—: यज्ञप्रसाद भट्टराई :—
नेपालमा राजनीति गर्न त्यहि अप्ठ्यारो छैन जति अन्य कुराहरु गर्न अप्ठ्यारो छ । ब्यापार ब्यवसाय गर्न रकम मात्र भएर पुग्दैन यसका लागि ब्यवसाय प्रतिको ज्ञान र उचित बजारको खोजि गर्नु पर्छ । रोजगारिका लागि त झनै समस्यै समस्याहरु छन् । पढेर मात्र रोजगारी प्राप्त गर्ने अवसर प्राप्त होला भन्ने कल्पना अब आम नेपालीहरुमा मरिसकेको छ । रोजगारीका लागि त झन नेताको हात मात्र भएर पुग्दैन नेताको आशिर्बाद नै चाहिन्छ ।
कृषि क्षेत्रमा लागौ भने उत्पादन लागत समेत उठाउन नसक्ने अवस्था सृजना भएसकेको छ । सामान्य किसानले बढदो कृषि सामाग्रीको मुल्य र उत्पादन लागतको अत्यधिक बृद्धिका कारण आम नेपाली किसानहरु समेत कृषि पेशाबाट हात धुनु पर्ने अवस्था आई सकेको छ । उद्योगधन्धा र कलकाराखाना खोलौं झण्झटिलो सरकारी प्रकृया र लगानी भन्दा बढी चन्दा आतंकको ब्यवस्थापन गर्न सक्ने अवस्था नै छैन ।
देश बिकासका काममा ईमान्दार ब्यक्तिले हात हाल्न सक्ने अवस्थाको अन्त्य सँगै अब बिना कमिशन कुनै पनि काम बन्न सक्ने अवस्थाको कल्पना गर्छ भने त्यो महान भुल हुनेछ । ढिलासुस्ती कर्मचारीतन्त्रको दिनचर्या नै बनेको छ । भ्रष्टाचार गर्न नसक्ने ब्यक्तिलाई अब कसैले पनि मन पराउन छोडिसकेका छन् । कालोबजारी नगरी ब्यपापारीको ब्यापार ब्यवसाय नै चल्न सक्ने अवस्थामा छैन । शैक्षिक संस्था देखि स्वास्थ्य केन्द्रहरुमा समेत नियम संगत ढंगले चल्न सक्ने अवस्थामा छैनन । अन्य क्षेत्रको बारेमा आम नागरिकहरुले ब्यहोर्नु सास्ती बेहोरीरहेकै छन् । देशको सम्पूर्ण क्षेत्र प्यारालाईसिस भैसक्दा पनि नेपालमा राजनीतिको ब्यापार भने असाध्यै राम्रोसँग फष्टाई रहेको देखिन्छ । राजनीति गर्न नेपालमा कुनै शैक्षिक प्रमाणपत्रको आवश्यकता पनि पर्दैन । उद्योग, ब्यापार गर्न जस्तो शुरुमै लगानी गरिहाल्नु पनि पर्दैन । कुनै ईन्सिच्यूट र परामर्शदाता कहा तालिम लिन जानु पनि पर्दैन । त्यसैले अहिले नेपालको राजनीति धनबाद र डनबादले नै मज्जाले सञ्चालन गर्न सकिन्छ भनेर धेरैको आँखा राजनीति तर्फ मोडिएको देखिन्छ ।
बिगतमा बिचारको राजनीति बोकेर स्थापना भएका राजनीतिक दलहरुलाई बिचार बिहिन भिडको जत्थाले डोर्याउन थालेपछि नेपालको राजनीति पनि नराम्रोसँग धुमिल बन्दै गैरहेको देखिन्छ, बदनाम हुँदै गैरहेको देखिन्छ, दुर्गन्धित बनिरहेको देखिन्छ । राजनीति बिचारले सञ्चालित हुनुपर्ने हो । तर बिचारलाई धन र डनले प्रभावित बनाउन थाले पछिको नेपालको भोलिको भविष्य कस्तो होला ? आम नेपाली जनताहरुमा चिन्ता र चासो हुनु स्वभाविक हो ।
अहिले नेपालमा राजनीति गर्न कुनै पोलिटिकल सर्टिफिकेटको आवश्यकता पर्दैन नेताको दृष्टि सहित आर्शिबाद भए पुग्छ । नेतालाई रिझाउन सक्यो भने भकारा सोहोर्न नजान्ने ब्यक्ति पनि राजनीतिक नेतृत्वको उपल्लो तहमा नियुक्त हुन सक््छ । म्याट्रिक पास नभएको मान्छे नेताको सल्लाहकार बन्न सक्छ अझ भनौ अर्थ र शिक्षा मन्त्री नै हुन सक्छ ।
पार्टीलाई आर्थिक सहयोग गर्ने क्षमता राख्ने ब्यक्ति अर्थबिद्को दर्जामा उक्लन सक्छ । नेताको हात र खल्तिका कार्यकर्ताहरुलाई जहिले पनि निर्वाचन लड्न टिकट प्राप्त हुन्छ । ठूलाठूला ठेक्कापट्टा हात लाग्छ । शिक्षा र स्वास्थ्यमा देखिएका माफियाहरुको बिगबिगी पनि यहि खल्तिका कार्यकर्ताहरुको परिणाम हो । अहिले राजनीतिक दलमा आएका अधिकतम केन्द्रीय नेतृत्वहरु कित मेडिकल माफियाहरु छन् कित शैक्षिक माफियाहरु छन् जसको मुख्य उद्धेष्य भनेकै राजनीतिलाई उपयोग गरेर समाजमा लुटको ब्यापार चलाउनु हो । यसले राजनीतिक दलहरु र सिंगो ब्यवस्था नै बदनाम बनिसकेको छ ।
त्यसैले अब राजनीतिलाई उजिल्याउन नीति र सिद्धान्तका आधारमा राज्य ब्यवस्था चल्न सक्ने अवस्था सृजना गर्न जरुरी छ । राजनीतिलाई ब्यापारको रुपमा हैन नितान्त देश र समाजको सेवा गर्ने अभियानका रुपमा अगाडि बढाउनु पर्छ । राज्यकोषको तनखा खाएर राज्य ब्यवस्था बिरुद्ध बिष बमन गर्ने अवस्थाको समेत अन्त्य गर्न जरुरी छ । सरकारी कर्मचारीले मातहतको काममा जनतालाई कसरी सन्तुष्ट गर्ने ? भन्ने बिषयमा मात्रै लाग्न र लाग्न सक्ने वातावरण बनाउन जरुरी छ । बिकास निर्माणका काममा नागरिकहरुलाई अनिवार्य रुपमा सहभागि गराउन जरुरी छ । शिक्षा र स्वास्थ्यमा हुने गरेको ब्यापार तत्काल बन्द गर्न सरकारले कठोर कदम चाल्न जरुरी छ ।
आम नागरिकलाई कसरी रोजगारी उपलब्ध गराउन सकिन्छ भनेर सरकार सञ्चालन गर्ने नेताहरुको ध्यान जान जरुरी छ । यसका लागि दैनिक रुपमा मिटिङ्ग, बैठक र सेमिनार सञ्चालन गरेर सरकारले एक महिनामा, तिन महिनामा, छ महिनामा र एक बर्षमा यति नागरिकलाई रोजगारी गराउने स्पष्ट खाका कोर्न सके र सोहि अनुरुप कार्यान्वयन गर्न सके अबको २ बर्षमा देशका आधा श्रमजिवी नागरिकलाई रोजगार उपलब्ध गराउन सकिन्छ भन्ने दृढ बिश्वास लिन सकिन्छ । नत्र माथि उल्लेख भए झै धनबाद र डनबादको आडमा नेताका जो जो हात पर्छन् अनि जो जो खल्तिका कार्यकर्ता छन् तिनैको हालिमुहालीमा देश रुमल्लिरहने छ ।