नेपालसँग जोडिएका दुई घटना यो हप्ता घटे । पहिलो भारतको उडिसा राज्यमा नेपाली विद्यार्थी अध्ययन गरिरहेको कलेजमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु भयो भने अर्को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको पैसालाई ठगीको संज्ञा दिए । यि दुवै घटनाहरुले नेपाललाई आत्मनिर्भरताको लागि ठूलो पाठ सिकायो । ट्रम्पको भाषणले नेपाल आफै आत्मनिर्भरताको बाटोमा लाग्नुपर्ने देखायो भने उडिसाको कलेजले गुणस्तरीय शैक्षिक संस्था नेपालभित्रै खोल्न शैक्षिक आन्दोलनको तयारी गर्नुपर्ने देखायो ।
पहिलो त नेपालमै शैक्षिक संस्थाहरु हुँदा हुँदै नेपाली विद्यार्थी बाहिरिनु दुःखद् छ । युरोपियन मुलुकमा गएका विद्यार्थीहरु रोजगारीसँग जोडिएर गएका हुन भने भारत, बंगलादेशमा गएका विद्यार्थी अध्ययनकै लागि गएका हुन । भारत र बंगलादेशमा जुन स्तरको पढाई हुने गरेको छ त्यो स्तरको पढाई नेपालमा हुन्छ नै । तर पनि बाहिरका कलेजको लोकप्रियताले ठूलो संख्यामा नेपाली विद्यार्थी बाहिरै जाने गरेका छन् । खास गरेर भारतको उडिसामा सञ्चालित ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी– केआइआइटीमा अध्ययनरत् छात्रा प्रकृति लम्सालको शंकास्पद निधन भए पछिका दूव्र्यहार र नेपालीमाथि गरिएका गलत हरकतले अब नेपालभित्रै गुणस्तरीय शैक्षिक आन्दोलन हुन जरुरी रहेको देखाएको छ ।
नेपाल र भारतकाबीच सामाजिक, सांस्कृतिक, शैक्षिक तथा पारवहनको विशेष निकटता छ । दुई शिक्षाका लागि भारतको बनारस शदियौंदेखि नै नेपाली विद्यार्थीहरुको गन्तव्य हुँदै आएको हो । धार्मिक तथा सांस्कृतिक समानताका कारण हाम्रा अग्रजहरुले धार्मिक विषयको अध्ययन गर्ने केन्द्रका रुपमा रहेको भारतका विभिन्न राज्यहरुमा रहेका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको संख्या हजारौं रहेको छ ।
नेपालमै गुणस्तरीय, भरपर्दो, प्राविधिक शिक्षाको उपलब्धता हुँदाहुँदै पनि भारत लगायत विश्वका विभिन्न देशहरुमा जाने नेपाली विद्यार्थीको संख्या अझै उच्च छ । भारतसँग सीमाना जोडिएका नेपाली भू–भागबाट प्राथमिक तहदेखि नै आफ्ना सन्तानलाई त्यहाँ पठाउने गरेका छन् । भारतसँगको विशेष सम्बन्धका कारण अन्य कुनै झन्झट नहुने हुँदा अघिकांशले भारतलाई शिक्षाको गन्तव्य बनाउने गरेका हुन् । नेपाली विद्यार्थीको आस्थाको पुञ्ज बनेका भारतीय शिक्षालयमा नेपाली विद्यार्थीमाथि दुव्र्यवहार हुनु सभ्य समाजका शोभनीय मानिँदैन । विद्यार्थीमाथि भएका गलत क्रियाकलापलाई रोक्न त्यहाँको सरकारको रहन पनि अनिवार्य देखिन्छ । लम्सालको मृत्यु प्रकरणमा त्यहाँको सरकारको क्रियाकलाप उदाहरणीय नै देखियो ।
यता अमेरिकी राष्ट्रपति ट्रम्पले युएसआईडी र एमसीसी मार्फत् नेपाललाई दिएको सहयोगलाई ‘फ्रड’ ठगी भएको बताएपछि नेपालमा हल्लिखल्ली मच्चिएको मात्र छैन । उनको त्यो भनाईले सो रकम नेपालमा कसरी खर्च भएको छ भनेर खोजीनीति पनि भईरहेको छ । सांसदहरुले अहिले चलिरहेको संघीय संसदका बैठकमा ती मुद्दाहरु उठाइरहेका छन् । अब नेपालले अर्काको मुख ताक्ने होइन । ऋण वा अनुदानमा भरपर्ने होइन । जे आफ्नै मुलुकको आम्दानीबाट गर्न सक्नुपर्दछ भन्ने मूलभूत पाठ ट्रम्पले दिएका छन् । ट्रम्पको राष्ट्रिय नीति जो ल्याए सोही नीति अनुसार राष्ट्र चल्नुपर्ने देखिन्छ । राष्ट्र र जनता भन्दा माथि कोही नहरने भएकाले त्यसैलाई सर्वोपरी ठानेर अबका दिनमा नेपालको काम गर्न विदेशीसँग ढुंग्रो थाप्ने संस्कारको अन्त्य गर्न पनि आवश्यक देखिन्छ । त्यसै पनि वैदेशिक ऋणको भार नेपाललाई धेरै भईसकेको अवस्थामा ट्रम्पको यो भनाईले निकै सजग र सर्तक रहन मद्दत पु¥याएको छ । आफ्नै उत्पादन गर, सक्छौं निर्यात गर सक्दैन नेपालभित्र चलायमान बनाएर जनताको स्तर माथि उठाउने गरिका राष्ट्र, राष्ट्रियताको भावना जोडिएका कामहरु गर भन्ने सन्देशले नेपालीलाई झक्झक्याएको छ ।
यसर्थ राज्य सञ्चालकहरुले विद्यार्थी किन पलायन हुँदैछन् ? आफ्ना शिक्षालय, प्रणाली र पाठ्यक्रममा भएका त्रुटिको पहिचान गरेर देशमै टिकाउने वातावरण बनाउनु पर्दछ । हाम्रा छोराछोरीले शिक्षाका लागि विदेशीको अपमान सहनु नपरोस् । र कर्मभूमि आफ्नै देशलाई बनाउन सक्ने वातावरण अब बनोस् ।