देश–समाज राजनीति राष्ट्रिय समाचार स्थानीय

रास्वपालाई संसदबाट निस्कासन गर्न माग, समिति नबनेसम्म विरोध जारी

दमक/ संघीय संसदभित्रको गरमागरम झन बढेको छ । सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै रफ्तार दौडिएका छन् । भिजिटभिसा प्रकरणमा झन् झन कडा रुपमा रास्वपा प्रस्तुत हुँदै गर्दा बजेटमाथिको छलफल र बजेट पारित अन्योलमा परेको छ । यद्यपि सत्तापक्षले रास्वपा र राप्रपाको विरोधलाई पेलेरै जाने नीति बनाएर संसदीय गतिविधि अगाडि बढाईरहेको छ । जेठ ३० गते अगाडि भएका विरोधमा नेकपा माओवादी केन्द्रसमेतको आवाज थियो तर उक्त दिन एकाएक माओवादी केन्द्रले दुई बुँदे सहमतिका आधारमा विरोध गर्न छोडेपछि रास्वपाले बेल घेराउको आधारमा विरोध गरिरहेको भए पनि मंगलबार भने फरक तरिकाले विरोधमा उत्रियो । सबैले निलो रिवन लगाएर संसदमा प्रस्तुत भएपछि सत्ता पक्षको पारो तातेछ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सो निलो रिबनको विषयमा नियमापत्ति जनाउने क्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे रोष्ट्रमबाट बोल्दै अमर्यादित पोसाक लगाएर आएको र अमर्यादित गतिविधि गरेको भन्दै बैठकबाट निष्कासन गर्नुपर्ने माग गरेका हुन् ।
हुन पनि मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गराउनेछौ’, कार्यवाहक प्रवक्ता मनिष झाको भनाइ छ । यसअघि उनीहरूले संसदमा नाराबाजी र सभामुखको आसनअघि पलेँटी कसेर विरोध गरेका थिए । सत्ता पक्षका सांसदहरुले रोष्ट्रममा गएर रास्वपाका सांसदलाई संसदबाटै हटाउन माग समेत भयो । मंगलबारको संसद खुलाउन सभामुख निकै प्रयत्न पनि गरे । बैठक सुरु भएपछि विरोध भईरहँदा २ घण्टा बैठक स्थगित भयो तर त्यतिले पनि नभएपछि बिहीबार ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेको सूचना टाँस्न लगाए । सत्तापक्ष कहिलेसम्म राप्रपा र रास्वपालाई पलेर जाने ? अनि, राप्रपा र रास्वपा पनि कहिलेसम्म बेल घेराउ र संसद अवरोध गरिराख्ने ? भन्ने चासोको विषय बनेको छ । उनीहरूको मिलनविन्दुमा अहिले चासोको विषय बनेको छ । एमाले उनीहरूसँग संवाद गर्न इच्छुक देखिएको छैन । कांग्रेस भने यसअघि नै संवादमा जुटेका कारण फेरि उनीहरुसँग छलफल गरिरहेको छ ।
अब संसदमा देखिएको अफठ्यारो फुकाउन रास्वपा ब्याक हुन्छ कि कांग्रेस भन्ने चासोको विषय बनेको हो । रास्वपा सासद सुमना श्रेष्ठको भनाइमा पार्टी संसदीय छानबिन समितिको बटमलाइनबाट ओर्लिने अवस्थामा छैन । उनले भनिन– अझ आक्रमक ढंगबाट विरोधमा उत्रिन्छौं । मिडियामा कुरा गर्दै श्रेष्ठले भनिन्, ‘भिजिट भिसाको नाममा लामो समयदेखि लाखौँ नागरिक पीडित भएका छन्, त्यसलाई सच्याउनका लागि पनि त कम्तिमा संसदीय छानबिन समिति हुनुपर्छ । त्यो हाम्रो बटमलाइन हो । सत्ता पक्षले पेलेरै जान्छ भने त हाम्रो के लाग्छ र संख्या कम छ, पेलिनुपर्छ तर मुद्दा छोड्दैनौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले ल्याउन लागेका विधेयकहरूको महत्व आफूहरूले बुझ्ने बताएका हुन् । उनले विधेयकहरूमा राजनीतिक समर्थन गर्न तयार रहेको बताउँदै सरकारले पनि आफूहरूका मागलाई सुन्नुपर्ने बताए । उनले उक्त प्रकरणमा जोडिएकाहरूको छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति बनाउनुपर्ने अडान रहेको जिकिर गरे । संसद् अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख पाँच दलसँग छलफल गरेका छन् । छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखले संसद्मा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग अलग छलफल गरेका थिए । यसैबीच विभिन्न दलका सांसदहरूले सदनमा रास्वपा सांसदहरू निलो स्कार्फमा संसद् प्रवेश गरेकोबारे सभामुखको ध्यानाकर्षण गराएका छन् । उनीहरूले संसद्मा क्रमशः अमर्यादित गतिविधि भएको भन्दै नियन्त्रणका लागि आग्रह गरे ।
सभामुखले यसबारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु स्वयं सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको बताउँदै आफू स्वनियमनको पक्षमा रहेको बताएको पनि उनको सचिवालयले जनाएको छ ।

Author

You may also like