पछिल्लो समय भ्रष्टाचार नभएको क्षेत्र भेट्न मुस्किल पर्न थालेको छ । मन्दिर पाटीपौवा, धर्मशालाहरू, राट्रिय गौरवका आयोजना, विकास निर्माणका कार्य, ट्रष्टका जमिन जतासुकै सेटिङ, मिलेमतो वा सौदावाजीमा गरिने भ्रष्टाचार व्याप्त छ । यसरी नीतिगत, संगठित र केन्द्रीकृत हुँदै आएको भ्रष्टाचार हाम्रा लागि चुनौतीपूर्ण समस्या हो । भ्रष्ट व्यक्तिलाई रोक्ने नीति, नियम, कानुन मात्रै पर्याप्त हुँदैनन्, समाजको नैतिक बन्धन र दबाब पनि उत्तिकै आवश्यक हुन्छ । भ्रष्टाचार नियन्त्रणकै लागि हरेक मन्त्रालय, विभाग र विभिन्न निकायमा ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्नँ’ भन्ने लेखेर राखेको छ तर पनि यसमा आशा गरेजस्तो सुधार हुन सकेको छैन ।
भ्रष्ट मनसाय राखेर नैतिक पतन हुने गरी नाजायज मुनाफा आर्जन गर्नका लागि गरिने पक्षपातपूर्ण निर्णय र निकृष्ट कर्म हो भ्रष्टाचार । अरूको देखासिकीको नक्कल र चाँडै धनी बन्न खोज्ने मनसायले व्यक्तिलाई भ्रष्टाचारतिर डोहो¥याउँछ । मन्त्रालयमा मन्त्री फेरिनासाथ सचिव, विभागीय निर्देशक र हाकिमहरू फरिने र सेटिङ मिलाउने परिपाटी बन्द गरी नीति, नियत र नियमलाई सफा बनाउँदै हरेक निकायका कर्मचारीहरूलाई निश्चित पद्धतिभित्र राखेर पदीय जिम्मेवारीबाट हलचल हुन नदिने हो भने भ्रष्टाचार शून्यमा झार्न सकिन्छ । अर्कोकुरा मन्त्री वा नेताको चाकरीमा रमाएर नीतिगत भ्रष्टाचारको साक्षी बस्नु हुँदैन । विषयगत दक्षता र कार्यगत मूल्यांकनका आधारमा छानिएका कर्मचारीहरू सरकारका स्थायी प्रतिनिधि हुन् । यी प्रतिनिधिहरू एउटा स्थायी पद्धतिमा चल्नुपर्छ । प्रलोभन, डर, धाक र धम्कीमा विचलित हुनु हुन्न । विभिन्न निकायमा सेटिङ छ भने त्यो भत्काउनुपर्छ ।
विषयगत विज्ञता हासिल गरेर आफ्नो स्थान मजबुत बनाएका सबै कर्मचारीलाई त्रुटि वा कमजोरी कहाँ हुन्छ, त्यो सबै थाहा हुन्छ तर उनीहरू त्यो सत्य खोल्दैनन् । देशको संविधान तथा कानुनले भ्रष्टाचारलाई अपराधजन्य कसुर मानेको छ तर पनि भ्रष्टाचार उत्तिकै छ । भ्रष्टाचार कहाँबाट हुन्छ ? कसरी हुन्छ ? कति हुन्छ ? कसले गर्छ ? सबै स्रोत थाहा भएर पनि रोक्न सकिँदैन किन ? कुरा धेरै नै विचारणीय छ । जिम्मेवारी र कर्तव्यका हिसाबले प्रशासनिक संयन्त्रको मेरुदण्ड बनेका कर्मचारी वर्गमा देखिएका कमीकमजोरी हटाउँदै नैतिक आदर्श उच्च बनाउनु पर्छ । सरकारी लगानीको फाइदा सेवाग्राहीसम्म पु¥याउन कसै न कसैले कठोर कदम उठाउनै पर्छ । प्रजातान्त्रिक सरकार, शिक्षित जनता, क्षमतावान अर्थशास्त्री भएर पनि देशको शासकको नियत र नीति असल नभएपछि जनता र राष्ट्रले ठूलो क्षति बेहोर्नु परिरहेको छ । समयमै सोचौँ ।