मलाई मेरै देशको महान राजनीतिज्ञ, शैक्षिक व्यक्तित्व र सामाजिक व्यक्तित्वहरूले गरेका राम्रा कामको सूची बनाएर प्रचार–प्रसार गर्ने प्रवल चाहाना छ । उहाँहरूले देखाउनु भएको सही बाटोमा पदचाप मिलाएर हिड्ने व्यग्र ईच्छा छ । मेरो देशका महान राजनीतिज्ञहरूले विश्व परिवर्तनको लागि निर्माण गरेका सिद्धान्तहरू, चलाएका कदमहरू र उठाएका आवाजहरूलाई विश्वको कुनाकुनामा पु¥र्याएर उनीहरूको नाम चम्किलो बनाउने अटल चाहाना छ । आध्यात्मिक चिन्तनको रटान रटाएर मरेपछि आत्म स्वर्ग पुग्छ र स्वर्गिक सुखभोग गर्न पाईन्छ भनेर सल्लाह दिने प्रकाण्ड ठानिएका विद्वानहरू भन्दा मानिस नै हर वस्तुको मापदण्ड हो, हामी जे गर्छौँ सबै जीवित मानव जातिको उन्नति, प्रगति र भलाईको लागि गर्दछौँ भन्ने चिन्तनले अभिप्रेरित गर्ने, मानव जातिको उच्च मूल्यांकन गर्ने व्यक्तिहरूको शालिक बनाएर चौकचौकमा सजाउने अभिलाषा छ मलाई । शासकले शासन गर्नु शासकहरूको मोजमस्तीको मात्रा बढाउनु, आप्mनो पार्टी कार्यकर्ता बढाएर सरकारको आयु लम्ब्याउनतिर लाग्नु मात्र हो भन्ने नेता भन्दा आम जनताको अपरिमित दुःख भगाएर वास्तविक जीवन स्थापित गर्न अनवरत लागि पर्न आँट, क्षमता र बर्कत भएको नेता पूज्ने मन छ मलाई । म नै राज्य हुँ, म भन्दा जान्ने र बाठो कोही छैन, म जे बोल्छु त्यो नै अन्तिम सत्य हो भन्ने अहंकार बोकेका लाल बुझक्कड् भन्दा भूँई मान्छेका सुख, दुःख बुझेर तिनका समस्या समाधान गर्न भुईँ मान्छेकै तहमा ओर्लन सक्ने नेताको स्तुति गाउने मन छ मलाई । मैले देवतुल्य मानेका यो देशका उच्च ओहोदाका काविल व्यक्तित्वहरूले भुँई मान्छेसँग झिना मसिना सवालहरूमा, स्तर विहिन विषयहरूमा शेष नागजस्तो फणा फुलाएर अनावस्यक तर्कमा ओर्लिएको हेर्ने मन छैन मलाई । बरू भुईँ मान्छेसंग जति निहुँिरन सक्यो, जति नरम हुन सक्यो, उनीहरूको समस्या बु्न्नतर्फ लाग्यो उहाँहरूको उचाई त्यति नै बढ्छ जस्तो लाग्छ मलाई ।
विदेशीको लहैलहैमा देश डुबाउन उद्दत् रहने राष्ट्रघाती नेताहरू भन्दा देशलाई आप्mनो सर्वस्व सम्झिएर देशको अथाह माया गर्ने र देशको लागि रगत बहाउनसम्म पछि नपर्ने नेताहरूको इतिहास पढ्न र सुन्न मन छ मलाई । जो आत्मरतिमा नरमाएको होस् । अर्कालाई तल्लो दर्जामा ओर्लिएर गाली गलौज गर्दा आप्mनो उचाई बढ्छ भन्ने हीन भावबाट माथि उठेको होस्, मेरो देश संचालनको उच्च तहमा बसेका नेताहरूमा । आफू राज्यको सर्वोच्च निकायमा बसिसकेपछि दलगत राजनीतिको साँघुरो परिवेशबाट माथि उठेर सबै नेपाली जनतालाई एउटै अाँखाले हेर्ने दृष्टिकोण बनोस् मेरो देशको उच्च शासकमा ।
देशको हावापानी र माटो सुहाउँदो सिद्धान्त र नीति बनाएर देशको सकारात्मक परिवर्तनमा अहँ भूमिका निर्वाह गरेको होस् मेरो नेताले । राज्यको सर्वोच्च निकायमा बसेकालाई आम नेपालीले मेरो हो भन्ने हैसियत राख्ने अवसर दिउँन् शासन सत्ताको बागडोर सम्हाल्नेले । यस देशका नेताहरूको नैतिकता चरित्र, अनुशासन र बोलीमा शालीनता भद्रता यति विघ्न होस् जसलाई देख्दा म एउटा असल शासकको छत्रछाँयामा पूर्ण ईज्जत् सहित सुरक्षित ढंगले बस्न पाएको छु भन्ने अनुभूति हुन सकोस् । मेरा दैनन्दिनका व्यक्तिगत समस्याहरू, राष्ट्रिय समस्याहरू एकपछि अर्को क्रमशः पूरा हुँदै जानेछन् भन्ने विश्वासको वातावरण बन्न सकोस् सर्वसाधारणमा । राजनैतिक परिवर्तनको उपलब्धी परिवर्तनको वर्ष गनेर होईन । नेपालको शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक लगायत सबै क्षेत्रहरूमा आएको गौरवपूर्ण परिवर्तित वातावरणको अनुभूति गर्न पाउन् आम नागरिकले । मलाई लाग्छ माथि उल्लिखित शर्तहरू एकपछि अर्को पूरा गर्दै नेताहरू, सामाजिक अभियन्ताहरू यही देशमा जन्मिएका भए मैले असल राजनीतिको लागि कार्लमाक्स, लेनिन, एन्जेल्स र माओ, डा. मुनरो रूजवेल्ट, चर्चिलका जीवनीका पुस्तकहरू खोजी खोजी पढ्न के जरूरी थियो र ? शान्ति प्राप्त गर्न, ज्ञान आर्जन गर्न र अनुशासन, नैतिकता र चरित्र निर्माणको लागि महात्मा गान्धी, स्वामी विवेकनन्द, चाणक्य, अब्ह्रामलिँकन जस्ता व्यक्तिहरूको जीवनीखोजी खोजी पढ्न आवस्यक पर्ने थिएन ।
दिन कसको कसरी कहाँ कमजोर भएर जान्छ ? कसलाई थाहा हुन्छ र ? को निरन्तर सत्ताको तख्तामा टिकिरहेको हुन्छ र ? म नै विश्वको खुँखार तानाशाह हुँ भन्नेहरूको सुखद् अन्त्य भएको छैन विश्वमा । विश्व सम्राटको परिकल्पना गर्ने दोस्रो विश्वयुद्धको योजनाकार हिटलर अहिलेसम्म मर्यो वा बाँच्योको एकिन छैन । चिहानको टुंगो छैन । उसको समकक्षी बेनिटो मुशोलिनीको दुःखद् अन्त्य भयो । यस्तै नाम लिँदै जाने हो भने, ईराकको सद्दाम हुसेन, लुआण्डाको ईदिअमिनको सुखद् अन्त्य भएन । फिलिपिन्सको तात्कालीन राष्ट्रपति फर्डिनेन्ट मार्कोस आप्mनी श्रीमतीसँग रातारात अमेरिका भाग्न बाध्य हुनु पर्यो । शासकको ज्यादतीबाट प्रताडीत जनताहरूले गरेको वार कि पारको आन्दोलनको पछिल्लो दिनमा पाकिस्तानको पूर्व राष्ट्रपति परवेज मुसरर्फ, ईमरान खान जस्ता व्यक्तिहरू जेलको चिसो हावा खान बाध्य छन् । त्यसरी नै राज्यको दोहन गरेर देशलाई टाट पल्टाउने तत्कालीन श्रीलंकाली राष्ट्रपति महेन्द्र राजापाक्षे देशलाई तंग्रन नै नसक्ने लथालिंग अवस्थामा गुज्रन वाध्य गराएर लापत्ता हुनु पर्यो । २÷३ बहुमतको दंभ बोकेको वंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद आप्mनै कुकर्मको कारण आज कुर्शी छाडेर अज्ञात स्थानमा लुक्न बाध्य हुनु पर्यो । म चाहान्छु हाम्रा नेताहरूमा आफैले आफैलाई पुर्ने यस्तो खाल्डो अवस्य खन्ने छैनन् । जनताबाट नाँगिएर, हेप्पिएर, निरीह बनेर मरेको बिरालो काखी च्याप्दै ठिमी जाने बाटो सोध्न विवस हुने छैनन् । श्रीलंका हुँदै बंगलादेश पुगेको राजनीतिको क्रान्तिकारी सुनामी झुक्किएर पनि नेपालमा प्रवेश गर्न दिने छैनन् । देशलाई असफल राज्यको तख्तामा चढाउन उद्दत हुने छैनन् । नीतिश्लोकमा भनिएको छ
अति दर्पे हता लंका
अति माने च कौरव
अति दाने बलि बद्ध
अति सर्बत्र बर्जयेत ः
मलाई लाग्छ यो श्लोक सामान्य अध्ययन गर्ने जो कोहीले जानकारीमा लिएको हुन सक्छ । त्यसैले पनि हाम्रा राजनेताहरू श्लोकमा लेखिएका वास्विकताको नजिक पुग्ने छैनन् । किनकि उनीहरूले यो पनि सोच्नु पर्छ कि संसारमा कुनै व्यक्ति, समूह वा शासकको उन्नति एकनासले भएको इतिहास, न विगतमा भएको छ, न भविष्यमा नै हुनेछ ।
त्यसैले भन्नै पर्दा, हाम्रा राज्य सञ्चालनका प्रमुखहरूले यो घडीमा नाँगो राजनैतिक नाँच नदेखाएको राम्रो । देश र जनतालाई विकासको सुन्दर मुहार हेर्नबाट बन्चित नगराएको राम्रो । राजनीतिलाई हदै सम्मको अस्थिर मोडमा लगेर, पानी धमिल्याऊदै माछा मार्न नखोजेको राम्रो । सत्ताको लछाचुँडी गर्दै देश दोहन नगरेको राम्रो । देश लुट्नेहरू त असख्य सम्पति कुम्ल्याई विदेश पलायन पनि हुन सक्ने रहेछन् । तर यी आम भुईँ मान्छेहरूको बिचल्ली भएको कसले हेर्ने ? लथालिंग भएको देशको जिम्मा कसले लिने ? यस बारेमा बेलैमा सोचौँ र अस्थिरताको गंभिर मोडबाट देशलाई स्थिरताको बाटोतिर लैजान सबै एकजुट होऔँ । यसमा सबैको कल्याण छ । अस्तु