अर्थ देश–समाज राष्ट्रिय समाचार स्थानीय

पेट्रोलियम पदार्थको घट्दो खपत : जोगियो निगमको करोडौ घाटा

दमक/ सरकारले सातामा दुई दिन विदा दिन थालेसँगै नेपाल आयल निगम करोडौ घाटाबाट जोगिएको छ । पेट्रोलियम पदार्थको खपत घट्नुका अन्य केहि कारण रहे पनि साताको दुई दिन विदा दिएसँगै यसको प्रभाव देखिएको हो ।
बढ्दो व्यापार घाटालाई कम गर्न सरकारले गत चैत २२ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो । इन्धनको खपत घटाउने मुख्य उद्देश्यका साथ ल्याइएको यो नीतिपछि बजारमा पेट्रोलियम पदार्थको मागमा उल्लेख्य गिरावट देखिएको छ ।
नेपाल आयल निगमको ४२ दिनको तथ्यांक अनुसार विदाको निर्णय लागू हुनुअघि र पछिको समान २१ दिनको अवधिमा इन्धनको बिक्रीमा ठूलो अन्तर देखिएको छ । तथ्यांक अनुसार चैत १ गतेदेखि २१ गतेसम्म देशभर ४३ हजार १३२ किलोलिटर (४ करोड ३१ लाख ३२ हजार लिटर) पेट्रोल र १ लाख ५ हजार ७७० किलोलिटर (१० करोड ५७ लाख ७० हजार लिटर) डिजेल खपत भएको थियो ।
तर, विदाको निर्णय लागू भएको २१ दिन अर्थात् चैत २२ देखि वैशाख १२ गतेसम्मको अवधिमा पेट्रोलको खपत घटेर ३८ हजार ६२२ किलोलिटरमा खुम्चिएको छ । यो अघिल्लो २१ दिनको तुलनामा ४ हजार ५१० किलोलिटर (करीब १०.४५ प्रतिशत) को गिरावट हो । त्यस्तै, डिजेलको खपतमा त झनै निकै ठूलो गिरावट देखिएको छ । पछिल्लो २१ दिनमा ७३ हजार ३६७ किलोलिटर मात्र डिजेल बिक्री भएको छ, जुन अघिल्लो अवधिको तुलनामा ३२ हजार ४०३ किलोलिटर (करीब ३०.६३ प्रतिशत) ले कम हो ।
डिजेल कम बिक्री हुँदा निगमलाई करीब ३ अर्ब २१ करोड ३० लाख रुपैयाँ घाटा हुनबाट जोगिएको छ । यद्यपि, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८५ पैसा नाफा रहेकाले ४५ लाख १० हजार लिटर बिक्री घट्दा निगमले करीब ८३ लाख ४३ हजार रुपैयाँ सम्भावित नाफा भने गुमाएको छ । यसरी समग्रमा पेट्रोलको नाफा गुमेको रकम कटाउँदा पनि डिजेलको खपतमा आएको भारी संकुचनले निगमलाई पछिल्लो २१ दिनमा मात्रै करीब ३ अर्ब २० करोड ४७ लाख रुपैयाँ अतिरिक्त नोक्सानी हुनबाट जोगाएको देखिन्छ ।
इन्धनको यो संकुचनलाई विदाको उपलब्धि मानिए पनि निगमका प्रवक्ता मनोजकुमार ठाकुर भने यसलाई मात्रै कारण मान्न नसकिने बताउँछन् । उनले अन्य कारणले गर्दा पनि खपतमा प्रभाव परेको हुनसक्ने बताए ।
खपत घट्नुका अन्य कारण
विदाका कारण निजी सवारी साधन कम चल्नु एउटा पक्ष भए पनि डिजेलको खपतमा आएको भारी गिरावटको मुख्य कारण मूल्यवृद्धिका कारण मुलुकको विकास निर्माण प्रभावित हुनु मुख्य कारण हुनसक्ने अनुमान गरिएको छ । अहिले देशभरका निर्माण व्यवसायीहरुले निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण काम बन्द गरेका छन्, त्यसको प्रभाव स्वरुप निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टहरु नचल्दा डिजेलको खपत कम भएको अनुमान गर्न सकिने निर्माण व्यवसायी दिलिप शर्माको भनाइ छ ।
यसबाहेक, चैतको अन्तिम सातादेखि वैशाखको पहिलो सातासम्म विद्यालयहरुको वार्षिक परीक्षा सकिएर लामो विदा हुने समय परेकाले शैक्षिक संस्थाहरुका सवारी साधन नचल्नुले पनि खपत घटाउन भूमिका खेलेको छ । अर्कोतर्फ, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र नेपालमा भएको पटक(पटकको मूल्यवृद्धिका कारण उपभोक्ताको क्रयशक्तिमा समेत असर परेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल को मूल्य प्रति ब्यारल १०१.४५ अमेरिकी डलर छ ।
जसले गर्दा नेपाल आयल निगमले वैशाख १६ गते जारी गरेको पछिल्लो १५ दिने प्रक्षेपण अनुसार पेट्रोलमा प्रति लिटर १.८५ रुपैयाँ सामान्य नाफा छ भने डिजेलमा प्रति लिटर ९९.१६ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ३३१.२५ रुपैयाँ घाटा छ । समग्रमा निगमलाई १५ दिनमै ५ अर्ब ७४ करोड रुपियाँ भन्दा बढी घाटा हुने स्थिति देखिन्छ ।

Author

You may also like