०४ असार, दमक । जलवायु परिवर्तनसँगै चट्याङ पर्ने क्रम बढेको छ । यस क्रममा कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सृजना गर्दै आएको छ ।
विसं २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति चट्याङबाट सृजना भएको कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जनाए । सो अवधिमा कोशी प्रदेशमा चट्याङका छ सय ९८ घटना भएका र त्यसमा दुई सय ५४ जनाको मृत्यु र पाँच सय ८७ जना घाइते भएको उनले बताए । प्रदेशभर एक दशकमा सात सय ५७ परिवार चट्याङबाट असरग्रस्त भएको तथ्यांक समेत जानकारी गराए । सो अवधिमा चट्याङबाट तीन करोड ९५ लाख ५८ हजार पाँच सय बराबरको भौतिक सम्पत्तिको क्षति भएको छ । खेतमा कृषिको काम गरिरहेका किसान चट्याङको सिकार बन्ने गरेका छन् ।
कोशी प्रदेशमा एक दशक अवधिमा मनसुनजन्य विपद्का दुई हजार ६० घटना भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ मा उल्लेख छ । यस अवधिमा मनसुनजन्य विपद्बाट पाँच सय ८३ मानिसको मृत्यु, एक सय २० बेपत्ता र सात सय ४९ जना घाइते भएका थिए भने १८ हजार सात सय २८ परिवारलाई असर पुर्याएको छ ।
मनसुनजन्य विपद्मध्ये बाढीका चार सय ६४ घटनामा एक सय ३२ जनाले ज्यान गुमाएका थिए भने ८२ बेपत्ता र २५ जना घाइते भएका थिए । पहिरोबाट सोही अवधिमा छ सय ७२ घटना भएका थिए । त्यसमा एक सय ९२ जनाले ज्यान गुमाउनु परेको थियो भने ३८ जना बेपत्ता र एक सय १९ जना घाइते भएका थिए ।
एक दशकको मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ । विपद् विज्ञ यशप्रसाद सुब्बाले विश्वको चट्याङ पर्ने मुख्य तीन ‘हटस्पट’मा नेपाल पनि पर्ने बताए । जलवायु परिवर्तन र भौगोलिक स्थितिका कारण नेपालमा चट्याङको प्रकोप हुने गरेको छ । सुब्बाले भने ‘प्रभावकारी अर्थिङको व्यवस्था नहुनु र सचेतनाको कमीका कारण चट्याङबाट बढी क्षति भइरहेको छ ।’ चट्याङ प्राकृतिक प्रकोप भए पनि यसबाट हुने क्षति न्यूनीकरणका उपायका बाबजुद मानवीय लापरबाहीले बढी क्षति हुने गरेको विज्ञहरू बताउँछन् ।
नेपालमा खेतमा काम गरिरहेका किसान चट्याङको निशानामा पर्ने गरेका छन् । मानिस र पशु चौपायाको बढी संख्यामा मृत्यु भइरहेको छ । चट्याङबाट विद्युतीय उपकरणमा समेत ठूलो आँकडामा हुने क्षति हुने गरेको छ ।
चैत, वैशाख र जेठ महिनामा चट्याङको भय बढी हुने गर्छ । मध्य वर्षायाममा भने चट्याङको भय अलि कम हुन्छ । चट्याङ एक किसिमको विद्युतीय चार्ज हो । जब विपरीत दिशाबाट बहेको बादल आपसमा जुध्न पुग्छ, त्यहाँ विद्युतीय झट्का पैदा हुन्छ । त्यसबाट आगोको मुस्लो निस्किन्छ । चट्याङ पर्दा विद्युतीय चार्ज ४० देखि ६० हजार माइलसम्म फैलिएको हुन्छ । वायुमण्डलमा एक किसिमको बादल हुन्छ, जसलाई मौसमी भाषामा ‘कुमोलो निम्बस’ भनिन्छ । कुमोलो निम्बस बादलबाट उत्पन्न हुने विद्युतीय डिस्चार्ज नै चट्याङ हो, जसको असर बेलाबखत धर्तीसम्म आइपुग्छ ।
जलवायु परिवर्तनले चट्याङ बढ्यो
बदलिंदो जलवायुसँगै चट्याङको प्रकोप बढ्दै गएकाले यसको जोखिम अझ बढ्दै जाने अवस्था हुन्छ । जलवायु परिवर्तनसँग चट्याङको सोझै सम्बन्ध छ । चट्याङ पर्न बादलमा विद्युतीय चार्ज उत्पन्न हुनुपर्छ । त्यस्तो विद्युतीय चार्ज उत्पन्न हुन पानीका कणबीचमा घर्षण चाहिन्छ, जुन घर्षणको प्रमुख कारक तत्व जमीनको तापक्रम हो । जलवायु विज्ञ ङमिन्द्र दाहाल भन्छन् ‘त्यसैले जति जमीन तात्दै गयो, उति बादलमा घर्षण भएर चट्याङको जोखिम बढ्छ ।’
सन् २०१४ मा प्रकाशित एक अध्ययनले १ डिग्री सेल्सियस तापक्रम बढ्दा १२ प्रतिशत चट्याङको जोखिम बढ्ने देखाएको थियो । यसको अर्थ, पृथ्वी तात्दै जाँदा आगामी वर्षहरूमा चट्याङको जोखिम थप बढ्दै जान्छ ।
नेपालको कुन भेगमा बढी चट्याङ पर्छ ?
नेपालको पूर्वी र मध्यपहाडी भूभागमा बढी चटयाङ पर्छ । अहिलेसम्मको अध्ययनले चट्याङको प्रभाव चुरे क्षेत्रमा बढी देखिएको छ । बंगालको खाडी नजिक रहेका नेपाली भूगागमा बढी चट्याङ परेको देखिन्छ । चुरेको पूर्वदेखि पश्चिमसम्म नै मानवीय क्षति पनि धेरै हुने गरेको छ । मकवानपुर जिल्लामा चट्याङको जोखिम उच्च देखिएको छ । यद्यपि बारम्बार चट्याङ पर्ने जिल्ला भने झापा र मोरङ हुन् ।
कसरी बच्ने ?
चट्याङ पर्नु भन्दा अघि कालो बादल मडारिने, हावाहुरी चल्ने, अघिपछिको मौसम भन्दा बेग्लै मौसम हुने गर्छ यस्तो बेलामा सकेसम्म घरभित्रै बस्नुपर्छ । खेतबारीमा काम गर्दै वा जंगलमा घाँस दाउरा गर्न जानुभएको छ भने रुखमुनि ओत लाग्नु हँुदैन । बिजुलीको पोल र टावरको मुनि पनि बस्नु हुँदैन । किनकि त्यसमा सजिलैसँग चट्याङ पर्ने सम्भावना हुन्छ ।
चट्याङमा हुने विद्युतीय ऊर्जा अग्लो ठाँउ तथा चिसोमा आकर्षित हुने भएकाले खुल्ला जमिनमा निहुरिएर बस्नुपर्छ । विद्युतीय उपकरण जस्तै टेलिभिजन, तार भएका फोन लगायतका उपकरणलाई चलाउनु हुँदैन । विद्युतीय उपकरणको मेन स्वीच बन्द गर्नुपर्ने विज्ञ दाहालले जनाए ।