देश–समाज राष्ट्रिय लेख स्थानीय

मधेशमा अनिकाल र देशमा खाद्यान्न संकटको त्रास

नेपालको अन्न भण्डार कहलिएको सम्पूर्ण मधेश तराईका क्षेत्रहरूमा नियमित मनसुनी वर्षा हुन न सकी खेती किसानी गरेर जीवन यापन गर्ने आम नेपालीहरुको दैनिकीमा ठूलो निराशा र अत्यास बढ्न थालेको छ।नेपालको आकाशमा खडेरी सुख्खा र अनिकालका लक्षण हरु प्रष्ट रुपमा देखिन थाले पछि ग्रामीण क्षेत्रमा न्यूनतम आर्थिक हैसियत भएका कृषक परिवारहरू तथा कृषिमा आश्रित कृषि मजदुरहरूको आँखा अगाडि निराशाका बादल मडारिन थालेको छ। माना खर्चेर पाथी फलाउने अन्न बालीका बीउ विजनहरु नै पानीको अभावमा सुक्न थाले पछि वर्ष भरिलाई कसरी परिवारको भरण पोषण गरिने होला भन्ने कुरामा किसानहरूको मुटुको ढुक ढुकी यतिखेर निकै बढेको देखिन्छ।एका विहानै आकाश तिर हेर्दै बादल बिनाको आकाश देखें पछि किसानहरू भित्रै भित्रै रुन्छन्। खेतमा धानको बिउ खेतमै सुक्न थालि सकेको छ। सिंचाईको अपर्याप्त सुविधा भोग्दै आएका किसानहरूले सिंचाईको लागि परम्परागत प्रविधिमा भर पर्ने अवस्था छ। इनारको पानी समेत सुक्न थालि सके।पोखरीहरुमा सिंचाइ गर्न लायक पानी छैन।नहरहरुमा पनि पानीको थोपो देखिँदैन।नेपालको माटोलाई छोएर बग्ने देशका छ हजार जति प्रवाहित नदी नाला मध्ये केही ठूला त साना नदी बाहेक अन्य नदीहरूमा पानी छैन। मधेश तराईको उर्वर माटो सिंचाईको सुविधाको अभावमा सुख्खा र बन्जर भूमि र मरुभुमिकरण हुंदै जाने भूमि बन्दै गई रहेको छ ।
सामान्यतया भारतीय सिमानासंग जोडिएर रहेको नेपालका करिब बीस वटा जति जिल्लाहरू धान गहुँ, दाल बाली, तेलबाली, उखु, तरकारी बाली, पान र आँप तथा मखानको उत्पादन हुन सक्ने महत्वपूर्ण ठाँउ भएर पनि चरम गरिबीको अवस्थाभित्र गाँजिएका छन्। वर्तमान सन् २०२५ को मधेश व्यापी अनिकाल र सुखाग्रस्त क्षेत्र घोषित हुने अवस्थामा यस क्षेत्रमा आसन्न देखिएका प्राकृतिक संकटहरू, कृषि प्रणाली, खेतीपाती र पशुपालनलाई निर्वाध रुपमा सञ्चालन गर्ने जस्ता कार्यहरू लाई ठूलो समस्या सिर्जना हुन सक्ने अवस्था आइ सकेको छ। नेपालका मधेस प्रदेश भित्र मात्र होइन, मधेस प्रदेश बाहिरका अन्य भूभागहरुमा पनि जल संकट को समस्या विकराल रुप धारण गर्दैछ। मधेशको अनिकालले मधेशलाई मात्र पिरोल्दैन, यसले समग्र रूपमा समग्र देशलाई नै समस्याग्रस्त बनाउँदै लै जाने अवस्थाहरू पनि आउन सक्छ। मधेस प्रदेशभित्र जनजीविकाका सवालमा र जीवनयापन शैली तथा साधनहरूको उपलब्धताको आधारमा यो क्षेत्र अझ विकराल गरिबीको खाडल भित्र जाकिने त होइनन् भन्ने सम्भावनाहरु र अड्कलहरू गर्न थालिएको छ। यसपालि मनसुन र मनसुनी वर्षा समयमा नभएर आकाशे पानीमा भर पर्ने मधेसी किसानहरूको खेतीपाती गर्ने कुरो ,आकाशको फल आँखा तरी मर, भन्ने अवस्थामा पुगेको छ। खेतीपातीका कार्यहरूलाई मधेसतिरका किसानहरूले आफ्नो ज्यानभन्दा पनि बढी माया गरेका हुन्छन्। किनकि खेती पातीबाट यहाँका मानिसहरूको जीवन निर्वाह हुन्छ ।जीवन पद्धति लाई नै कृषि कार्यबाट सञ्चालन हुँदै जाने परम्परा सनातन कालदेखि चल्दै आइरहेकोले ,कृषि मूलस्य जीवनम, भनिएको हो। अर्थात् कृषि नै जीवनको मूल आधार हो, तर मधेसमा मनसुनको वर्षा यसपालि हुन सकेन। सामान्यतया जुनदेखि सेप्टेम्बर महिनासम्म बङ्गालको खाडीबाट चलेको हावाले नेपालको आकाशमा मनसुनी बादलको निर्माण गराउँदछ। जुन यसपाली निर्माण हुन सकेन। जलवायु संकट वातावरणीय संकट तथा ग्लोबल वार्मिङ हुने जस्ता कारणहरूले तराई क्षेत्र दिनप्रतिदिन आक्रान्त बन्दै गइरहेको छ। मधेश प्रदेश नेपालको अन्नको भकारी र उर्वर माटो भएको क्षेत्र भएर पनि आज समस्यामा छ। अत्यन्त कम मात्रामा पानी परेको कारणले गर्दा मधेश प्रदेशका क्षेत्रभित्र पानीको समस्या विकराल रूप धारण गर्दैछ। विगत वर्षको तुलनामा यो वर्ष झण्डै ५०% भन्दा कम मात्रामा पानी परेको छ। जसले गर्दा मधेश प्रदेशभित्रका करिब ३०(३५% कृषियोग्य भूमि मात्र रोपाई हुन सकेको छ। जबकि मधेस प्रदेशले करिब करिब ७० प्रतिशत खाद्यान्न पदार्थ पुरै देशलाई उपलब्ध गराउँछ ।
मधेस प्रदेशका सरकारले १० जुलाई २०२५ का दिन मधेश प्रदेश भित्रका आठवटै जिल्ला धनुषा, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, बारा रौतहट र सप्तरी लाई अनिकाल प्रभावित क्षेत्र भनेर घोषणा गरेको छ। त्यस्तै नेपालका संघीय सरकारले पनि २२ र २३ जुलाई का दिन मधेश प्रदेशलाई प्राकृतिक संकट ग्रस्त क्षेत्रको रुपमा घोषणा गरेको छ र यसलाई व्यवस्थापन गर्न तथा राहत र सहयोग उपलब्ध गराउने घोषणा पनि गरेको छ तर त्यतिले मात्र समस्याको समाधान हुने अवस्था देखिँदैन।
मधेस प्रदेशभित्र मनसुनी वर्षा कम भएर मात्र समस्याहरू चुलिँदै गएको होइन, मधेश प्रदेश भित्रका भूमिगत जलाधारका स्रोतहरू र पानीका मुहानहरु समेत सुक्दै गइरहेको छ। मधेश प्रदेश भित्रका कल र पाइपहरूमा पानी आउँदैन। दैनिक आवश्यकताहरू पूरा गर्नको लागि आवश्यक मात्रामा खानेपानी, नुहाउने पानी, लत्ता कपडा सफा गर्ने, र घरको सरसफाई गर्ने ,तथा घरपालुवा जनावरहरूलाई चाहिने पानीको पुरै अभाव हुन थालेको छ। जसले गर्दा खानेपानीको समस्या विकराल रुपको धारण गर्दैछ र यसले कृषि क्षेत्रहरुलाई पनि नराम्रो तरिकाले असर पुर्याउन थालेको छ। पर्सा जिल्लाको वीरगञ्जमा खानेपानीको समस्या अझ विकराल रूप धारण गर्दैछ। सरकारले सेनाका दम्कलहरूलाई पानी आपूर्ति गर्न निर्देश दिएको छ।
मधेस प्रदेशमा देखिएको अनिकालले पुरै नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा असर पुर्याउन सक्ने अवस्था सिर्जना हुन थालेको छ। करिब नेपालका ३८ वटा जिल्लाहरुमा जहिले पनि खाद्यान्न संकटको अवस्था सिर्जना हुने गर्दछ। मधेश प्रदेशबाट बचत रहेका खाद्यान्न पदार्थहरु सरकारले दुर्गम क्षेत्रहरूमा बिक्री वितरणको लागि पठाउने गर्दछ। मधेस प्रदेशमा नै खाद्यान्न संकट उत्पन्न भएको अवस्थामा दुर्गम पहाडी क्षेत्रहरूमा कस्तो समस्या पर्ला भनेर सजिलै अनुमान गर्न सकिन्छ। नेपालको कुल खाद्यान्न बालीको उत्पादन मध्ये दुई तिहाई भन्दा बढी खाद्यान्न बाली मधेस प्रदेशभित्रै उत्पन्न उत्पादन हुने गर्दछ। मधेस प्रदेशले मात्र देशको कुल जीडीपीको करिब ३५% भार बहन गरेको छ । सन् २०२४ को तथ्याङ्क अनुसार ७०७ बिलियन रकम बराबरको जिडीपी मधेस प्रदेशले बहन गरेको छ। मधेस प्रदेश भित्रका खेतहरूमा रोपिएका धानहरू सुक्दैछ। खेतहरू धुजाधुजा परेको छ। किसानहरुलाई रोपाइ गर्न चाहिने बिउ बिजनहरु समेत सुक्न थालेको छ। यसबाट किसानहरुलाई अपुरणीय क्षति पुग्ने सम्भावना व्यक्त गरिँदै छ। विगत वर्षको तथ्याङ्क अनुसार नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको जि डी पी मा सुधार भइरहेको संकेत देखाएको थियो कृषि उत्पादनमा वृद्धि भइरहेको तथ्याङ्क देखाएको थियो, तर वर्तमान अनिकालको अवस्थाले खाद्य असुरक्षा बढेको देखिन्छ र यसले देशमा बहुआयामिक चुनौतीहरु पनि थप्न सक्ने कुराहरु बारे अनुमान गर्न सकिन्छ।
मधेसतिर किसानहरूले सन्त तुलसीदास द्वारा रचित रामचरित मानस का यी पंक्ति हरू प्राय सुनाउने गर्दछन्। …..का बर्खा जब कृषि सुखाने… अर्थात् जब खेतमा लगाइएको बाली नाली नै सुकेर गयो भने त्यसपछि परेको पानीको के अर्थ। सरकारले कृषि क्षेत्रमा देखिएको अनिकालको समस्यालाई समाधान गर्न प्रधानमन्त्री केपी ओलीले आकाशीय सर्वेक्षण पनि गर्नुभएको छ। प्रधानमन्त्री ले करिब ५०० वटा जति बोरिङ गाडने पनि आश्वासन दिनुभएको छ। समयमा बोरीङ गाड्न सकियो भने केही राहत पक्कै पनि होला। तर सरकारको कार्यशैली जहिले पनि विवाद र आलोचनाको केन्द्रबिन्दु बन्ने गरेको कुरा मिडियाहरुले औल्याइरहँदा यसबाट उत्पन्न हुन सक्ने दीर्घकालीन समस्याहरू को बारेमा सबैको ध्यानाकर्षण हुनु हुनु जरुरी छ। अनिकाल भनेको पानी नपर्नु मात्र होइन, अनिकाल परेर के खाने, कसरी बाँच्ने, कहाँ बस्ने, सामाजिक दायित्व निर्वाह कसरी कायम राख्ने लगायतका बहुआयामिक समस्याहरु एकै चोटी भोग्नु पर्ने हुन्छ ।यस कारणले यस्ता समस्याहरू समाधान गर्नको लागि तत्कालिक आवश्यकता हरू परिपूर्ति गराउने कुरामा सरोकारवाला सबै समूह समुदाय तथा संस्थाहरूले ध्यान दिनु जरुरी छ ।लोकतन्त्रमा पब्लिक सेन्टिमेन्ट पनि एउटा महत्वपूर्ण पक्षको रुपमा रहेको हुन्छ। पब्लिक सेन्टिमेन्टलाई पनि सरकारले बुझ्नुपर्दछ। अतितकालमा मधेस प्रदेशले ठूलाठूला संकट र पक्षपात पूर्ण राजनितिक र सामाजिक विभेद जनित विडम्बना हरू भोग्दै आएको देखिए पनि बहालवाला सरकारहरूले त्यहाँका समस्याहरू समाधान गर्ने बाटो पहिल्याउनु जरुरी छ ,र मधेस प्रदेशमा हरियाली बचाउनु जरुरी छ तथा जनताका आशा र सपनाहरू लाई पनि सम्हाल्नु जरुरी छ।नेपालको विकासको राजमार्ग मधेश प्रदेशले नै तयार गर्दछ भन्ने कुरामा विचार पु¥याउनु जरुरी छ ।

Author

You may also like