लेख

गीत, रातो घाम र फूलहरु

अस्ति शनिवार बिहान ‘द गार्जियन’ पत्रिकामा प्रकाशति एउटा कविताले मेरो मन तान्न पुग्यो । त्यसको शिर्षकले बोकेको बिम्ब देखें र पढन थालें । त्यो कविता बेलायतका हालका अर्थात् एक्काइसौं शदीका कवि, उपन्यासकार, कथाकार अर्नेष्ट क्रिष्टोफर डाउजनले लेखेको थियो । डाउजन अहिलेको समयसंग साक्षात्कार गर्ने बेलायती आधुनिक कवि हुन् । उनी सन् १९६७ मा लण्डनमा जन्मिएका थिए ।
उनको कविताको शिर्षकले नै मेरो समय र परिवेशका तमाम रंगहरु एकपछि अर्को उरालेर ल्याए । किनकि मेरो समय र परिवेशसंग त्यो कविता ठ्क्कै मिलिरहेको थियो । उनको कविता ‘अ सङ्ग अभ द सेटिङ्ग सन्’ (अस्ताउँदै गरेको सूर्यको गीत) थियो ।
उनको म आफैले उल्था गरेको कविता यस्तो छः
अस्ताउँदा सूर्यको गीत
अस्ताउँदो सूर्यको गीत
पश्चिमाकास रक्त छ,
दिन ढलेको मात्रै छ
टाढा र माथि
सबै चाँडै हट्ने छ
अनि चिसो भ्रमित चन्द्रोदय हुने छ
अनि यो हिउँदको गीत बन्ने छ !
उत्तरबाट चिल्ने हावा बग्न थाल्छ
ती जमिनहरुमा जहाँ अहिले कुनै बाली फष्टिँदैन
ती जमिनहरु ख्ुाइल्याइएका थिए
लटरम्म जौ र सुनका अन्नहरु झिकेर
ओइलिएको पूmलको गीत गाइरहेछन् मान्छे !
कोपिलामै निमोठिएको  फूल
सुन्दरीको कपालमा बिराज छ
निमेषभर ताजा र सुन्दर कोपिला
उनी गजक्क परेर ठडिइन्
अब अहिले
ओइिलएर त्यो फूल
तल भुँईमा झरेको छ । (‘अ सङ्ग अभ द सेटिङ्ग सन्’)
यो कविताको सारांश यस्तो छः पश्चिम दिशामा सूर्य अस्ताउँदै छन् रातो परिवेश बनाएर । चिसो समय छ । र, सूर्य पछिको उज्यालोको अपेक्षा गर्न सकिने चन्द्रमाको पर्खाइमा रहन सकिन्छ, तर त्यो पनि भ्रम मात्रै हो, किनकि त्यो सूर्यको विकल्प हुन सक्दैन । अर्कोतिर जमिन बाँझो छ, केही उम्रिँदैन, केही फल्दैन, हिजो सुनका बाला फल्ने जमिन आज केही फल्दैन । त्यहाँ फुलेको पूmल पनि ओइलिएका छ । त्यही ओइलिएको पूmल शिरमा सिउरिएर ती सुन्दरी मख्ख छिन् । तर त्यो निमेषमै काम नलाग्ने भएर भूँइमा खस्छ ।
क्रिष्टोफरको यो कविता एउटा अभिसप्त समयको कथा हो । यस कविताले अस्ताउँदो घामको गीत गाएको छ । त्यो अस्ताउँदो घाम भनेको के हो ?
हामीकहाँ यसका दुबै ब्याख्याहरु छन् । पहिलो, यो एउटा सुन्दर समय हो । अनुभूति गराउने एउटा सूत्र हो । जीवनको घाम डुब्नै लाग्दा मानिसले आपैmँलाई फर्किएर हेरुन् भन्ने हो । आपैmँलाई चिनुन् भन्ने हो । आज त दिन गयो, भोलिको दिनलाई म एउटा अर्थपूर्ण दिन बनाएर कटाउने छु भन्ने हो । अब जीवनको ऊर्जाशील समय गुज्रियो, बाँकी समयलाई राम्रो सदुपयोग गरौं भन्ने हो । त्यसैले सूर्य देवतालाई पूजा गर्दा अस्ताउँदो सूर्यलाई अर्ग दिएर सम्पन्न गरिन्छ । सायद, यसको गहिराई यही हुनुपर्छ ।
दोस्रो, अर्थात् अर्को पाटो भनेको अस्ताउँदो घाम भनेको ब्यतित एउटा ऊर्जा हो । जीवनको एउटा महत्वपूर्ण समय सकियो । अब केवल नोष्टाल्जिया मात्रै छन् । कमजोर बन्दै र सकिँदै गरेको, स्खलित बन्दै गरेको र अब यो दृष्यबाट लोप हुन लागेको अस्तित्व हो, जुन भोलि बिहान ऊ आएको मैले देख्न पनि सक्छु, नदेख्न पनि सक्छु । ‘अस्ताउँदो राता घामलाई हेर्नु हुँदैन’ भन्ने मेरी हजुरआमालाई पनि सम्झिरहेको छु ।
क्रिष्टोफरको कविताले यो मैले गरेको ब्याख्याको दोस्रो मान्यतालाई पक्रेको छ । त्यो भनेको निराशाको बाटो । मैले त यो कविताबाट आशा जगाउन खोजेको थिएँ, तर यो समयको तीतो सत्य बनेर आयो । सूर्य अस्ताएर आउने चन्द्रमा पनि ‘भ्रमित’ छ । पड्के हावा पनि ‘उत्तरबाट’ नै चलिदिन्छ । ‘खुइल्याइएका’ बाँझा जमिनहरुले बेलायती कवि टिएस इलियटको कविता ‘द वेष्ट ल्याण्ड’ अर्थात् बाँझो जग्गाको बिम्ब दिइरहेको छ । कृषियोग्य जमिनहरु सबै बालुवाका रेखी हालेर, बाँझो बनाएर रमाएको सभ्यतामा हामी बाँचिरहेका छौँ । त्यही केही पनि नउम्रिने यो बाँझो जग्गाको डिलमा उभिएर हामी कथित संमृद्धिको गीत गाइरहेका छौँ । यो हाम्रो समृद्धिको गीत पनि त्यही ‘बाँझो जग्गामा ओइलिएको पूmल’ को गीत बनेको छ । आज पनि हामी त्यही ओइलिएको पूmलको गीत गाएर रमाइरहेका छौं । अनि हाम्रो समृद्धिका पात्रहरुले त्यही पूmल शिरमा सिउरिएर तीन वर्ष मिठो गीत गाए । तिनले थाहै पाएनन्, त्यो पूmल ओइलिसकेको छ । तर मख्ख पर्न छोडेनन् । ओइलिएको पूmल सिउरिने उदात्त पात्रहरु कोही ‘प्रतिगमन भयो’ भन्दै आन्दोलन गर्न लागे । कोही त्यसको प्रतिरक्षामा लागे । तैपनि तिनको त्यो गीत ओइलिएको छैन । बाँझो जग्गा बनाउन हातेमालो गर्नेहरु पनि ओइलिएको पूmलको गीत गाइरहेका छन् ।
अनि त्यो ओइलिएको पूmलको गीत आज हाम्रो समयको गीत बनेको छ ।
यो कविता त्यतिबेला लेखिएको थियो जुनबेला बेलायतको नीति निकै आलोचित भएको थियो । खासगरी विदेश नीतिमा, युरोको संलग्नताको विषयमा । म आज यही कवितामा मेरो देशको रंग हेरिरहेको छु । अस्ताउँदो सूर्य हेरिरहेको छु । बाँझो जग्गा हेरिरहेको छु । ओइलिएको पूmल कानमा सिउरिएर मुस्कुराउँदै समृद्धिको गीत गाउनेहरुको मीठो लय सुनिरहेको छु ।
अस्ताएको सूर्यको त्रास हो कि आश ? म अहिले यही प्रश्नको उत्तर खोजिरहेको छु ।
कवि क्रिष्टोफले भने जस्तो यसले आश भन्दा त्रास दिइरहेको छ ।
यो जेठको तातो घाममा घरमा कुँजिएर बसेका आम नागरिकहरुलाई अस्ताउँदै गरेको शान्त र सौम्य सूर्य मन परेको हो ? बाँझो जग्गा मन परेको हो ? ओइलिएको पूmल मन परेको हो ? चन्द्रमा कस्तो आउँछ, त्यो पर्दा पछाडि छ । उज्यालो दिन पनि सक्छ, नदिन पनि । अनि त्यही ओइलिएको पूmल सिउरिएर मच्चिने सुन्दरीहरुको भीड छ अचेल । ती दलका नेता हुन् । सबैले देखिरहेका छन् तिनको भद्दा अभिनय । तिनको देखावटी सुन्दरता । तर तिनले चाल पाइरहेका छैनन् । त्यसैलाई राम्रो, सुपव, उत्कृष्ट भनेर देवत्वकरण भइरहेको छ । सरकारमा रहने सुन्दरीहरुको पनि, सरकार विरुद्ध मोर्चाबन्दी गरिरहेका सुन्दरीहरुको पनि ।
संयोग पनि, एमालेको चुनावचिन्ह सूर्य देखिरहेको छु पृष्ठभूमिमा । त्यो सूर्य अस्ताउँदो छ । त्यही अस्ताइरहेको सूर्यको आराधनामा छौं हामीहरु । माधव नेपाल समूहको बहिर्गमनले त्यो सूर्य अस्ताएको सूर्यमा रुपान्तर त भयो, तर त्यसको महत्व कुन तहमा रह्यो भन्ने कुरा क्लीष्ट छ । किनकि अहिले ती सुन्दरीहरु ओइलिएको पूmल कानमा सिउरिएर काठमाडौंका गल्लीहरुमा निस्किएका छन् । ती कोही कतै प्रतिरक्षामा छन् सिंहदरबारमा । कोही सत्तासिनहरुको विरुद्धमा मोर्चाबन्दी गर्दै बुढानिलकण्ठ र पेरिसडाँडामा दौडिरहेका छन् । यी दुबैले यो बाँझो जग्गाको रचना गरेर पूmल ओइलाइदिए । अनि त्यही पूmल कानमा सिउरिएर समृद्धिको, अग्रगमनको, राजनीतिक स्थिरताको, प्रतिगमनको, निरंकुशताको, दलालको जस्ता एक दर्जन शब्दहरु रटेर जीवनभर तिनै शब्द घोकेर र बोकेर तिनै शब्दको प्रयोग गरेर गीत गाइरहेका छन्, जुन गीतको कुनै लय पनि छैन । ताल पनि छैन । भाव पनि छैन । निष्ठा पनि छैन । किनकि हामीहरुलाई अस्ताउँदो सूर्य मन परिरहेको छ । किनकि जेठको यो तातो घाममा दिनभरी दिउँसो रमाउन पाए पो !

Author

You may also like