१ असार, दमक । झापाको दमक ६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीमा प्रविधि सम्बन्धि दुई दिने ग्लोबल एड्भेन्चर कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम बिहीबार र शुक्रबार भएको एड्भेन्चरमा झापा, मोरङ र इलामका गरी करिब १ हजार ६ सय विद्यार्थीले सहभागिता जनाएको विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले जानकारी गराएका छन् । एड्भेन्चरमा सामुदायिक र संस्थागत विद्यालयबाट एसईई परीक्षा दिएका तथा विभिन्न इन्ष्टिच्यूटमा कम्प्युटर लगायतको तालिम लिइरहेका विद्यार्थीहरुले भाग लिएका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले साइबर सेक्युरिटी, स्मार्ट क्लास, ह्याकिङ, आर्टिफिसियल इन्टेलिजेन्स तथा आइटी लगायतका विषयमा प्राविधिकहरुबाट जानकारी पाएका थिए । एड्भेन्चर आइएनजी स्कील एकेडेमी र माई सेकेण्ड टिचरले संयुक्त रुपमा आयोजना गरेको हो भने ग्लोबल एजुकेशनल एकेडेमीले आर्थिक भार वहन गरेको बताइएको छ ।
एड्भेन्चर ज्ञानवद्र्धक, मनोरञ्जनात्मक साथै नवितम सूचना प्रविधिका बारेमा जानकारीसहित रोमाञ्चक समेत भएको विद्यालयका शिक्षक नरेश पोखरलले बताए । सहभागी विद्यार्थीहरुले भने अनौठा, नितान्त नविन, प्राविधिक र सूचना प्रविधिका विषयका बारेमा प्रायोगिक अभ्यास सहितको ज्ञान पाएको भन्दै खुशी व्यक्त गरेका छन् । कम्युटर विज्ञानका बारेमा समेत सिर्जनशील र जीवनोपयोगी सीप र ज्ञान सिक्न पाएको उनीहरुको प्रतिक्रिया छ ।
टीभी, स्क्रिन र डिजिटल बोर्डका माध्यमबाट विभिन्न गेमहरु समेत देखाइएको थियो । त्यस अवसरमा ग्लोबलका विद्यार्थीहरुले तयार गरेका एपहरु पनि प्रदर्शनमा राखिएको थियो । एड्भेन्चरमा एआइको प्रयोग, साइबार अपराध, भिडियो गेमका बारेमा समेत जानकारी दिइएको आइएनजी स्कील एकेडेमीकी स्कील एक्जीक्युटिभ अंशु रेग्मीले बताइन् ।