देश–समाज राजनीति लेख स्थानीय

देशलाई परजीवीकरण गर्न शकुनिगणका झाँकीहरु

—ः नकुल काजी :—


इण्डियाले सत्तारुढ पार्टी (भाजपा)–को एक विभागीय प्रमुखलाई, सायद, उसको मौसमी अभीप्सा सम्पोषण खातिर दूत बनाएर नेयालको ’रिले भ्रमण’–मा पठाएको समाचार ’नेपाली लोक’–ले मनग्गे सुने । तर, सो दूतमार्फत नेपालमाथि के–के वा के–कस्ता इण्डियन सम्मोहक बाचा–सूचना प्रेषित भए भन्ने विषयमा भने यतिन्जेलसम्म ’लोकतान्त्रिक गणतन्त्र नेपाल’–का ’सार्वभौम लोक’–लाई राज्यले कुनै ’ओैपचारिक जानकारी’ भाग लाउन आवश्यक ठानेको छैन ! त्यसो हुँदा, खासगरी सचेत वर्गका नेपाली मस्तिष्कमा, वैयक्तिक वा संस्थागत रूपमा, अनेक संशयका आराहरू रेटिइरहेको स्थिति विद्यमान छ अहिले ! हुन त, जुन देश प्राकृत रूपमा पराया र ’परस्पर विरोधी भूगोल’–हरूको कैदीको अवस्थामा छ, त्यसले राष्टिूय सार्वभौमिकता र स्वाभिमान अछुतो र स्वस्थ राख्न अवश्यै सजिलो छैन ! अझ, हाम्रो देश, हाल–साविकका समयसारिणीहरू अन्तर्गत, गणतन्त्रोत्तरको शासकमण्डलमा आलोपालो सम्पृक्त भइआएका र भइरहेका तीन पार्टीले ’सत्तावधिको भागबण्डा’ र त्यसकै लुछाचुँडीको लिचड्याइँले अटुट अस्थिरताग्रस्त र अघोषित घाइते बनाइरहेको अवस्थामा गुज्रिरहेको छ ! यस्तो अवस्थामा ’राष्टूवाद’–ले पराधीनताको सजाय भोग्न बाध्य हुनुलाई पदलोलुप र कमाउकान्ते नेता–अगुवाहरूका लागि अस्वाभाविक ठहरिने कुरा कल्पनातीत नै हुँदो हो ! अन्ततः हाल नेपालको परराष्टूमन्त्री , जसलाई ’देशको दुर्गम क्षेत्रका पछौटे महिला कोटा’–मा पारेर संसदमा मनोनित हुने ’लोकतान्त्रिक न्याय’–द्वारा सम्मानित भएकी, आरजु राणाको ’राखी भइया’ नाताका विजय चौथाइवाले हालै सजिलै नेपाल आउनु र उनले नेपालमा झन्नै–झन्नै ’राजनेता’–स्तरकै सम्मान पाउनु आश्चर्यको वा अद्भूत विषयमा दर्ज भएन ! चौथाइवाले महाशयलाई सत्ताधारक र विपक्षका मूल नेताहरूले बढो महत्वका साथ एकान्त–एकान्तस्थानमा चिया–चमेनाका साथ भेटे र सगौरव फोटो खिचाएर आ–आफ्नो महत्व प्रतिष्ठापित गर्ने तथा आत्मदम्भलाई बेस्सरी उप्केरा हाल्ने ’नेपाली बहादुरी’ नै प्रदर्शन गरे । नगर्नु किन ? देशमै, अनेक नकाबले सक्कली अनुहार छोपेर, इण्डियनहरू ’नागिरक संख्या’ नै बृद्धि गराइरहेका छन् मात्र होइन, इण्डियन जनसंख्याको घनघोर अतिक्रमण बढाउन र अर्थतन्त्र नियन्त्रणमा लागिरहेकै छन् । अब हेर्नुछ – नेपालको ऐतिहासिक महत्वको बिराटनगर जुट मिल्स लगायत हेटौडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना, जनकपुर चुरोट काखाना, उदयपुर सिमेन्ट उद्योग, गोरखकाली रबर उद्योग,नेपाल मेटल कम्पनी आदि दर्जनौं उद्योगमा लापारका कुन–कुन सेठ–साहूहरूले उपरखुट्टी लाउने हुन् ! र, हाम्रा लाखौं पाखुरे कामदार विदेशिन बाध्य भएर खाली भएका ठाउँमा इण्डियनहरूले रोजीरोटी चलाउने हुन् । किनभने, चौथाइवाले र चौथाइवालेहरू जस्ता सौदागरहरूका, बाहिर तुक न तुक्काको देखिने, भ्रमणको यस्तै अन्तर्यले तर्छाउने गरेको अनुभव छन् निर्धा नेपाली ’लोक’–का हृदयकुन्तरमा ! चेतना भया !!
इण्डियन नाकाबन्दीले देश झन्नै दादा इदी अमीनकालीन युगाण्ङा बनेको अवस्थामा ,सायद, ’तँ कुटे जस्तो गर – म रोए जस्तो गर्छु’ भन्ने उखान–टुक्का जस्तो अडान आवृत गर्दै–गराउँदै र ’राष्ट्रवादी अडान’–मा साहसी कहलाउँदै आएका केपी शर्मा ओली र उनका महत्वपूर्ण मन्त्रीहरूले समेत चौथाइवालेलाई भेटेर फूल–गुच्छाहरू सादर समर्पण गरेका र अलग–अलग ’एकान्त’ गरेका समाचारहरू देशी–विदेशी माध्यमहरूमा छताछुल्ल आएका छन् । आखिर विजय चौथाइवाले वर्तमान इण्डियन सत्तापाटीको (अर्थात् एउटा पार्टीको !) एउटा शाखाका प्रमुख र त्यहाँका प्रधानमन्त्रीका प्रिय तावेदारभन्दा बढता के थिए त ? त्यति मात्र कहाँ ? मौका पाउँदा देशको सार्वमौमिक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको पुराण कथेर देशभक्त नेपालीका सर्वतोभ नेताको अभिनय नगरी नछाड्ने पूर्व प्रधानमन्त्रीहरू र विपक्षी पार्टीका नेताहरूले समेत आ–आफ्ना खोपीमा चौथाइवालेलाई स्वागत गर्न उछिन्पाछिन् गर्दै ’दर्शनभेट’ गरेर आफ्ना ’कुरा’ राखेका खबर पनि आ–आफ्ना पार्टी पक्षधर माध्यमहरूबाट सगौरव सचित्र सम्प्रेषित गराएका थिए । अतः यसरी पनि यो समय–सालको उछाल–पछारको उखरमाउलो भोगिरहेको राजधानीको रोइलोमय राजनीतिक समाजलाई, कम्तीमा पनि, ३/४ दिन चौथाइवालेको आगमनले उल्लसित तुल्याएको थियो ।
अर्थात्, यो घटना एकतर्फी रूपको इण्डियाभक्ति र आत्मसमर्पणको नाङ्गो प्रदर्शन मात्र हो कि साँच्चै जानी–जानी नेपालको राष्टिूय स्वतन्त्रताको सनातन स्तुत्य परम्पराको अपमानजनक ठाढो उपहास पनि हो ? देशमा, एकतन्त्रीय राणाकाल वा एकात्मक राजाकालभन्दा चर्काे र एकाधिपत्य ढाँचाको अक्करिलो शासन चलिरहेको यो बेला इतिहासको आदिकालदेखि देशको स्वाधीन–स्वतन्त्रतालाई आफ्नो जिजीविषा जत्तिकैे प्यारो मान्ने नेपाली मानस–प्रकृतिभित्र यो जस्तो ’देशै दुख्ने’ घटना नहोस् भन्ने चाहना अहिलेकालमा सबल बन्दै गएको त छ नै । र, नेपाली नाटक–शिरोमणि बालकृष्ण समको उत्कृष्ट नाट्य–सम्वाद ’नेपालीहरू मृत्युसँग त्यति डराउँदैनन्, जति परतन्त्रतासँग डराउँछन्’ !… यसबेला सूक्तिको रूपमा हरेक ’नेपाली नश्ल’–को नेपाली कित्ता–कान्लाको यथाहैसियतका मनप्राङ्गणमा स्मरणीय बनेर जानी–नजानी दह्रिएकै हुन पर्दछ । कोठामा थुनेर कुटिएको बिरालो तौजी नमिल्दा पीडकको निम्ति प्रत्युत्पादक हुन्छ । अहिले सडकहरूमा प्रकीर्ण असन्तोषले यस्तै संकेत दिइरहेको मानिनु दूरदर्शिता र बुद्धिमानी थियो । यसका निम्ति परायाको सहारा जुटाउने ताउर–माउरको परिणाम अझ दुःखद हुन्छ भन्ने त छँदैछ ।
राज्यसत्तालाई एकाधिपत्य स्वरूप दिने र त्यसैको चकाचौँधमा तिल्मिलाएर देशको धरातलीय यथार्थ अकिञ्चन बनाइरहेका माथिल्ला नायक–अगुवाहरू हुन् वा त्यो ऐश्वर्य खोसेर आफू स्थापित हुन नकारात्मकताको हलि बनेर देशका हरेक फाँटमा हलो चलाइरहेकाहरू नै हुन् , आफ्ना तावेदार–भाटहरूबाट मात्र प्रेरित छन् । यो नितान्त वर्तमानमा नागरिक संख्याको अधिक–अधिकांश भुक्तभोगीहरूका मन–मस्तिष्कमा त कहिल्यै नबद्लिने अविश्वासले जरो गाढिइसकेको छ । सत्ताको चिल्लो सडकमा कुदिरहेका र तिनका खुट्टा तान्ने प्रयत्नमा लागिरहेका –शक्तिआसीन र शक्ति प्राप्ति लक्षित)पक्षका प्रेरक बनिरहेका तावेदार–भाटहरूका हविगत हेर्दा लाग्छ – कुनै अनभिज्ञ र अपठित गाउँलेको घरमा पूजा–होमादि भइरहँदा र पुरोहितले संस्कृतको दुर्वाेध मन्त्रोच्चारण गरेर ’मम’ भन्न लगाइरहँदा अन्धाधुन्ध ’मम’ भन्ने जमात जस्तै जमात हो त्यो तावेदार–भाट जमात ! अतः ती दुवै पक्षको टेको त्यस्तै अन्धभक्त ’कर्ता’ जस्तै हुन् । देश आज यस्तै स्वार्थलिप्साले विवेक र मानवीय संवेदनामा बिर्काे लागेका लम्फुहरू लगायत कालाधन्धे, माफिया, बिगारसिङ बिचौलियाहरूको सल्लाह र लेनदेन सौदाबाजीको खेल–मैदान बनेको छ । जुन मैदानमा विदेशीलाई स्वच्छन्द चलखेल गर्ने अवसर निर्बाध र निर्बिघ्न छ । त्यसै विजय चौथाइवालेलाई उत्रो सम्मान दिन कसैलाई पनि ’लाज’ र ’मर्यादा’–को लक्षमणरेखाले रोक्न नसकेको कहाँ हो र ? ’विपतमा कोरीको पनि पाउ मल्नुपर्छ’ भन्ने उखान नै छ नि ! यो देश भताभुङ्ग स्थितिमा पुर्याउन जिम्मेवारहरूलाई आफनै अभ्यन्तरको हीनभावले ’विपत’–को अनुभूति गराइरहेको होला र उनीहरू कोरी खुसी पार्ने ध्याउन्नमा जुटेका हुनन् ।…
इण्डियन चौथाइवाले कुुनै नीति निर्धारण गर्न र त्यो नीति अनुशरणमा नेपालको सहयोगसँग केही न केही विनिमय हुने विश्वास जताउन आएका होलान् । बृटिशको दास भएर उत्रो वर्ष बसेको इण्डियामा अर्काे कसैलाई पनि दास बनाउने रहरे रोग संक्रमित त छँदैछ  । भूटान, मालदिभ्स, श्रीलंका, फिजी आदि देशमा उसको नीति विस्तारको खैलाबैला नार्ने प्रयत्न कहिलेदेखि अहिलेसम्म जारी नै छ । बांगलादेशमा असहज वातावरण बनाउन ऊ लागेकै छ । सिक्किम त साँपले भ्यागुता निले जस्तरी निली नै हाल्यो ! अब ’काम पनि लाउने र कालान्तरमा नासमझीमा परेर आफ्नो लक्ष्य पनि साध्ने’ द्वेध उद्देश्यका उसका आँखा नेपालतिर सोझिएको पनि नहुन सक्तैन । अहिले पाकिस्तान र इण्डिया युद्धको धन्धामा तल्लिन छन् र नेपालको साथ–सहयोगको पूर्वाधार तयार गर्न पनि चोैथाइवालेलाई भत्खरुगिरी गर्न पठाइएको पनि नहुन सक्तैन । त्यसो भए नेपालको सुन्दर ’असंलग्न परराष्ट्र नीति’–मा धब्बा लाग्ने कुरा पनि पक्ष–निरपेक्ष परराष्ट्र नीतिका ज्ञाता नेपालीहरू लगायत केही प्रसिद्ध अन्तर्राष्टिूय सूचना माध्यमहरूबाट समेत सुनिन थालेको छ ।
समग्रमा इण्डियन चौथाइवाले आगमनको सबै दृश्यावली हेर्दा नेपाली लोकतन्त्रको भविता यसरी पनि घाइते बनाउने षडयन्त्र त हुँदै छैन भन्ने शंका उब्जनु अस्वाभाविक होइन । हुन त नेपालको राज्यसत्ता, प्राकृत स्वरूप र शासनवृत्तका क्रियाकलापबाट समेत ’सम्माननीय संविधान’–द्वारा निर्देशित होइन, नयाँ दिल्लीको सहमति बिना हावै चल्दैन भने जस्ता अनपेक्षित सन्देश असरल्ल सार्वजनिक भएकै छन् । परराष्ट्रमन्त्री श्रीमती देउवाले दिल्ली पुगेर फर्किएपछि– ’इण्डिया सरकारले नेपालमा व्यवस्था परिवर्तन चाहेको छैन’ – भन्नु वा हाल सरकारको टेको बनिरहेको नेपाली काङरेस पार्टीका सभापति र पटक–पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले नै राजधानीको एक जिम्मेवार समारोहमा –’इण्डियाले राजसंस्था फिर्ता ल्याउन खोजेको छैन’ –भन्नु अथवा पूर्व प्रमं डा. बाबुराम भट्टराईले समेत हालै नयाँ दिल्लीबाट फर्किँदा फर्किँदै बडो हर्षित भावमा ’इण्डिया नेपालको वर्तमान व्यवस्था परिवर्तनको पक्षमा छैन’ भनेर ठोकुवा गर्नु आदि बकबकाइहरूका भावभूमि वा पाश्र्वभूमि बुझ्ने नेपालीको अभ्यन्तरमा ’नेताहरू नेपाल देश इण्डियाको अकन्टक पक्षधर हो भनेर चिन किन चाहन्छन् भनेको त नयाँ दिल्लीको निर्देशन नेपालका लागि अकाट्य भइसकेको रहेछ !’ भन्ने मनोवैज्ञानिक भाव–संक्रमण गराउँछ कि गराउँदैन ? सन् १९४७ मा फिरङ्गी अंग्रेजको दासताबाट मुक्त भएपछि र हैदरावाद निजाम अधीन गरिसकेपछि सो विजयको उन्मादले पन्पिएर ’स्वतन्त्र इण्डियाको पहिलो गृहमन्त्री’ सरदार बल्लभ भाइ पटेलले ’अब नेपाललाई पनि अधीनमा ल्याइहाल्नु पर्छ’ भनेका थिए –जो यहाँ स्मरणीय छ । त्यसो त, प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले नै पनि नेपालमा पञ्चायत व्यवस्था लागू हुनासाथ –सन् १९६० मा) अल इण्डिया रेडियोबाट भनेका थिए –’नेपालको प्रजातन्त्र अब केही वर्षका लागि राणा साहेबहरूका महलमा कैद हुन पुग्यो !’ यो पनि उतिकै स्मरणीय छ । अतएव, उसबेलादेखि नै इण्डियन दासत्व नेपालमा प्रत्यावत्र्तन–परावत्र्तन भइरहेको रहेछ भन्ने देशभक्त नेपालीले बुझ्नैपर्ने हुन्छ । त्यति मात्र होइन, नेपालको राष्टिूय सार्वभौमिकता त के, भूगोलकै हकमा पनि, यसलाई इण्डियन भूगोलद्वारा तीनतिरबाट हाकाहाकी चितुवाशैलीमा चिथरिइरहेकै छ, ’चुच्चे मानचित्र’–ले पनितातोपानी लाएको खोइ कतै देखिँदैन ।…
हुन त यस्ता भयावह संकेतप्रदायी विषयहरू अझ अरू पनि कति छन् कति – जसको संख्या गनेर सूचीबद्ध कैरन लाएर सकिने होइन ! त्यसैले, बस्, आजलाई यति नै ।…

Author

You may also like