देश–समाज राष्ट्रिय लेख स्थानीय

दलहरुले बिर्सिदै गएको प्रजातन्त्र दिवस

गत फागुन ७ गते यानेकी ७५ औं “राष्ट्रिय प्रजातन्त्र दिवस । “छिटफुट कार्यक्रम बाहेक धेरै ठाउँहरुमा प्रजातन्त्र दिवस मनाइएका तस्बिरहरु सामाजिक संजालमा छ्यापछ्याप्ती देख्न पाइयो । यतिसम्म देखियो कि सहिदहरुको सालिकमा माल्यार्पण गर्दापनि उक्लिएर फोटा खिचाउनेहरुको लर्कैलर्को बिच हाम्रा नेताहरुले प्रजातान्त्रिक दिवस मनाए, यो खुसीको कुरा हो । तर मनाउनुपर्ने कसरी हो र के गर्दा हाम्रा सहिदहरुको मर्म र भावना बुझेर अघि बढनुपर्ने हो त्यो भने भाषणमा खुलेको भने देखिएन । जे होस यो ८१ सालको प्रजातन्त्र दिवसपनि सकिएको छ यसलाई संस्थागत रुपमा बृहत मोर्चाबन्दी गरेर दलहरु अब कसरी अघि बढलान हेर्न बाकी छ, त्यो त उनीहरूको व्यबहारबाटै थाहा हुन्छ ।
विगतदेखि वर्तमान समयसम्म आइपुग्दा नेपालको राजनीति नेता र नेतृत्वको चलखेलले गर्दा धरापमा पुगिसकेको कुरा महान नेपाली जनतालाई मात्र थाहा छ, नेताहरूलाई खासै चिन्ताको बिषय बन्न सकेकै छैन । उनीहरूलाई देश दोहन गर्न सिवाय अरु केही रहेन । जनताले समयसीमा भित्रै देशमा भएका अनेकन बिषयसङ्ग सरोकार राख्ने बिषय मिसन – ८४ नआइकन सकियोस भन्ने भित्री मनोकाङक्षा राखेका त्योपनि पूरा हुनै सकेन । नेपाली राजनीतिको वर्तमान गतिविधि नियाल्नुहोस त मन खुसी राख्ने ठाउँनै कहिँ छैन । राजनीतिमा बितृष्णा मात्रै पैदा भएको छ । चित्त बुझाउने ठाउँनै कहिँ राखिदिएनन शीर्ष नेताहरूले । “त कुटेजस्तो गर, म रोएजस्तो गर्छु भन्ने प्रतीत भा छ, नेपाली जनहरुमा । हुनपनि नहोस कसरी चित्त बुझाउने ठाउँ कहिँ देखिएको छैन, यतिबेला । जनताको बाक्लो उपस्थिति हिजो थियो आज छैन ।
कुनैकुनै स्वतन्त्र दलहरु र मुडे तर्क गर्ने अभियान्ताहरुको भाषण भन्ने सुन्न थालेका छन । आज एक राजनीतिक दलले अर्को राजनीतिक दलको अस्तित्व स्वीकार्न सकेकै छैनन । आज गरिब जो झुपडीमा बस्छन उनीहरूको चाहना राजनीतिक खिचातानीले गर्दा अन्यौलग्रस्त भएको छ, अहिले । आज मानो खाएर मुरी उब्जाउनेहरुको अभिष्ट पूरा हुन सकेन त्योपनि राजनीतिक अदुरदर्शिता र सत्ता सट्टेवाजको राजनीति खेलले गर्दा हो । जनतालाई प्रमुख एजेण्डामा राखेर जनतानै राज्यका संवाहक शक्ति हुन भनेर जनतालाई नामाकरण गरिरहेतापनि उनीहरूको वास्तविक मागलाई लत्याइरहने चलखेलले गर्दा नेपालमा कुनैपनि उन्नति र प्रगति दलहरूले गर्न सकेनन । अन्ततः पटकपटक संविधानसभाको निर्वाचन भए पश्चात् पनि जनताले नयाँ अनुभूति प्राप्त गर्न सकेको अवस्था रहन सकेन । जनतामा बितृष्णा पैदा मात्रै भयो, हिजोआज । वाक्क दिक्क भएपछि आज सबै निराशाको बादल छाउन लाग्यो । आज प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस मनाउदा र सम्झना गर्दा मात्र प्रजातन्त्र दिवस सार्थक हुने होइन ।
आन्दोलन र संघर्षबाट प्राप्त भएका सम्पूर्ण उपलब्धीहरुलाइ संस्थागत गर्नु र जनतामा वास्तविक प्रजातन्त्रको प्रत्याभूति गराउनु चाहिँ साचो अर्थमा प्रजातन्त्र हो । तर त्यो भने हुन सकेन, आज । नेपाली राजनीतिमा खिचातानी, पदलोलुप्ता, खुट्टा तान्ने प्रवृत्तिले गर्दा राजनीतिको मियो बिदेशी प्रभुहरुले खिचिरहेका छन । यहाँ जतिसुकै क्रान्तिकारी भाषण छाटुन कसैले, हामी मात्र हौ नेपाली राजनीतिमा असली प्रजातन्त्रका हिमायती भनेर नक्कली भाषण गरुन तर यहाँ भने कुनैपनि दलहरु नडुक्रीदा हुन्छ किनकि प्रजातन्त्रको नक्कली बीज सबैभन्दा ठूला दलहरुले खाइसके । हिजोका दिनमा नेताले जनताका घरघरमा गएर जनतासङ्ग गरेका प्रतिबद्धता अहिले कति पूरा भए, भएनन नेपाली जनतालाई थाहै छ त । अनि किन कोकोहोलो मच्चाउनु ? हामी लोकतान्त्रिक गणतन्त्रका सिपाही हौं नेपालमा तानाशाहीहरुको अन्त्य गर्ने हामी मात्रै हौ भनेर अरु नकुर्लिए पनि हुन्छ, अब । को सही को बेठीक सबै जनतालाई ज्ञातै छ त । किन बर्बराउनु ? जनता जनार्दन हाम्रै हुन भनेर उनीहरूलाई बलीको बोका बनाउनु किन ? आज नेतृत्व शक्ति केन्द्रमा पुगिसकेपछि जनताका मुद्दा र समस्याहरु दिनप्रतिदिन स्खलित हुँदै गइरहेको छ । जनताका मौलिक हक, अधिकारहरुसम्म सुनिश्चित हुन सक्या छैन । दलहरु सत्ता र भागबण्डाको गोलचक्करमा छन । कसलाई लडाउने र कोकोलाई मन्त्री पद दिलाइदिने भन्ने कुरामा हिजोआज गठजोडमा छन, ठूलादलहरु । जबसम्म हाम्रो नेतृत्व व्यवहारमै देश र जनताको चिन्ता लिएर अबका दिनमा जनताको घरदैलोमा गएर आफूले गरेको गल्तीलाइ सच्च्याउन सक्दैनन, तबसम्म जनताले नेताहरूलाई सजिलै बिश्वास गर्न सक्ने अवस्थै छैन, अहिले ।
आज राजनीतिक दल र नेतृत्वभित्र बाचेको अलिकति मूल्य र मान्यताको राजनीति दुःखपूर्ण अवस्थाबाट मर्दै जानुले अरु संशय थपिदै गएका छन । अतः जनताद्वारा अनुमोदित भएर गएका प्रतिनिधिहरु जनताका नजरमा अहिलेसम्म फेल हुदैजानु भएको लज्जास्पद कुरा हो । हुन सक्ला कुनैदिन जेल, नेल, स– शस्त्र युद्ध गरेर आएका नेताहरू होलान तर बिगतको विरासत हेरेर उनीहरू कहिले जनताका आधारभूत आवश्यकतातर्फ अघि कहिले बढेनन, सत्ता र भागबण्डातिर लागे । लोकतान्त्रिक गणतन्त्र नेपालमा बिजारोपण भएयता कस्ता– कस्ता काण्ड घटदै गए त्यो तपाईं हामीलाई थाहै छ पछिल्लो पिडिले कुनै दिन सामाजिक र इतिहासमा पढनेनै छन कि नेपालमा जुन तरिकाले देशलाई आर्थिक भार थपियो त्यसलाई सहज रूपमा अवतरण गरेर लैजाने रानो भएन, नेपालमा । सबै बयोबृद्दहरुको हातमा सत्ताको चावी अहिलेसम्म घुमिरहेको छ । उनीहरूको यो नाटकीय यात्रा जनताहरु टुलुटुलु हेरेर बस्नु सिवाय केही रहेन, अब । यहाँ जसले जे गरेपनि हुन्छ, सत्ताको खेल र एकले अर्कोको अस्तित्व नामेट बनाएर लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त बनाउने चलखेल अहिलेपनि चलिरहेकै छ ।
आखिर यो खेल किन हुँदैछ, कसले गर्दैछ, कसरी कुन श्रोतबाट गर्दैछ ? यसको खोज अनुसन्धान सम्म दलहरुले गर्न सकेका छैन । पूर्व राजाहरुको धेरथोर राजनीतिक यात्रा अनि छोटेराजाहरुको गणतन्त्रमाथि प्रश्न चिन्ह उठाउने अदृश्य खेलले गर्दा आज चौतर्फी निशाना बन्यो, प्रजातन्त्र । यहाँ यो लेखकले प्रजातन्त्र मासियो, सिद्दियो । यसका अवशेष केही रहेन अब भन्न खोजेको भने पक्कैपनि होइन देखेको तीतो तर यथार्थ कुरामात्रै हो कि हिजोआज चलखेल अलिमात्रामा बढेकोदेखिन्छ । यो नजर अन्दाजपनि हो । यहाँ पार्टी चाख्नेहरुको भीड बग्रेल्ती छ, कसैले लालझण्डा छोडेर चारतारे झण्डा ओढेका छन भने कसैले सबै छोडेर फेरि राजावादीहरुको भक्तजन भएका छन । यो सबै किन भएको हो भन्दा सबै राजनीतिक पार्टी लोकतान्त्रिक नबनेकै कारणले गर्दा हो । मियोबिनाको दाइगर्ने परिपाटी नेताहरुले चलाएको जनताले त्यही सिको गरे अनि सबैले यसैको शिरोधार्य गरेर अघि बढेकै हुन । सानामसिना कुराहरुमा एकजुट नभएका कारण र भएपनि कार्यगत एकता हुन सकेन ठूलादलहरु बिच । खाली सत्ता बनाउने र सत्ता ढाल्नेमात्र काम भयो, कसैलाई देशको अवस्था कस्तो छ र यसलाई कसरी रुपान्तरण गरेर लैजाने भन्नेतर्फ कसैको ध्यानाकर्षण हुन सकेन ।
विगतको राजनीतिक अवस्था हेर्दा लाग्छ कि हामीले नेताहरुप्रति झुकाव राख्ने अवस्थै छैन । कति सभासद त यस्तोपनि देखियो कि प्रष्ट उच्चारण गरेर भाषणसम्म राम्ररी गर्न नसक्ने देखियो । त्यतिमात्र होइन बनेका प्रत्येक मन्त्रालयका मन्त्रीहरुसमेत सम्बन्धि मन्त्रालयका जानिफकारहरुलाइ मन्त्री बनाएको छ । न ज्ञान न चेतना न बिबेक केहीपनि ज्ञान नभएका र शिक्षासमेत कम भएका मन्त्रीहरु बनाइए । यहाँ पार्टीको झोले र प्यानलको खेलले गर्दा राजनीतिको मियो राम्रो नेताहरुको पोल्टामा पर्न सकेन । अहिले राष्ट्रवादी पार्टीको शक्तिका नाममा जोजो जेजे गरिरहेका छन त्यो हिजोका राजनीतिक दलहरुप्रतिको विकर्षण हो । यसलाई दलहरुले स्वार्थको राजनीति गर्नुपर्छ । समय बलवान छ को कहाँ पुग्ने थाहा कसैलाई हुन्न त्यो त शीर्ष नेताहरुनै चुनाव हारेको विरासत छ, यसकुरालाई मनन गर्नु जरुरी छ, दलहरुले । आफ्नो चेतना, सङघर्ष र बलिदानकै माझबाट आज जनता “प्रजातन्त्र“ सम्म पुगेकै हुन । यसकुरालाई मनन सबै दलहरुले गर्नु जरुरी छ । यसमा सबैको हातेमालो हुन सकोस, प्रजातन्त्र दिवसको सबैमा शुभकामना ।

Author

You may also like