दमक/ नेपाल प्रहरीले झापामा विशेष सुरक्षा योजना अनुसार निगरानी बढाएको छ । तिहारलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउन नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका वेला हुन सक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, पटका तथा आतिसबाजीको प्रयोग, मदिरा सेवनपछि हुने होहल्ला र अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा निगरानी बढाएको हो ।
प्रहरीले तिहारमा पटका नपड्काउन, आतिसबाजी नगर्न र जुवातास तथा सट्टेबाजीमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्तै, देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मात्रै सञ्चालन गर्न र सार्वजनिक शान्ति खलल पुग्ने गतिविधि नगर्न पनि अनुरोध गरेको छ ।
नेपालीको महत्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेसँगै झापामा पनि प्रहरीले विशेष सुरक्षा अन्तरगत निगरानी बढाएको हो ।
चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । यो योजना देशभरका जिल्ला प्रहरी कार्यालय मार्फत कार्यान्वयन गरिने भएको छ ।
जसअन्तरगत झापामा पनि विशेष सुरक्षा योजना अघि बढाइने झापा जिल्ला प्रहरी कार्यालयका प्रबक्ता सुवास बुढाथोकीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ । सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा विशेष निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ ।
तिहारका समयमा बालिने दियो, बत्ती तथा पटाकाबाट हुनसक्ने आगलागी र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राख्न दमक नगरपालिका र सम्बन्धित सरोकारवाला सामाजिक संघसंस्थासंस्थालाई आग्रह गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
कार्यालयका अनुसार देउसी–भैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ । त्यस्तै, पटकालगायतका प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका, भन्सार क्षेत्र र बजारमा विशेष ‘चेकिङ’ टोली परिचालन गरिएको छ ।
प्रहरीको केन्द्रीय कार्यालयले पटका नपड्काउन, जुवातास तथा सट्टेबाजी नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन स्थानीय रेडियो, पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत सचेतनामूलक सूचना प्रवाह गरिरहेको छ । जुवातास तथा अन्य अवाञ्छित गतिविधि हुनसक्ने सम्भावित क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गर्न निर्देश गरिएअनुसार नै जिल्लामा पनि सोही अनुसार सक्रियता बढाइएको बताइएको छ ।
चाडपर्वका अवसरमा आयोजना हुने ¥याली, जुलुस तथा शोभायात्राका क्रममा दुई समुदायबीच हुनसक्ने विवाद र झडप न्यूनीकरण गर्न सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ भने राति अबेरसम्म चर्को आवाजमा डिजे तथा साउण्ड सिस्टम बजाउने, पटका पड्काउने र आतिशबाजी गर्ने गतिविधिबाट वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई पर्नसक्ने असरलाई ध्यानमा राखेर निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेला तथा सार्वजनिकस्थलमा प्लास्टिक, फूलमाला र पूजा सामग्रीको अव्यवस्थित विसर्जनबाट हुने जल तथा स्थल प्रदूषण रोक्न सम्बन्धित पक्षसँग समन्वय गरी सचेतना फैलाउने काम भइरहेको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय झापाले समेत कानुनले निषेध गरेका प्लास्टिकजन्य फूल तथा गैरकानुनी रूपमा भित्र्याइएका विदेशी फूलको आयात, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।
तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व भएकाले यसलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीले सबैमा आग्रह गरेको छ । पटका तथा आतिशबाजीको प्रयोगबाट आगलागी, मानवीय चोटपटक, अंगभंग हुनसक्ने, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको देखेमा प्रहरीको हटलाइन १०० मा जानकारी गराउनसमेत अनुरोध गरिएको छ । कुनै स्थानमा आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न तथा घाइतेको शीघ्र उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गर्न प्रहरीले आग्रह गरेको छ ।