देश–समाज राष्ट्रिय समाचार स्थानीय

कांग्रेसमा महामन्त्रीतर्फ प्रदीप पौडेलको फराकिलो जित, उपसभापतिमा भण्डारी सर्वाधिक मतसहित विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति र महामन्त्रीका पदमा नयाँ नेतृत्व चयन भएको छ। उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी सर्वाधिक मतसहित विजयी हुँदा महामन्त्री खुलातर्फ प्रदीप पौडेलले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन् भने समावेशी उपसभापतिमा विनोदकुमार चौधरी विजयी भएका छन्।

महामन्त्री खुलातर्फ पौडेलले ४ हजार १९४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धीमध्ये उदयशमशेर राणाले २ हजार ३३० र डा. सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गरेका छन्। राणा दोस्रो स्थानमा रहँदै निर्वाचित भएका छन्।

उपसभापति खुलातर्फ भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। सोही पदमा मधु आचार्य २ हजार ३४२ मतसहित विजयी भएका छन्।

उपसभापति खुलातर्फ भण्डारीको अग्रता

उपसभापति खुलातर्फ गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।

समावेशी उपसभापतिमा चौधरी निर्वाचित

उपसभापति समावेशीतर्फ विनोदकुमार चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाएका छन्।

यस पदमा फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीमा संग्रौलाको जित

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाएकी छन्।

महामन्त्रीमा अन्य उम्मेदवारको मत

महामन्त्री खुलातर्फ गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।

मतगणनाको अन्तिम परिणामसँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको नेतृत्व चयन प्रक्रिया टुंगिएको छ।

Author

You may also like