिँदैन रोगसँग लड्न सक्ने क्षमता समेत प्रदान गर्दछ । नेपाल विश्वमै वातावरणमा सुन्दर देश मानिन्छ । यहाँ समतल भुभागदेखि उच्च हिमशृंखलासमेत भएको हुनाले यहाँ सबै जातको सबै फलफुल लगाउन मिल्ने वातावरण रहेको छ । तर विडम्बना नै भन्नुपर्छ– नेपालका डाँडा, पाखा, समथर भुभाग बाँझो राखेर लाखौं टन फलफल बाहिरबाट आयात गरिन्छ । नेपालमा हरेक वर्ष १० लाख मेट्रिकटन फलफुल उत्पादन हुने र मागलाई धान्न नसकेको कारणले बाहिरबाट आयात गरिएको सरकारी सम्बन्धित पक्षको दावी छ । सोही दावीले हरेक वर्ष अरबौं रकम फलफुलको नाममा बाहिरिने गरेको छ । अब सरकारले विरुवा रोप्दा फलफुलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन फलफल पु¥याएर नेपाल नेपालीको समृद्धिको खाका कोरोस् ।

Author

You may also like