देश–समाज राष्ट्रिय लेख स्थानीय

सहकारी समाजवादको विकासमा रोवर्ट ओविनको योगदान

इंग्ल्याण्डमा फ्याक्ट्री विधान र समाजवादका प्रवर्तक तथा सहकारी आन्दोलनका संस्थापक अग्रज शिखर पुरुष रोबर्ट ओविन् को जन्म सन् १७७१ मा बेलायतको नर्थ वेल्समा एउटा शिल्पकार परिवारमा भएको थियो । आफ्नो सुदीर्घ जीवनकालमा उनी आफ्नै बल, बुद्धि, योग्यता र पुरुषार्थबाट छोटो समयमा नै धनी बन्न सफल भएका थिए । तर सौभाग्यवस धेरै धनी हुँदाहुँदै पनि उनी चाहिँ पुँजीवादी विचारधाराको समर्थक बन्नुको साटो बेलायती समाजवादी आन्दोलनको संस्थापक बन्न पुगेका थिए । जतिबेला उहाँ स्कटल्यान्डमा प्रसिद्ध न्युलेनार्क नाम गरेको ठाउँमा न्युलेनार्क मिल्समा प्रबन्धक हुनुहुन्थ्यो त्यसबेला उहाँले मिलमा काम गर्ने श्रमिकहरूको दयनीय अवस्थामा सुधार ल्याउनका लागि कल्याणकारी कार्यहरूको श्री गणेश गरेर न्यूलेनार्कमा रहेको आफ्नो मिल लाई अन्य उद्योगपतिहरूको लागि एउटा आदर्श नमुना बनाइ दिनुभएको थियो। उहाँले गर्नुभएको श्रमिकहरूको कल्याणकारी कार्य सम्बन्धी अवधारणाको सन्दर्भमा विशेष रुपमा विचारणीय पक्ष के रहेको छ भने उहाँले त्यस्तो युगमा श्रम कल्याण योजनाको प्रारम्भ गर्नुभएको थियो जतिबेला श्रम कल्याणको बारेमा कुराकानी गर्नु पनि राम्रो मानिदैन थियो ।तर आफ्नो योग्यता र सुझबुझबाट तीस वर्षभन्दा कम आयुमा नै रोबर्ट ओबिन न्युलेनार्क मिल्सका हिस्सेदार भइसकेका थिए। रोबर्ट ओविन मिल मालिकको हैसियतमा रहँदा पनि उनी सधैं आफ्ना कर्मचारी र मजदुरहरूको हितलाई ध्यानमा राखेर विचार पुर्याउने गर्दथे।
रोबर्ट ओबिनले आफ्नो न्युलेनार्कका सुधार योजनाहरूको सफलताबाट प्रभावित भएर समाज सुधार गर्ने उद्देश्यले आफ्ना सुझावहरुलाई अ न्यू भ्यू अफ सोसाइटी, द बुक अफ मोरल वल्र्ड, भन्ने पुस्तकमा प्रकाशित गराएका थिए । उनका कृतित्वहरूबाट उनको नाम सरकारी आन्दोलन र ब्रिटिश समाजवादको इतिहासमा सधैं अमर रहिरहने छ ।उनको मृत्यु ८७ वर्षको आयुमा अत्यन्त व्यस्त र सक्रिय जीवन बिताई रहेको अवस्थामा भएको थियो ।
रोबर्ट ओविनको विचारमा मानिस आफ्नो वातावरणको दास हुन्छ। मानिसहरूको विचार र मनोवृत्तिमा परिवर्तन गर्नको लागि उनको जीवन स्तर र वातावरणमा परिवर्तन गर्नु आवश्यक हुन्छ । त्यस समय विद्यमान रहेको श्रमिकहरूको दयनीय अवस्था तथा मिल मालिक र श्रमिकहरु बीच संघर्ष भइरहने कारणले पनि दूषित वातावरणको सिर्जना भएको थियो ,यस्तै वातावरणमा मालिक र मजदुर दुवै रहने गर्दथे रोबर्ट ओविनलाई पूर्ण विश्वास थियो कि सामाजिक परिस्थितिहरू जो स्वयं कै वातावरणबाट प्रभावित हुन्छन् त्यसमा आवश्यक परिवर्तन गरेर श्रमिकहरूको अवस्थामा सुधार गर्न सकिन्छ ।
रोबर्ट ओविनको विचारमा समाजमा विद्यमान रहेका सबै किसिमका दोष हरूमा नाफा कमाउने प्रवृत्ति प्रमुख थियो। अत्याधिक नाफा आर्जन गर्ने प्रवृत्तिले गर्दा वस्तुको मूल्य अत्यन्त नै बढी निर्धारण हुने गर्दथ्यो। जसले गर्दा यस्ता श्रमिक हरु जसले आफ्नै श्रमबाट वस्तुहरूको निर्माण गर्ने गर्दथे तिनीहरु पनि ती वस्तुहरूको उपभोग गर्न असमर्थ हुन्थे। जसको परिणाम स्वरुप एकातिर श्रमिकहरुलाई वस्तु र सेवाहरूको उपभोग गर्ने अवसर प्राप्त हुँदैन थियो भने अर्कोतिर बजारमा वस्तुहरूको उच्च मूल्य कायम हुँदै जाने कारणले वस्तुहरूको माग कम भई कम परिमाणमा वस्तु र सेवाहरूको खरिद बिक्री हुने गर्दथ्यो ।अत्याधिक नाफा कमाउने प्रवृत्तिले गर्दा समाजमा देखा पर्न सक्ने दोषहरूलाई निर्मूल पार्नको लागि आदर्श समाजको स्थापना स्थापना गरी नाफा कमाउने प्रतिस्पर्धी संस्थाहरूलाई समाप्त पार्ने विचार रोबर्ट ओविनको रहेको थियो । रोबर्ट ओविनले पुँजीवादी प्रतिस्पर्धी प्रणालीको ठाउँमा सहकारी सङ्घहरूको स्थापना गर्ने तथा नाफा कमाउने प्रवृत्तिको अन्त्य गर्ने उद्देश्यले मुद्रा र मौद्रिक प्रणालीलाई समाप्त पार्ने सुझाव दिएका थिए ।
आफ्ना योजनाहरूको कार्यान्वयन गर्नको लागि तथा यसको व्यावहारिक पक्षको परीक्षण गर्नको लागि रोबर्ट ओविनले लन्डनमा केन्द्रीय सहकारी डिपोको रुपमा एउटा नेशनल इक्विटेबल लेबर एक्सचेन्ज को स्थापना गरेका थिए । श्रमिकहरू स्वयं पनि यस संस्थाका सदस्य थिए। यो एक किसिमको उत्पादकहरूको सहकारी समिति थियो। यसमा समितिका प्रत्येक सदस्य आफ्ना वस्तुहरू यसै संस्थालाई बेचेर त्यो वस्तु बनाउँदा खर्च भएको श्रमको मात्राको आधारमा श्रम सिक्काहरू प्रचलन गर्न सक्दथे यस्तो किसिमको श्रम सिक्काहरूबाट श्रमिकहरूले आफ्नो परिवारको आवश्यकता पूर्ति गर्नका लागि संस्थाबाट अन्य उपभोक्ता सामग्रीहरु खरिद गर्न सक्दथे। नेशनल इक्विटेबुल लेबर एक्सचेन्जको स्थापना सन् १८३२ को सेप्टेम्बर महिनामा भएको थियो। सुरुसुरुमा यसमा केही सफलताहरू पनि हासिल भएको थियो । तर दुर्भाग्यवस यो सफलता पनि अस्थायी र अल्पकालिन नै सिद्ध हुन पुगेको थियो। नेशनल इक्विटेबल लेबर एक्सचेन्जमा करिब ८५० जना सदस्य थिए ।तर केही समयपछि रोबर्ट ओबिनका सबै योजना असफल बन्न पुगेको थियो ।
रोबर्ट ओविनको सहकारी योजनाहरू असफल हुने विभिन्न कारणहरू थियो। रोबर्ट ओविनको नयाँ योजना यस मान्यतामा आधारित थियो कि सबै मानिसहरू स्वभावैदेखि इमान्दार हुन्छन् तथा सबै मानिस हरु सधैं नै सत्य नै बोल्छन् । यस्तै मान्यतामा विश्वास गरेर नेसनल इक्विटेबल लेबर एक्सचेन्जका व्यवस्थापकहरूले लेबर एक्सचेन्जका सदस्यहरूमाथि विश्वास गर्ने नीतिबमोजिम नै प्रत्येक सदस्यहरूलाई उनीहरूले पाउने श्रम नोट प्रदान गर्ने गरिन्थ्यो। यस्तो नीतिको परिणाम के भयो भने मानिसहरुले छिट्टै आफ्ना वस्तुहरूको लागत झुटो बोलेर बढी बताएर स्थापित लेबर एक्सचेन्जलाई धोका दिने र हानि नोक्सानी पुर्याउने कार्य गरेको थियो ,जसको परिणाम स्वरूप संस्थालाई सञ्चालन तथा जीवन्त राख्नका लागि विशेषज्ञद्वारा सदस्यहरुबाट निर्मित वस्तुहरूको मूल्यांकन गराउनु आवश्यक भएको थियो । तर दुर्भाग्यवस यस्ता विशेषज्ञहरू पनि रोबर्ट ओविनको दृष्टिकोण र विचारबाट विचारबारे अनभिज्ञ नै रहेका थिए ।
रोबर्ट ओविन द्वारा स्थापित सहकारी समितिहरूको अर्को दुर्भाग्य के थियो भने यसको स्थापनाको केही समयपछि नै धेरै संख्यामा बेइमान कालीगढहरू सदस्यता पाउन सफल भएका थिए। यिनीहरूको उद्देश्य संस्थालाई असफल बनाउनु नै थियो । यिनीहरू अत्यन्त स्वार्थी मानिस थिए । यस्ता बेइमान र दुराचारी कालीगढहरुले संस्थाको सदस्यता लिएपछि संस्थाको गोदाम भित्र यस्ता कालीगढहरूले बनाएका वस्तुहरू थुप्रिँदै गएको थियो । तथा यिनीहरूले आफूले बनाएका वस्तुहरू को मूल्य झुटो बोलेर बढीभन्दा बढी निर्धारण गर्न पुगेका थिए। यस्ता वस्तुहरु बजारमा कम मूल्यमा नै प्राप्त भइरहेको कारणले गर्दा संस्थाबाट कसैले पनि यी वस्तुहरू किन्न चाहेनन् । अनैतिक कालीगढहरू द्वारा निर्मित वस्तुहरूको कुनै माग थिएनन् भने अर्कोतिर बेइमान कालिगरहरुले इमान्दार कालीगढहरुले बनाएका वस्तुहरू खरिद गर्ने गर्दथे, जसको मूल्य इमान्दारीपूर्वक निर्धारण गरिएको हुन्थ्यो । जसको परिणाम स्वरूप अनैतिक किसिमका कालीगढहरू यस्तो सहकारी संस्थाको लागि अभिशाप साबित भएका थिए ।
रोबर्ट ओविनले आफ्नो न्युलेनार्क कपडा मिलमा काम गर्ने श्रमिकहरूको अवस्थामा सुधार ल्याउनका लागि केही व्यावहारिक सुधार कार्यक्रमहरू पनि लागू गरेका थिए। जुन चाहिँ धेरै नै सफल भएको थियो । रोबर्ट ओविनले आफ्ना श्रमिकहरूको लागि स्वच्छ र हावादार कोठाहरूको निर्माण गर्न लगाएका थिए । उनले श्रमिकहरूको कल्याण गर्नका लागि श्रम कल्याण अधिकारीको नियुक्ति गरेका थिए । रोबर्ट ओविनले आफ्ना मिलमा श्रमिकहरूले काम गर्ने समयलाई प्रतिदिन १७ घण्टाबाट घटाएर १० घण्टा प्रतिदिन गर्न लगाएका थिए आफ्नो मिलमा १० वर्षभन्दा कम उमेर समूहका बाल श्रमिकहरुलाई काम गर्नबाट रोक लगाएका थिए, तथा श्रमिकहरूका छोराछोरीहरूको लागि निःशुल्क शिक्षा दिलाउने प्रबन्ध मिलाएका थिए। रोबर्ट ओविनले श्रमिकहरू माथि लगाइने अनेकौं किसिमको त्यस्ता दण्ड र जरिमाना हरू जुन त्यस समयका मालिकहरूले आफ्ना श्रमिकहरु माथि लगाउने अधिकार ठान्थे, त्यस्तो दण्ड जरिमानाहरु मजदुरहरु माथि नलगाउने आदेश दिएका थिए ।
यद्यपि रोबर्ट ओविनका यस्ता व्यावहारिक सुझावहरू अहिलेका कल्याणकारी राज्यमा संसारका सबै देशहरूमा लागू भइसकेको छ। त्यसैले हामीलाई यस्ता कुराहरु धेरै महत्वपूर्ण नलाग्न सक्दछ तर सबैभन्दा महत्त्वपूर्ण कुरो के छ भने जुन समयमा रोबर्ट ओविनले यी सुधार योजनाहरुलाई आफ्नो मिलमा लागू गरेका थिए त्यो समय निश्चित रुपमा एउटा क्रान्ति भन्दा अलिकति पनि कम थिएन ।१९औँ शताब्दीतिर जतिबेला सामाजिक नियमहरू तथा श्रमकल्याण सम्बन्धी योजना तथा विचारहरूको जन्म नै नभएको अवस्थामा श्रम कल्याण सम्बन्धी योजनाहरूलाई व्यावहारिक रुपमा लागू गर्ने त के कुरा समाज कल्याण सम्बन्धी कुरा गर्नुपर्ने पापपूर्ण कार्य मानिन्थ्यो । त्यस्तो समयमा रोबर्ट ओविनले ओबिनले महान साहस देखाएका थिए ।मिल मालिकहरूले रोबर्ट ओविनलाई पागल घोषणा गरेका थिए, तथा उनीहरूले रोबर्ट ओविंनलाई आफ्नो घोर विरोधी र शत्रुको रुपमा ठान्ने गरेका थिए ।
तर चाँडै नै यो महान सत्य सर्वविदित भयो, जब रोबर्ट ओविनको मिलको उत्पादन तथा नाफाहरूमा वृद्धि हुन सुरु भयो । तब यो देखेर अन्य मिलका मालिकहरू आश्चर्यमा परे ।केही समयपछि नै रोबर्ट ओविनको मिल अन्य मिलमालिकहरूको लागि प्रेरणाको स्रोत तथा एउटा तीर्थस्थलको रुपमा महत्व पाउन थाले, जसलाई हेर्नका लागि देशका सबै भागबाट मिल मालिकहरू आउने गर्दथे तथा मिलको कार्यहरु र प्रगतिहरुबाट प्रभावित भएर जाने गर्दथे, तथा आफ्नो मिलमा पनि यस्ता सुधार योजनाहरु लागू गर्ने गर्दथे । तिनीहरुले रोबर्ट ओविनका सुधार योजनाहरुको मुरी मुरी प्रशंसा गर्दथे । रोबर्ट ओविन आफै पूँजीपति र मालिक दुवै हुँदाहुँदै पनि साँचो अर्थमा एउटा असल समाजवादी थिए। रोबर्ट ओविन मानव कल्याणका हितैषी शुभचिन्तक र उदारताका देवता थिए ।श्रमिक वर्गका कल्याणका लागि उहाँले जे जति गर्नुभयो त्यसको लागि श्रमिक वर्ग सधैं नै उनीप्रति ऋणी र आभारी रहिरहने छन् ।

Author

You may also like