==== मुलुकको अस्मिता र सभ्यतालाई समृद्ध बनाउन त्याग, धैर्य र समर्पण हुनुपथ्र्यो तर अधैर्य स्वाँठहरुको झुण्ड निर्माण हुनपुग्यो । इमान्दार राजनीतिक सेवकहरुको अभाव हाम्रो मुलुकमा खट्किरहेको छ । अनुशासन सबै क्षेत्रको सफलताको जग हो । चारित्रिक रुपमा उच्च इमान भएका व्यक्तिहरुले समाजलाई सही मार्गमा हिँडाउन सक्दछन् । सत्यनिष्ठा र पवित्रप्रेम मुलुकले खोजेको छ । यस्तो चरित्र हुनेहरुको नेतृत्वबाट मुलुकको सुरक्षा, समृद्धि, मानमर्दन, सामरिक क्षमताको वृद्धि हुनेछ । =======
नरपति पाण्डे
राष्ट्रिय समस्याहरु राजनीतिक ढंगका मनोवेगबाट सिर्जना भएका छन् । विरोधको व्यापार गर्नेहरुलाई राजनीति व्यापारिक केन्द्र भएको छ । ति अपराधीहरुको चैतन्यमा नाफा नोक्सानको हिसाब छ । र, उनीहरु विरोधको सञ्जालबाट अस्थीर समय बनाइरहन तालिम प्राप्त भइसकेका छन् । कानून छ तर ताकत छैन । विधि छ तर टेर्ने वातावरण छैन । नेतृत्व छ तर उस्तैउस्तै आदतीको छ । आफैँ बनाउँछन् र आफैँ भत्काउँछन् । दिग्गज देखिन्छन् तर चेतनहीन केटाकेटी जस्ता छन् । सज्जन देखिन्छन् तर धुर्त र छुल्याहा छन् । राजनीतिज्ञ जस्ता छन् तर दिमागमा मूर्खताको मलखाडी बोकेका छन् । नेपालको कुरा गर्छन् तर शक्तिशाली राष्ट्रका भरिया देखिन्छन् । तिनको आत्मामा स्वार्थको रास छ । आत्माले डाह गर्न निर्देशित गरिदिन्छ । कतिको त जन्म नै रछ्यानबाट हुन गयो । गन्धको धङ्धङीले स्वच्छता भेटाउन दिँदैन । भन्न सक्छन् तर गर्न सक्दैनन् । इमान्दार हुनुमा गुण्डा विरोधी हुने डरले पछाडि फर्कन्छन् र एकले अर्कालाई ललकारेर आत्मरतीमा विजय भएको ….न्यानोभूति प्राप्त गर्छन् । विरोधका आनीबानीहरुले मुलुकलाई हा“सोमा उडाइ दिन्छन् । शुरुदेखिनै दलीय चरित्र अत्यन्तै बेइमान र आत्मघाती हुनुपुग्यो । मुलुकको अस्मिता र सभ्यतालाई समृद्ध बनाउन त्याग, धैर्य र समर्पण हुनुपथ्र्यो तर अधैर्य स्वाँठहरुको झुण्ड निर्माण हुनपुग्यो । इमान्दार राजनीतिक सेवकहरुको अभाव हाम्रो मुलुकमा खट्किरहेको छ । अनुशासन सबै क्षेत्रको सफलताको जग हो । चारित्रिक रुपमा उच्च इमान भएका व्यक्तिहरुले समाजलाई सही मार्गमा हिँडाउन सक्दछन् । सत्यनिष्ठा र पवित्रप्रेम मुलुकले खोजेको छ । यस्तो चरित्र हुनेहरुको नेतृत्वबाट मुलुकको सुरक्षा, समृद्धि, मानमर्दन, सामरिक क्षमताको वृद्धि हुनेछ ।
को कस्तो, अनि को कसको भन्ने परिचय विभिन्न घटनाक्रममा आफैँ परिचित हुँदै आएका छन् । हुँदाहुँदा न्यायालयको आवरणमा जागिर खानेहरु समेतले सत्ता सरकारको भागबण्डाको आशक्तिमा ¥याल काढेको समाचार प्रभावशाली सञ्चार माध्यमहरुबाट प्रसारित हुन थाल्यो । नाकाबन्दीको प्रसव पीडाकालमा साहुमहाजन, व्यापारी, प्रतिपक्ष र सत्तापक्षको सत्यनिष्ठाको आवरण खुला खुलिएको थियो । त्यस समयकालमा धन्य नाकाबन्दी गर्ने महाजनहरु । पेट्रोल, डिजेलको कालो बजारीमा तेल बेच्ने व्यापारीहरुले राम्ररी परिचय दिएका थिए । जनताले एक आवधिक समयको लागि बडो मुश्किलले निर्वाचित गरेर बनेको सरकार तिनै निर्वाचित फटाहाहरुले भताभुङ पारे । भताभुङ बनाउने खेलमा को को रहेछन् भन्ने कुरा अहिले फटाफट देखिन थालेको छ । न्यायमूर्तिको आवरणमा, सुरक्षाको आवरणमा, राजनीतिको आवरणमा कुटनीतिको आवरणमा, गैरसरकारी संस्थाको आवरणमा, धर्मका आवरणमा, पत्रपत्रिको आवरण, साहित्यको आवरणको आवरणमा, विश्लेषको आवरणमा, अन्तर्राष्ट्रिय गैरसरकारीको आवरणमा, व्यापारको आवरणमा हर्कत गर्दै मुलुकको अस्तित्व समाप्त पार्ने सिलसिला छर्लङ्ग देखिएको छ ।
हरेक विषयमा कालोबजारी गर्नेहरु सत्तापक्ष र सत्ता विपक्षको न्यानो मायाबाट संरक्षित छन् । ति कुनै न कुनै राजनीतिक दलको सदस्यता लिएर सुरक्षित कालोबजारी सञ्चालन गर्दै मालिकहरुलाई रोजना बुझाउँछन् । पहिलाको नाकाबन्दीले तिनीहरुको बेइमानीको मात्रा छताछुल्ल गरिदिएको थियो भने अहिले न्यायको हवाला दिएर शासकीय मानलाई खुइल्याउन पुगे । शक्तिशाली मुलुकको हितमा काम गर्ने कसम खाएर लोकतन्त्रको आवरणमा पालिएका पाल्तु जनावरहरुले अझै पनि सेटिङ्मा यस्तै कर्म गर्दैजाने प्रायः निश्चित छ । छयालीस सालपछिको सत्ता राजनीतिमा जेजे नामबाट खोलिएका राजनीतिक दल भएपनि लगभग सबै कुनै न कुनै विदेशी शक्ति राष्ट्रहरुको भलाइका लागि चाकडी गर्दै सत्ता सेटिङको खेलमा अभ्यस्त रहेको यथार्थता राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेको छ । राज्यसत्ताका अङ्गहरुको नेतृत्वमा नियुक्ति गर्दा समेत विदेशी कुटनीतिक नियोगहरुले आफ्नो भाग खोज्नुले यो कुरालाई प्रमाणित गर्दछ ।
राजनीतिमा विकास भएको प्रपञ्चले छलिकहरुलाई फाइदा त गर्ला तर मुलुकको वर्तमान र भविष्य भने कहालिलाग्दो बनाइरहनेछ । छलकारी राजनीति गर्नेहरुले हठधर्मितालाई सधैँ अपनाउछन् । आफ्नो हठबाट तलमाथि हुन नचाहने मनोविकारले विदेशी शक्तिसामु क्रमशः झुकाउन थाल्दछ । र, आफ्नो मुलुकमा विदेशी पैसा र शक्ति प्रवेश गराउने वातावरण बनाउँछ । संसारका दङ्गाग्रस्त मुलुकहरुको अवस्था त्यही कारणले हुदै आएको छ । आफ्नो अभिष्ट पूरा गर्न छलकार गर्ने गराउने कर्म र काण्डले राष्ट्रियतालाई छिद्रित गर्दछ । यो हाम्रो मुलुकले भोग्दैछ । अर्काको अस्तित्व नस्वीकार्नु तानाशाही चरित्र हो । छलफल, तर्क र प्रतिस्पर्धालाई नस्वीकार्नु निरङ्कुशता हो । जालन्धरविद्याले चलाइएका सत्ता संयन्त्रबाट अग्रगामी परिवर्तनको कुरा मिथ्या हो ।
नायक प्रतिनायकहरुको श्रृङ्गारहीन राजनीतिले राष्ट्रिय अक्षुण्यता बिचलित हुँदै गएको छ । समयलाई कब्जा गरेर राष्ट्रको ढाड नसा बङ्ग्याइ दिने दुरुपयोगीहरु सिल्पहीन अराजनीतिकलाकार हुन् । स्थिरताको उपेक्षा र सामूहिकताको बहिष्कार गर्ने छिद्रदर्शी अभियन्ताहरुले स्थानीयतामा उठ्न लागेको उर्जालाई समाप्त गरीदिए र भनीदिए अग्रगामी परिवर्तन । यस्तो हरकतपूर्ण वारदात गर्ने चिन्तनलाई बौद्धिकताको उपमा दिइ शब्दजाल बुझ्न नसक्ने नागरिकहरुलाई अलमलमा पारे । मुलुकलाई उठ्नै नसक्ने गरी फ“साउने फटाहाहरुलाई राजनीतिज्ञ मान्नुपर्ने कुनै कर छैन । झट्ट के गर्दा आफ्नो हित र फाइदा हुन्छ त्यस्तो कर्म गर्नेहरु फटाहाहरुलाई भविष्यवेत्ता भन्ने ? आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्नेलाई देशको सेवक भन्ने ? यो वाहियात लाचारी प्रचार हो । मुलुकवासीलाई सहज हुने निष्ठापूर्वक काम गर्ने कर्मशीलहरु वास्तविक सेवक हुन् । सिद्धान्तलाई सिर्जनामा लगानी गर्ने योद्धाहरु मात्र देशभक्तहरु हुन् । सिद्धान्तको शास्त्रीय पुराणबाट प्राप्त हुने प्रतिफल क्षतविक्षत र विरुपता बाहेक अर्को हुँदैन ।
सिर्जनशीलताप्रति अकर्मण्यता र छिद्रदर्शी अराजकता एउटा चक्रवात मात्र हो । त्यो कुनै रुपान्तरणको आन्दोलन हँदैन । सतहमा बगेको मनगढन्ते परिवर्तन मात्र । नियन्त्रीत विचारको बिस्कुन फिजाएर समृद्धिको झन्झनाहट । बित्थाको रगरग । स्थानीयता च्यातेर संघीयताको फोस्रो खोजाइ । जात जात जुधाएर ‘राष्ट्र पहिचान’ को खोजी । शोषक लुकाएर शोषण समाप्तीको फतफत । श्रमवीरहरु धपाएर पराइसँग पोल्टो थाप्ने दरिद्र प्रजातन्त्र । कस्तो दुर्गन्धित राजनीति । आफैँले सिर्जना गरेको सिद्धान्त विरुद्ध सम्झौता गर्ने नामधारी दुरदर्शी यि त पाखण्ड र ढोंगी संवाहकहरु हुन् ।
भविष्यसम्म काम लाग्दै जाने संस्कारले मात्र राष्ट्र निर्माण गर्दछ । जुझारु, इमान्दार, राष्ट्रको पक्षमा दह्रो उभिन सक्ने, कुनै लोभलालचमा फस्न नसक्ने राजनीतिक चरित्रले मात्र अग्रगामी रुपान्तरण दिन सक्तछ । खुला तार्किक बहसले राष्ट्रियतालाई सुदृढ बनाउन ठूलो मद्दत गर्दछ । छिद्र खोजी वितण्डता गर्ने छिद्रदर्शीहरु मुलुकमारा साइ“दुवाहरु हुन् भने दूरदर्शीहरु मुलुक बनाउने मूर्धन्य भविष्य हुन् । राजनीतिलाई जीवन बनाउनेहरुले दूरदर्शी बन्न प्रयत्नशील हुनु पर्दछ । नागरिकहरुको रोजाई पनि यही हो । दलहरु जति खुलुन् त्यसमा भन्नु केही छैन तर जनताले चाहेको परिस्थिति भने बुझुन् भन्ने सबैको कामना हो ।
बोलीचालीमा इमान्दारीताको लालित्य भएर केही पनि हुन्न । व्यवहारमा सुन्दर प्रभावशाली छवि झल्किनु पर्दछ जसको अनुभूत देशले गर्न पावस् । विश्वव्यापीकरणको प्रभावसँग मुलुकले प्रतिस्पर्धा गर्न सक्ने आँट हिम्मत राजनीतिले दिन सकोस् । सामरिक शक्ति निर्माण गराउन सक्ने कुटनीतिक क्षमता लोकतान्त्रिक अभियानले गर्न सकोस् । तब पो नेपालीको सान र मान उच्च हुँदै जाने थियो ।
navinnp45@gmail.com