विमल लामिछाने,
दमक, २० चैत । नेपाल प्याजमा पूर्णरुपमा भारतीय उत्पादनमा निर्भर छ । प्याज व्यवसायीहरूका अनुसार नेपालमा वार्षिक रुपमा खपत हुने प्याजको ९५ प्रतिशतभन्दा धेरै भारतबाट आउँछ ।
नेपालमा प्याजको उत्पादन नगन्य रुपमा भइरहेको भएपनि त्यसले बजार धान्न सक्दैन । चालू आर्थिक वर्षको बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयबाट यस अघिदेखि नै बढेको प्याजको मूल्य अझै घट्न नसकेको व्यवसायीहरु बताउँछन् ।
दैनिक उपभोग्य तरकारी र मसलामा पनि आत्मनिर्भर हुन नसक्दा छिमेकी मुलुक भारतको भर पर्नु परेको छ । पूर्वको मेची भन्सार नाका भएर झापाको दमक भित्र्याइएको प्याज दैनिक १४ हजार केजी खपत हुने गरेको दमक सब्जी मण्डीका होलसेल व्यवसायी तथा पशुपति टे«ेडिङ कन्सर्नका प्रोपाइटर सन्तोष शाहले बताए । उनले अहिलेपनि उपभोक्तालाई आलु र प्याजमा राजश्व तिर्नुपर्छ अर्थात कर लाग्छ भन्नेकुरा थाहै नभएको बताए । उनले मेची भन्सार भएर दमकमा मात्रै हप्तामा सय टन बढी प्याज आउने गरेको जानकारी दिए । उनले भने ‘चाडबाडको बेला केही बढी आएपनि औसतमा यही हाराहारीमा भारतबाट प्याज आउने गरेको छ ।’ दमक आइपुगेको प्याज झापाका पश्चिमी बजारहरु दमकसहित गौरादह, गौरीगञ्ज, हुँदै मोरङको उर्लाबारीमा बिक्री हुने गरेको उनले बताए । उनका अनुसार दमकमा अहिले ३७ रुपैयाँ ३५ पैसा प्रतिकेजी होलसेल मूल्यमा र ५५ रुपैयाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ ।
दमक सब्जी मण्डीका होलसेल ब्यापारी रञ्जित शाहले सरकारले कर बढाएपछि त्यसको भार उभोक्तालाई परेको बताए । उनले भने–‘ सरकारले भ्याट र कर बढाउँछ, त्यो हामीले खरिद मूल्यमा जोडेर खुद्रा व्यापारीलाई बिक्री गर्छौ, उपभोक्ताले त्यो मूल्यमा खरिद गर्नुपर्छ ।’ अर्का थोक व्यापारी रविन्द्र चौधरीले व्यवसायीलाई सरकारले प्राथमिकतामा राख्न नसक्दा विभिन्न नाममा हुने गरेको कर र भ्याट सहित सुरक्षा निकायको चेकजाँचमा समेत पटके रुपमा तिर्नुपरेको बताए । उनले भने – ‘जुनसुकै नाममा तिरिएको कर र भ्याटको कारणले बढेको मूल्य उपभोक्ताकै टाउकोमा पुग्छ । उनले पछिल्लो समय बैंकिङ तरलताका कारण व्यवसाय डुबानमा परेको बताए ।
अर्का थोक व्यापारी जीवन शाहले कोरोना कालपछि भएको बैंकिङ तरलताले ४० प्रतिशत व्यापार घटेको बताए । उनले कोरोनाकाल अघि जुन अवस्थामा व्यापार हुन्थ्यो त्यो घटेर गएको भन्दै दिनदिनै व्यापारमा समस्या हुन थालेको बताए । उनले भने– ‘आलु प्याजमात्र होइन, सब्जीका हरेक आइटममा व्यापार मन्दी छ । मान्छेसँग पैसा नै छैन, कसरी दैनिकी चलाउने भन्ने योजना अनुसार मान्छले किनमेल गर्छ ।’ बढ्दो भन्सार कर घटाउन सके उपभोक्ता मारमा पर्ने थिएनन्, तर उपभोक्ताले विरोध नजनाएसम्म सरकारको सुनुवाई नहुने व्यवसायीहरुको तर्क छ ।
२० वर्षदेखि आलु र प्याजको व्यापार गर्दै आएका राम सकल बढ्दो करसँगै समय समयमा हुने गरेका बन्द र हड्तालले व्यवसायी मारमा परेको बताउँछन् । उनले भने– ‘अलि लामो समय बजार बन्द भयो भने ताजा सामान पनि कुहिएर खेर जाने भएकाले सब्जीको व्यापारमा जोखिम बढी हुन्छ ।’ नयाँ सामान भर्न थप लगानी गनुपर्ने उनको भनाई छ ।
नेपाल आलु प्याज संघका अध्यक्ष मोहन बानियाँ भारतको एकाधिकार र नेपाल सरकारको फितलोपनाले नेपाली बजारमा प्याज र मसला तथा तरकारीजन्य बस्तुको मूल्य वृद्धि भएकाले उपभोक्ता मारमा परेको बताउँछन् । उनले सरकारको पछिल्लो कदमबाट नेपालमा प्याज मूल्य कम्तीमा पनि ४० प्रतिशतले नै बढेको बताए ।
प्याज किन्न बजार पुगेकी सम्झना राई दमक बजारमा प्याजको मुल्यमा एकरुपता नभएको बताउँछिन् । उनले बजारमा पसल पसलमा फरक मुल्य हुने गरेको र दिनदिनै मुल्य बढ्ने गरेकाले उपभोक्ता मारमा परेको बताइन् । उपभोक्ता कृष्ण खड्का पनि विगत वर्षहरुमा भन्दा आलु र प्याजको मूल्य सिजनमा पनि यो वर्ष बढी मूल्य तिरेर खरिद गर्नुपरेको गुनासो गर्छन् ।
मेची भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९÷८० मा भारतबाट ६ अर्ब ८६ करोड रुपैयाँको प्याज आयात भएको थियो । भारतबाट ताजा, सुकाइएको र बिउ गरी तीन प्रकारमा प्याज आयात हुने गरेको तथ्यांक छ । जसमा ताजा प्याजका रुपमा ६ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, सुकेको प्याज ११ करोड रुपैयाँको आयात भएको छ भने २३ लाख रुपैयाँ बराबरको बीउ आयात भएको मेची भन्सार कार्यालयका प्रमुख अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । नेपालको माग धान्न भारतबाट वार्षिक २० करोड किलोग्राम आसपास प्याज आयात हुने गरेको छ । नेपाल र भारतबीच १८ किलोमिटरभन्दा लामो खुला सिमाना छ । सोहीकारण, भारतीय बजारबाट खुला सिमानाको दुरुपयोग गर्दै लुकिछिपी पनि नेपालमा प्याज तथा तरकारी भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ ।