चाडबाड नजिकिँदै जाँदा चोरी, डकैति, लुटपाट जस्ता घटना बढ्दै गएका छन् । यस्ता घटना बढ्दै जाँदा समाजमा असुरक्षित महसुश हुन्छ । सुरक्षित भएर बाँच्न पा उनु व्यक्तिको पहिलो अधिकार हो । अझ भनौं समाजमा सुरक्षित भएर बाँच्न पाउनु हरेक व्यक्तिको मानवअधिकार पनि हो । राज्य अर्थात् सरकारले मानवअधिकारको संरक्षण गर्नु पर्दछ । यही कारण राज्यसँग सेना र प्रहरी हुन्छन् । सरकारले संचालन गर्ने सेना र प्रहरी राख्नुको मुख्य उदेश्य भनेकै समाज र देशमा शान्ति सुरक्षा कायम गर्नु हो । समाजमा हुने कुनै पनि प्रकारका अपराधलाई नियन्त्रण गर्नु राज्यको दायित्व पनि हो । तर कतिपय अवस्थामा सरकारी निकायले प्रभावकारी काम नगर्दा समाजमा अपराधहरु बढ्दछन् । मानिसहरु असुरक्षित हुन्छन् । सुरक्षा संयन्त्रले काम नगर्दा समाजमा व्यक्ति हत्याका घटनाहरु पनि बृद्धि हुन्छन् ।
पछिल्लो समय चाडपर्वको समयमा चोरी, तस्करी, जघन्य अपराध जस्ता घटना बढ्दै गएका छन् । नागरिकले राज्य अर्थात सुरक्षा संयन्त्रबाट सुरक्षाको अपेक्षा गर्दछन् । तर पनि समाजमा अपराध हुने गरेका छन् । त्यसमा पनि मानिसको बाँच्न पाउने अधिकार नै खोसेर चोरी चकारी र हत्यासम्म गर्नेक्रम बढ्नु एउटा लोकतान्त्रिक देशका लागि लज्जाको विषय हो । समाजमा बढ्दै गएको सामाजिक संजालको दुरुपयोग, अवैध यौन सम्बन्ध, सम्पत्तिको लोभ र जातीय विभेदका कारण व्यक्ति हत्याका घटनाहरु बढ्दै गएको देखिन्छ । यसले हाम्रो समाजलाई कता लैजादै छ ? समाजमा आज मानिस मानिससँग नै डराउनुपर्ने अवस्था आएको छ । यसले मानव समाज एक्लो बन्दै गएको जस्तो देखिन्छ । सवैभन्दा चेतनशील प्राणि भनिने मानिस नै आज अपराधिक मानसिकताबाट असुरक्षित हुनु दुखद हो । आफ्नाहरुबाट ज्यान जोगाउनुपर्ने र असुरक्षित महशुस गर्नुपर्ने यो अवस्थाबाट हरेक व्यक्तिले मुक्ति पाउनै पर्दछ । राज्य अर्थात सरकार नागरिकको अभिभावक हो । उसँग वैधानिक हतियार र सुरक्षाकर्मी पनि हुने भएकाले पनि समाजमा अपराधहरु नियन्त्रण गर्नुपर्ने दायित्व छ । त्यसमा पनि अपाराध नियन्त्रणका लागि सुरक्षाकर्मीहरु नागरिकको बिचमै हुनु पर्दछ ।
हरेक व्यक्तिले परिवार, समाज र देशभित्र सुरक्षित भएको अनुभूति गर्ने अवस्था राज्यले नै निर्माण गर्नु पर्दछ । कुनै पनि वहाना र कारणबाट नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने र हत्या हुनुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकार गम्भिर हुनु जरुरी छ । अपराधमा संलग्नहरुलाई राजनीतिक संरक्षण दिदा पनि समाजमा अपराधले प्रश्रय पाएको देखिन्छ । यी खालका घटनाहरु चाडबाड नजिकिँदै जाँदा अझै बढ्दै जान्छन् । अपराधमा संलग्नहरुलाई कानुन अनुसार दण्ड दिने, सुरक्षाकर्मीको परिचालन प्रभावकारी बनाउने, समाजलाई नै थप चेतनशील बनाउने र समुदाय नै अग्रसर भएर अपराध नियन्त्रणमा उभिने हो भने हरेक व्यक्तिले शान्ति सुरक्षाको अनुभूति गर्न सक्ने अवस्था आउन सक्छ । यसका लागि राज्यले नै शान्ति सुरक्षाको ग्यारेन्टी दिनु पर्दछ । समाजका हरेक संघ संस्था र अगुवाई गर्ने ब्याक्तिहरुले समाजमा हुने गरेका आफ्नो क्षेत्र र छर छिमेकमा सचेतना जगाउनका साथै हुने गरेका गलत कार्यहरुलाई निराकरण गर्न आफ्नो ठाउँबाट सचेतनाका कार्यक्रमहरु ल्याउन सक्नुपर्छ । समाजको शान्ति सुरक्षा आम नागरिकको सरोकारको विषय भएकाले सबैले समयमा नै सोच्नु पर्दछ । मुलुकको शान्ति सुरक्षाको दायित्व समाजमा रहेका हरेक नागरिकको पनि हो । नागरिक आफैपनि सचेत हुन जरुरी छ ।

Author

You may also like