मानिसको जीवनमा रङ्ग भर्ने काम ईश्वर बाहेक अरु कसैले पनि गर्न सक्दैन ।व्यक्तिको आत्मा नै ईश्वर को प्रतिरूप हो । मानिसले आफ्नो जीवनलाई जस्तो बनाउन चाहन्छ, त्यसै दिशामा उसको मन बुद्धि र चेतनालाई परम चेतनाले मार्गदर्शन गर्दछ। आशा र निराशाले मानिसलाई जीवनमा अगाडि बढिरहन र संघर्ष गरी रहन उत्प्रेरित गर्दछ ।सर्वशक्तिमान परम चेतनाको परम उर्जा भित्र समाविष्ट हुने मानवीय सामथ्र्यले युधिष्ठिर कै जस्तो जीवित स्वर्ग भित्र प्रवेश गर्न सक्ने क्षमता राख्दछ । जीवनका सबै कार्यहरू परम उर्जा चेतना अर्थात् ईश्वर कै इच्छाले सम्पन्न हुन्छ । मायामा फसेका प्राणीहरूले जीवनको अमरताको राजमार्गलाई छुन सक्दैन । अन्तस्करणमा रहेको ऊर्जा नै त्यो अमृत तत्त्व हो, जसले मानिसलाई ईश्वरमा रूपान्तरण गर्ने कार्य गर्दछ र धर्मको स्थापनामा सघाउ पुर्याउदछ ।हामी धर्तीका अन्य प्राणीहरू झै पेटको लागि मात्र बाँच्ने प्राणी होइन हामी अत्यन्त नै शक्तिशाली ,तर अ साधारण प्राणी छौं । आत्मा र परमात्मा बीच रहेको सम्बन्ध को बारेमा हामी जिज्ञासु बन्न सक्दछौं। तर हामी आफैसित पनि अपरिचित छौं, र केही पनि ज्ञान गुणका कुराहरु हामीलाई थाहा छैन भन्ने कुराहरु हामीलाई अनुभूति भई रहन्छ ।
संसारको कुनै पनि मानव निर्मित ज्ञान हरु र विज्ञानहरू अहिले सम्म पनि पूर्णता प्राप्त गर्न सकेको छैन ,तर मानिसले ज्ञान गुण सिक्ने कुरामा जिज्ञासा र चासो धेरै मात्रामा बढ्दै गई रहेको छ। अन्तरमुखी मानिसले आध्यात्मिक सुखको लागि उत्सुक रहेका देखिन्छन् भने बहिरमुखी व्यक्तित्व भएका मानिसहरुले आफ्नो अन्तरात्मालाई नै नचिने झैँ गरेर भौतिकता वाद तिर परिलक्षित हुँदै गएका पनि देखिन्छन् ।मानिस संसारमा जन्मिदाखेरि रुदै रुदै संसारमा पदार्पण गर्दछ तर शिशु जन्मिदाको खुसियालीमा संसार नै हासी रहन्छ ।मानिसले आफ्नो जीवनमा यस्तो तरिकाबाट जीवनका व्यवहारहरुलाई समेट्नु पर्दछ कि मानिसको मृत्यु हुँदा मृतक हाँस्दै हाँस्दै मर्नु परोस र संसारले मानिस मानिसको मृत्युमा रुँदै रुँदै अन्तिम विदाई गर्नु परोस्। यो नै आध्यात्म हो। यस्तो तरिकाबाट जीवन बाँच्ने कला लाई नै जीवनको व्यावहारिक धर्म भनिन्छ। हामीले आफ्नो मूल्यांकन आफै पनि गर्न सक्दछौं । कुनै पनि प्राणी प्रति हिंसाको भावना राख्दछौ भने केही समय पछि त्यस्तो हिंसा आफै प्रति पनि लक्षित हुन सक्दछ ।हामी अरु प्राणी प्रति खराब र बदमासी व्यवहार गर्दछौं भने त्यस्तो घटनाको सिकार हामी पनि हुन सक्दछौं । त्यसैले संसारमा जीवन र मृत्यु चक्रको विधान निर्माण गरिएको छ ।
हामीले प्रकृति देवी प्रति आभार व्यक्त गर्नु पर्दछ। किनकि प्रकृतिबाट हामीलाई धेरैथोक प्राप्त हुन्छ। प्रकृतिलाई विनाश गरेर हामी संसारमा सुखी भएर लामो आयु बाँच्न सक्दैनौँ। मानिस आफ्नो गुरु आफै पनि बन्न सक्दछन् । गुरुहरुलाई तपाईंको भौतिक शरीरलाई प्रशिक्षण दिने कुनै आवश्यकता छैन, यस कुरालाई सबैले याद राख्नु पर्दछ। गुरुले तपाईलाई ज्ञान दिनका लागि विभिन्न किसिमका माध्यमहरु प्रयोग गर्न सक्दछन् । गुरुले तपाईलाई ज्ञान दिन अर्को गुरु पठाउन सक्नु हुन्छ अथवा गुरुले प्रकृति सगमिलेर आफै पनि प्रत्यक्ष योगदान ु¥याउन सक्नु हुन्छ। त्यसैले ईश्वर र गुरुप्रति असिम श्रद्धा र विश्वास राख्नु पर्दछ। हाम्रो जन्म कुनै उद्देश्यलाई पूरा गर्नको लागि भएको हो त्यसको बारेमा हामीले चिन्तन गर्नु पर्दछ । तपाईले पहिला आफूलाई नै चिन्नु पर्दछ । तपाईको मन भित्रको म भनेको के हो त्यसलाई पहिचान गर्नु पर्दछ तपाई एउटा शरीर मात्र होइन एउटा आत्मा पनि हो जो परमात्मा संग मिल्नु पर्दछ भनी रहेका हुन्छन् ।
यस्तो आत्मा परम पुरुष वा कुनै अन्य अलौकिक शक्तिहरूको बारेमा सधैं विचारशील भई सोची रहनु पर्दछ ।मानव जीवन एउटा स्मृतिको निरन्तरता मात्र हो। अतितकालमा म कस्तो जीवन पाएको थिए र भविष्यमा मैले कस्तो जीवन बाँच्नु पर्ने हो तथा वर्तमानमा कस्तो जीवन भोग्दै छु त्यस सम्बन्धमा धर्म र अधर्मको पनि विचार गर्नु पर्दछ । महात्मा व्यास ऋषिले १८ वटा पुराणहरूको सारतत्व भनेको के हो भने परोपकार कार्यमा लागेपछि धर्म हुन्छ र अरु प्राणीहरूलाई दुःख र पीडा दिनु पाप वा अधर्म हो भनेर छुट्याई नै दिएका छन ।मानव जीवनको स्मृति भनेको एउटा जीवनको कर्मफल हो। कर्मफल भनेको एउटा जुनीमा गरेको असल कर्म वा कुकर्मको फल जुनीजुनी सम्म भोग्नु पर्दछ यो जन्म जन्मान्तरको ऋण बन्धन मात्र हो। मानव जीवनमा जन्म र मृत्यु एउटै सिक्काको दुइटा पाटो जस्तो मात्र छ तपाईंलाई एउटाले नभई अर्कोले हुन सक्दैन जन्म पछि मृत्यु र मृत्युपछि जन्म अवस्यमभावी छ। तपाईंले कस्तो शरीर पाउनु हुनेछ त्यो महत्वपूर्ण पक्ष हो। जब तपाईंले जन्मको बारेमा थाहा पाउनुहुन्छ तब तपाईंले मृत्युको बारेमा पनि सोच्नु जरुरी छ मानिसको जन्म आदिशक्ति दुर्गा भवानीको अंशबाट हुन्छ भगवान शिव मृत्यु र विनाशका देवता हुनुहुन्छ ।भगवान शिव र माता दुर्गा भवानीको संयुक्त प्रयासबाट संसारको सन्तुलन कायम रहेको छ ।शिवका अनेक रूप हरु छन् ।साकार वा निराकार जुन रूपमा पनि शिवको अनुभूति गर्न सकिन्छ।
भगवान शिवका सबै स्वरूपहरु विश्व ब्रह्माण्डमा व्याप्त छन्। त्यो स्वरूप महाकालीको स्वरूप नै हो । साकार शिवको उपासना बाट नै तपाईं निराकार शिवसम्म पुग्न सक्नु हुनेछ । मोक्ष पदको अधिकारी भएपछि पुनर्जन्मा लिनुपर्ने र शरीर धारण गर्नुपर्ने बाध्यताबाट मुिकत प्राप्त हुन्छ तपाईंले शिव र शक्तिको साधना गरेर आफ्नो प्रारब्ध लाई लाई बदल्न सक्नु हुन्छ प्रकृति पनि ईश्वरकै रूपमा भएको हुनाले हामीले प्रकृतिसँग संवाद जारी राख्नु पर्दछ। प्रकृति विश्व ब्रह्माण्डमा विभिन्न रूपमा विद्यमान छन् । प्रकृति नै शक्ति स्वरूपा आदि शक्ति दुर्गा भवानीको साक्षात स्वरूप हो। हामीले हाम्रो सनातन धर्मको रक्षा गर्न सकेनौ भने कसैले पनि हाम्रो रक्षा गर्न सक्दैन । हामी आफै भित्रको शिव र शक्तिलाई चिन्नु पर्दछ हाम्रो आत्मा नै परमात्माको अंश हो । हाम्रो शारीरिक सम्बन्ध सांसारिक सम्बन्ध मात्र हो । त्यसलाई हामीले सही तरिकाबाट निर्वाहन गर्नु पर्दछ। आत्मा र परमात्मा अभिन्न भएपछि शिव र शक्तिको , परम ऊर्जा सँग आबद्ध हुन सक्दछौं। भगवानको समर्थन बिना हामी एकछिन पनि बाँच्न सक्दैनौँ। जल वायु अग्नि आकाश र पृथ्वी यी पञ्चतत्वबाट निर्माण भएको हाम्रो भौतिक शरीरलाई हामीले नै पुरानो हुँदै गएको र खिइँदै जर्जर हुँदै गएको देखि राखेका छौं र बुझी राखेका पनि छौं । यो जीवनको शाश्वत र वैज्ञानिक सत्य हो। हाम्रो प्रारब्ध हाम्रो अतितको कर्म सँग जोडिएर आई रहेको हुनाले हामीले संसार अर्थात् भवसागरमा पर्नुभन्दा अगाडि जीवनका रिनानु बन्धन बाट मुक्ति पाउनु जरुरी छ।
हाम्रो पूर्व जन्मका डीएनएमा नै हामीले विगत जन्ममा गरेका पापहरु र पुण्यहरूको हिसाब किताब अडिट भएर बसिसकेको हुन्छ त्यो सबै डिपोजिटहरु हामीले संसारमा जन्म लिनासाथ भगवानकै इच्छाले हामीले नै चुक्ता गर्नुपर्ने र बेहोर्नुपर्ने हुन्छ सुख र दुख मा तिता र मीठामा मानसम्मान मा अपमानमा धनी हुनु र गरिब हुनु मूर्ख हुनु वा विद्वान हुनु यस्ता सबै कुराहरु बापतको ऋण हामीले चुक्ता गरेपछि मात्र हामीले ईश्वरको अदालतबाट सफाई पाउन सक्छौ अन्यथा संसारमा बारम्बार जन्म लिनु र मर्नु बाहेक कुनै अन्य विकल्प छैन । हामी नाङ्गै जन्मन्छौ र नाङ्गै यस संसारबाट बिदा पनि हुनुपर्दछ पञ्चतत्वबाट बनेको शरीर बिलिन भएपछि कर्मनुसारको शरीर नपाउन्जेलसम्म देह रहित अवस्थामा बसेका हुन सक्दछन् । उपयुक्त समय आएपछि मात्र शरीर धारण गर्ने पालो आउन सक्छ। त्यसैले असल मानिस बनौ, संस्कृति र संस्कारलाई सम्मान गरौं मानवताको कदर गरौं ।निहित स्वार्थको लागि कसैलाई पनि दुःख दिने कार्य नगरौं । पित्री ऋण ऋषि ऋण र देव ऋणलाई कसरी चुक्ता गर्ने त्यसको बारेमा पनि विचार गरौं। यही नै सनातन धर्मको सौन्दर्य हो। भगवानले तपाईं भित्रको आत्मालाई द्रष्टा बनाएर पठाएका छन् ।आत्माले तपाईँले गरेका कार्यहरुलाई देखिरहन्छन् र भोग गर्दैन।तर जीवात्मा अर्थात् शरीरले सबै राम्रो र नराम्रो कर्मको भारी बोकेर संसार छोड्नुपर्ने हुन्छ ।त्यसैले व्यर्थको अहंकार काम क्रोध लोभ मोह आदि मायालाई ईश्वरप्रति समर्पण गरेपछि मात्र ईश्वरभक्तिको ढोका खुल्छ र प्राणी ईश्वरकै शक्ति भित्र लय अर्थात् विलिन हुन पाउँछन् यो ध्रुव सत्य हो । ८४ लाख योनीभित्र चक्कर लगाइरहने हो कि परमधाममा भगवानको शरणमा ठाउँ पाउने हो। यो तपाईंको हातमा छ ।