गुजरातको विकास मोडलको राजनीतिक मार्ग चित्र पछ्याउँदै भारतको राष्ट्रिय राजनीतिमा पदार्पण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले विकास, सुशासन, गरिबी निवारण, सामाजिक न्याय सहितका कानुनी राज्यका लक्ष्यहरुलाई पार गर्दै आफ्नो दोस्रो कार्यकाल पुरा गरेका छन् र तेस्रो कार्यकालका लागि यहि २०२४ को अप्रिलदेखि जून महिना भित्रै सम्पन्न हुने लोकसभाका ५४३ सिटका लागि दलीय प्रतिस्पर्धाका आधारमा चुनावी मैदानमा और्लिने घोषणा गरेका छन् ।
अहिले भारतीय राजनीतिमा हिमालयदेखि कन्याकुमारीसम्म तथा केरलादेखि कस्मिरसम्म नरेन्द्र मोदी अविजित र अपराजेय राजनीतिक शक्तिको रुपमा सर्वत्र चर्चाको विषय बनेका छन् । धर्म, अध्यात्म, संस्कृति, संस्कार, नीति, नैतिकता, सदाचार, त्याग, तपस्या, जप, ध्यान, समाधि, योग लगायतका कुरादेखि लिएर सनातन हिन्दू धर्मको प्रतिष्ठा र सम्मान तथा मनोबललाई उच्च बनाउँदै भारतलाई आर्थिक रुपले सम्पन्न तथा विकसित बनाउने अठोट र परिकल्पनाकासाथ संसदीय लोकतन्त्रका परम्पराहरु तथा पवित्रताहरुलाई संरक्षण गर्दै भारतको गौरव र आत्मसम्मानलाई स्थापित गर्ने संकल्पका साथ चुनावमा होमिनु भएका नरेन्द्र मोदी वास्तवमा जनताको पहिलो छनोट, प्राथमिकता र रोजाईमा परेका छन् ।
भारतको लोकतान्त्रिक अभ्यास भारतको स्वतन्त्रता संग्रामको आन्दोलनसंगै परिस्कृत हुंदै आएको राजनीतिक प्रणाली हो । ब्रिटिस सरकार विरुद्ध प्रारम्भ भएको अहिंसात्मक आन्दोलनको सुत्रपात महात्मा गान्धीको सविनय अवज्ञा आन्दोलन, जालिया बाग आन्दोलन, डान्डी मार्च आन्दोलन, विदेशी कपडा बहिस्कार आन्दोलन, स्वदेशी आन्दोलन, खादी आन्दोलन हुंदै गोलमेच सम्मेलनसम्म पुग्दै अन्तिम समयमा ‘अंग्रेज भारत छोड’ आन्दोलनको निर्णायक विन्दुसम्म पुग्दा भारतीय स्वतन्त्रता संग्रामका महानायक मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी ) ले भगवान रामको रामराज्यको आदर्शबाट सर्वोदय अर्थात समाजवाद र भगवान बुद्धको शान्ति र अहिंसाको सन्देशबाट अहिंसक आन्दोलनको नेतृत्व गर्नु भएको थियो । महात्मा गान्धीको जीवनको अन्तिम समयमा जब उनले नाथुराम गोड्सेले हानेको गोली लागेर ढल्न लागे, तब उनको मुखबाट ‘हे राम’ भन्ने शब्द निस्केको थियो । भारतीय संस्कृतिमा राम अयोध्याका राजाका रुपमा, सनातन हिन्दूहरुको पूर्वजको रुपमा, मर्यादा पुरुषोत्तम भगवानको रुपमा, धर्म सत्य र न्यायको संरक्षकको रुपमा तथा आसुरी शक्तिको विनाश गराउँदै ब्राम्ह्ण, गौ वंश, देविदेवता तथा साधुसन्त र सज्जनहरुको संरक्षक र उद्धार कर्ता परब्रम्ह परमेश्वरको रुपमा सम्पूज्य छन् । भारतीय राजनीतिमा धर्म र संस्कृति कुनै न कुनै रुपमा राजधर्मको मुख्य धारामा सामेल रहेको हुनाले नै भारतको संविधानमा भगवान रामले लंका विजय गरी पुष्पक विमान चढेर आउँदै गर्दाको चित्र अंकित छ, जसको अर्थ सनातन हिन्दू धर्म र संस्कृति नै भारतीय संस्कृतिको मुख्य केन्द्रबिन्दू हो र यही संविधानको छत्र छायाँमा लोकतान्त्रिक अभ्यासहरुको माध्यमबाट जनतालाई आत्मनिर्भर र देशलाई समुन्नत तथा विकसित बनाउने लक्ष्यमा भारत अनन्तकालसम्म अगाडि बढ्दै जाने लक्ष्य निर्धारण गरिएको छ ।
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू पाश्चात्य संस्कतिको शिक्षा ग्रहण गरेको हुनाले पाश्चात्य संस्कृतिका पक्षपाती थिए । उनले लगाउने कपडासमेत लण्डन र पेरिसबाट धुलाएर ल्याइन्थ्यो । उनीमाथि वेस्टन कल्चरको क्रेज अत्यन्त बढी भएको हुनाले भारतमा राष्ट्र भाषा हिन्दी कै समकक्षमा अंग्रेजी भाषालाई पनि राष्ट्र भाषाको मान्यता दिइएको थियो । जवाहरलाल नेहरुले चीनसंग पञ्चशील शान्ति सम्झौता गरेर मित्रता गाँसेका थिए । तर पनि चीनले सन् १९६२ मा भारतमाथि आक्रमण गरेर भारतको ठूलो भूभागलाई आफ्नो नियन्त्रणमा लिएको छ । त्यस भूमिलाई अहिलेसम्म पनि भारतले फर्काउन सकेको छैन । जवाहरलाल नेहरुकै पालामा चीनले भारतद्वारा संरक्षित तिब्बतलाई जबरदस्ती अधिकार गरि त्यहाँका राजा र बुद्ध धर्मका सर्वस्रेठ धर्म गूरु दलाई लामालाई त्यहाँबाट लखेटेर भारत धपाउने कार्य गर्यो । आजसम्म पनि तिब्बती धर्मगुरु दलाई लामा भारतमा निर्वासित भएर शरणार्थी जीवन बाँचिरहेका छन् । जवाहरलाल नेहरुले तिब्बतको स्वाधिनताकालागि आवाज उठाउन सकेको भए र तिब्बतको प्रतिरक्षा गरेको भए विश्वभरिका लामाहरुको राष्ट्र तिब्बत आजपनि सुरक्षित रहने थियो । जवाहरलाल नेहरुले भारतमा लामो समयसम्म शासन गर्दा पनि न त चीनले कब्जा गरेको भूभाग फिर्ता ल्याउन सके, न त तिब्बतीहरुको स्वतन्त्रतालाई जोगाउन सके । जसको दोष कुनै न कुनै रुपमा जवाहरलाल नेहरु र भारतीय राष्ट्रिय कांग्रेसलाई दिने गरिएको छ । त्यस्तै ब्रिटिसहरुकै उपनिवेशको रुपमा रहेको राज्य कश्मिरको विलय भारतमा भएपनि भारतले पुरै कश्मिरलाई भारतको अंग बनाउन सकेन ।
भारतको लोकतन्त्रलाई परिवर्तित विश्व राजनीतिको परिप्रेक्षमा बहुआयामिक रुपमा आत्म समीक्षा गरेर विगतका गल्तिहरुलाई सच्याउन भारतीय प्रधानमन्त्री कम्मर कसेर लागेका छन् । उनले आफ्ना विगत दश वर्षको कार्यकालमा हाँसिल गरेका उपलब्धीहरुलाई विकसीत भारतको आधारशीलाको रुपमा लिएका छन् । भारतमा विगतका सरकारहरुले फैलाएको कुशासन, भ्रष्टाचार, भाई–भतिजावाद, नातागोतावाद, परिवारवाद, आतंकवाद, तुष्टिकरण नीति लगायतका लोकतन्त्र विरोधी गतिविधिहरुलाई इन्दिरा गान्धीदेखि राजिव गान्धीसम्मका सरकारले निरन्तरता दिएर भारतलाई एउटा कमजोर राष्ट्र बनाउन खोजेको आरोप लगाई रहँदा त्यसको प्रतिउत्तरमा कांग्रेस पार्टीसंग जवाफ दिने कुनै नयाँ शब्द नै छैन । मोदीले आफ्नो पहिलो कार्यकालदेखि नै सून्य सहनशीलताको नीति अंगाल्दा धेरै हदसम्म भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सफलता पाइरहेको अवस्था छ । भाजपा विरोधी सरकार भएको प्रान्तहरुमा भ्रष्टाचारका ठूलाठला मुद्दाहरु उजागर हुँदा जनता छक्क परेका छन् । आम आद्मी पार्टीका प्रमुख र दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवाल हिरासतमा परेका छन् । झारखण्ड प्रान्तका मुख्य मन्त्री हेमन्त सोरेन समेत हिरासतमा बसेर अदालती प्रकृया बेहोर्दै छन् । मोदीले लोकतान्त्रिक प्रणालीमा परिवारवादले देशलाई ठूलो नोक्सानी पुर्याउन सक्दछ भनेर आफ्नै परिवारभित्र कुर्सी र सत्ताका दावेदारहरु जन्माउने गरी गरिने प्रतिपक्षी दलहरुले गरेको प्रयासलाई पर्दाफास गरिरहेका छन् । सोनिया गान्धीको एक मात्र राजनीतिक लक्ष्य आफ्ना छोरा छोरीलाई प्रधानमन्त्री पदमा पुर्याउनु, लालु यादवले आफ्ना छोरा, छोरीलाई मुख्यमन्त्री पदमा पुर्याउनु, ममता बेनर्जीले आफ्नो भतिजलाई मुख्यमन्त्री बनाउन लाग्नु, सरद पवारले आफ्ना छोरीलाई मुख्यमन्त्री बनाउने, अखिलेश यादवले आफ्नो परिवारलाई नै अगाडि बढाउने लागायतका लोकतन्त्र विरोधि राजनीतिक प्रपञ्चहरुलाई निरन्तरता दिइरहँदा देश उँभो लाग्न सक्दैन भनेर मोदीले जनतालाई आस्वस्त गराइरहेका छन् । बिहारका पूर्व मुख्यमन्त्री लालु यादवले आफू २० वर्षसम्म मुख्यमन्त्रीको कुर्सीमा बसेपछि भ्रष्टाचारमा मुछिदा आफ्नै श्रीमती रावरीदेवीलाई मुख्यमन्त्री पदमा आरुढ गराइका थिए । त्यसपछि आफ्नै छोरो तेजस्वीप्रसाद यादवलाई उपमुख्य मन्त्री बनाउन लगाएका थिए । अझै पनि आफ्नो छोरोलाई मुख्यमन्त्री पदमा देख्नु नै उनको जीवनको सपना रहेको छ भनेर जनताका मुद्दा र सवालहरुमा प्रतिपक्षमाथी विश्वास गर्न नसकिने प्रशस्त ठाउँहरु रहेको कुरालाई औँल्याउन सकिन्छ । अब लोकतन्त्रलाई आफ्नो निजी स्वार्थपूर्तिको साधन बनाएर देश अगाडि बढ्न सक्दैन भनेर भारतीय जनतालाई विश्वास लाग्न थालेको छ , जसको परिणाम स्वरूप मोदीको पक्षमा राम लहर चल्नु संगसंगै जनलहर पनि प्रारम्भ भइसकेको छ ।
आज भारतका प्रतिपक्षी पार्टीहरुले भारतीय जनता पार्टीको सरकारलाई तानाशाह बनेको आरोप लगाइरहँदा पनि भारतीय मतदाता वर्गमा सही र गलत छुट्याउने आधारहरु बलियो बन्दै गइरहेका छन् । आज मोदीको प्रभावले विश्वमा नै भारतको विदेश नीति सफल बन्दै गइरहेको छ, खास गरेर युद्धमा होमिएका देशहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शान्ति दूतको रुपमा हेर्न थालेका छन् । भारतको आर्थिक नीति दिन प्रतिदिन सुधारोन्मुख अवस्थामा छ । नरेन्द्र मोदीले भारतमा तीव्र आर्थिक विकासको नीतिलाई अगाडि बढाउँदै भारतलाई विश्वको ठूलो पाँचौँ अर्थव्यवस्थाबाट सुधार गर्दै भारतलाई विश्वको तेस्रो आर्थिक महाशक्ति बनाउने कुरालाई जोडतोडसँग उठाइरहँदा मोदी विरोधी प्रतिपक्षी पार्टीहरू दिन प्रतिदिन कमजोर बन्दै जाने अवस्था सृजना भइरहेको देखिन्छ । यस्तो अवस्थामा सत्ता पक्षले आफ्ना नीतिहरुमा समयसापेक्ष रुपमा सुधार र परिवर्तन गर्दै जानु जति सान्दर्भिक हुन्छ । त्यस भन्दा बढी मात्रामा प्रतिपक्षले पनि आफ्नो रणनीतिमा सकारात्मक परिवर्तन गर्दै नकारात्मक विचारहरुलाई पन्छाउँदै देशको जिम्मेवारी लिन तत्पर रहनु पर्दछ । ‘मात्र विरोधकालागि विरोध’ गरिरहने हो भने देशले हासिल गर्न लागेको उपलब्धि पनि लक्ष्यविहीन बन्दै जाने अवस्था सृजना हुन सक्छ । तसर्थ, भारतको १८ औँ लोकासभा निर्वाचनले आफ्नो गुमेको समृद्धिलाई पुनः हासिल गर्न नैतिकवान् र इमान्दार जनप्रतिनिधिहरुको टिम तयार गरी निर्वाचनमा जानु विश्वकैलागि पनि अनुकरणीय उदाहरण बन्न सक्दछ ।