देश–समाज विचार/वहस स्थानीय

अर्जुन–दृष्टि र दाहालको पत्रकारिता

:— युवराज नयाँघरे—:
दमक । पत्रकारसँग सशरीर नभेटे पनि पत्रिका भेटेको पहिलो चोटि हो– जनज्योति ।
दमकबाट प्रकाशित हुने यो पत्रिकामा नै म पहिलो पटक कविता छापिएर यो क्षेत्रमा लम्किन थालेको हुँ ।
आज त्यही प्रकाशन ज्योति साप्ताहिक ४४ वर्षमा कुदिरहेको छ भने त्यसपछि सुरु गरिएको पूर्वसन्देश दैनिकको आज २१ औं वार्षिकोत्सव मनाइँदैछ । दुवै पत्रिकाको सम्पादक गञ्जबहादुर दाहालको पत्रकारिता यात्रा भने ५० पुगेको छ ।
एउटा मानिसको, एउटा संस्थाको, एउटा कार्यालयको, एउटा प्रकाशक, सम्पादकको ५० वर्षको समय सामान्य कुरो होइन ।
गन्जबहादुर दाहाल सुदुर पूर्वका प्रतिबद्ध, समर्पित तथा कर्तव्यनिष्ट संचारकर्मी हुन् ।
एक अर्थमा पूर्वका उनी गोरखापत्र हुन् । दाहालको पत्रकारिता अर्जुन–दृष्टि शैलीबाट अभिप्रेरित भएको देखिन्छ ।
मुलुकमा अनेकौँ राजनैतिक परिवर्तन भए । ती सबै रुपान्तरणमा उनले सचेत, सावधान र सूचनात्मक कार्य मात्रै गरेको भान हुन्छ । दाहालले उत्ताउलो, उत्तेजनात्मक पत्रकारिता गरेको कत्ति नि छनक पाइन्न। समाजलाई सही, सत्य सूचनाबाट सचेत पारिरहने उनको योगदान आफैँमा विशेष, उल्लेखनीय र तारिफलाग्दो अनुभूत हुन्छ ।
पत्रकारिता सहज, सरल र सरस काम होइन ।
एकातिर व्यवस्थापनको जिम्मा, समाचार स्रोतको संयोजन, वितरण प्रणालीको तारतम्य, प्रकाशनको व्यवस्था आदि अनेकौँ पक्षसँग जुझ्दै यात्रा गर्नु अत्यन्तै चुनौतीपूर्ण कार्य हो । यो चुनौतीलाई आत्मसात गर्दै निरन्तर सूचना, पाठ्यसामग्री र पाठकीय सम्बन्धमा लागिपर्ने गन्ज दाहाल सदा स्मरणीय छन् ।
समाजकै सेरोफेरोमा रहेर उनले धेरै लेखक, चिन्तक, विश्लेषक, विचारकलाई चौतारी प्रदान गरे । उनकै प्रकाशनको माध्यमले धेरै साधकहरुलाई आफ्ना प्रतिभा प्रस्फुटनमा मनग्गे योगदान पुगेको तथ्य घाम झैँ छर्लङ्ग छ ।
समाज निर्माणका लागि पत्रकारिताले सधैँ प्रतिपक्षीको भूमिका निर्वाह गर्छ । सुक्ष्म रुपमा घटना, परिस्थिति र सन्दर्भलाई शल्यक्रिया गर्नु एक जिम्मेवार पत्रकारको कर्म हो । यो साहसिक, समर्पित र सचेत कर्ममा दाहालले निरन्तर लागिपरेको कुरा सगौरव उच्चारण गर्न मन लाग्छ ।
पूर्व सन्देश तथा जनज्योति प्रकाशनमा २०३२ सालदेखिको संलग्नता आफैँमा ऐतिहासिक उपलब्धि हो । ५० वर्षको लगनशीलता, लगाव र लगानीले एउटा निष्टा, साधना र प्रतिबद्धताको नाउँ बनेको छ वरिष्ठ पत्रकार दाहालको । यो परिचयले कर्मशिलता, कर्तव्यपरायणता र कर्मठपनाको संकेत पाइन्छ  । यो विशेषण सम्बोधनका लागि दाहाल उपयुक्त पात्र बनेको बताउन पाउँदा गर्व लाग्छ, गौरव लाग्छ। समाजमा अँध्यारो मात्रै छैन, उज्यालोका लागि कटिबद्ध चिन्तकले पनि कर्म गरिरहेका छन् । यो क्रममा पत्रकार दाहालको पनि एक ऊर्जापूर्ण उपस्थिति छ भन्न पाउँदा श्रद्धा र सम्मान लाग्छ ।
पचास बर्से तन्नेरी जोस, जाँगर, जोबनको प्रशंसा गर्दछु । नथाकून् पाइला, नगलून् योजना, नअलमलिऊन् लक्ष्य । शुभेच्छा छ धेरै–धेरै ! (मदन पुरस्कार विजेता– २०६५)

Author

You may also like