देश–समाज राजनीति राष्ट्रिय समाचार स्थानीय

एमालेमा नेतृत्व संकट र संगठनिक पुनर्संरचनाको प्रश्न

दमक । नेकपा एमाले नेपालको वाम राजनीतिमा स्थापित पार्टी भए पनि पछिल्ला घटनाक्रमहरूले पार्टीभित्र गम्भीर वैचारिक र नेतृत्वगत संकट उजागर गरेको छ । ललितपुरमा बुधबारदेखि जारी दशौँ केन्द्रीय कमिटी बैठकले यो संकटको सतह झनै स्पष्ट पारेको छ । बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गरी नयाँ नेतृत्वलाई मार्ग प्रशस्त गर्न माग गरेपछि एमालेभित्रको असन्तुष्टि औपचारिक रूपमा सतहमा आएको छ ।
अध्यक्ष ओलीको दीर्घकालीन नेतृत्व र एकाधिकारवादी शैलीबारे असन्तुष्ट धाराहरू एमालेभित्र लामो समयदेखि पलाउँदै आएपनि नेतृत्वको सवालमा अध्यक्ष ओली पक्षधर हावी भएका कारण फरक मत राख्नेहरु किनारा लाग्दै आएको तितो इतिहास छ ।
पछिल्लो समय जेन–जी आन्दोलनपश्चात देशको राजनीतिक वातावरण परिवर्तन भएको सन्दर्भमा नेताहरूले ओलीको नेतृत्वले नयाँ पुस्ता र परिवर्तनको भावना सम्बोधन गर्न असमर्थ भएको तर्क गरेका छन् । विहिवारको बैठकमा रचना खड्का, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरी, मीना गुरुङ लगायत नेताहरूले ओलीको राजीनामाको माग खुलेरै राखे । उनीहरूले ‘पार्टी व्यक्तिकेन्द्रित होइन, सिद्धान्त केन्द्रित हुनुपर्छ’ भन्ने सन्देश जान नसके अब पार्टी बन्न नसक्ने तर्क पेस गरेका छन् ।
रचना खड्काले त स्पष्ट रूपमा भनिन्, एकपटक नेतृत्वमा पुगेपछि बाँचुञ्जेल अध्यक्ष रहने प्रवृत्तिले संगठनको जनाधार कमजोर बनाएको छ । सञ्याउने सुवर्ण अवसर यही हो । अब पनि सञ्चिन नसके पार्टी आफै सकिन्छ । पार्टी बचाउने दायित्व हाम्रो हो । यो अभिव्यक्तिले एमालेभित्र अब स्थायित्वभन्दा परिवर्तनको माग प्रबल बन्दै गएको टिप्पणी स्थानीय स्तरका समितिहरुमा पनि हुन थालेको छ ।
अध्यक्ष ओलीले भने बैठकमा प्रस्तुत गरेको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा आफूले नेतृत्व छोड्ने कुनै मनसाय नरहेको, बरु आगामी महाधिवेशनमा पुनः उम्मेदवार बन्ने संकेत दिएका छन् । यो अडानले असन्तुष्ट धारालाई अझ कठोर बनाएको छ । ओलीले विगतका विभाजनहरूलाई सम्झाउँदै एमालेलाई पुनः एक ढिक्का बनाउन आफू अपरिहार्य नेता भनेर प्रस्तुत गरे पनि पार्टीभित्र धेरैले यसलाई हठबादी र सत्तालिप्साको निरन्तरता ठानेका छन् ।
देशको राजनीतिक अस्थिरतामा एमालेलाई एकजुट राख्ने एकमात्र व्यक्ति ओली नै हुन् भन्नेहरु पनि एमालेभित्र छन् । ओली नछाड्ने पक्षको तर्क यो रहँदै आएको छ । एमालेले आफ्नो विधानमा दुई कार्यकालको व्यवस्था र उमेर सीमा तोकेको व्यवस्था विगतमा हटाइएको थियो । अहिले त्यही प्रावधान पुनः ल्याउन नेताहरूको माग रहेको छ । यसले पार्टीभित्र ‘संविधानिक पुनर्संरचना’ को आवश्यकता औंल्याउँछ ।
रामलाल साह, कोइराला र अन्य नेताहरूले ओलीलाई ‘सम्मानपूर्वक बिदा लिनुपर्ने सुझाव दिँदा, त्यो आग्रह वैयक्तिक भन्दा पनि संस्थागत सुधारको आह्वानका रूपमा देखिएको स्थानीय स्तरका कार्यकर्ताहरुको बुझाई छ ।
भदौ २३ र २४ गतेको जेन(जी आन्दोलनले नेपाली राजनीतिक परिदृश्यमा नयाँ जनचेतना जन्माएको छ । भ्रष्टाचारविरुद्धको आक्रोश, सुशासनको माग र पुरानो नेतृत्वको प्रवृतिप्रति अस्वीकार गर्दै युवा पुस्ताले आन्दोलन चर्काएपछि नेपाली काँग्रेसको समर्थन पाएको ओली नेतृत्वको दुइतिहाइ बहुमतको सरकार ढलेको थियो ।
एमाले नेताहरूले यही आन्दोलनको असर बैठकमा
एमाले….पनि औंल्याको एक केन्द्रीय सदस्यले बताए । उनले भने, जेन–जी पुस्ताले पुराना शैलीका नेताहरूलाई अस्वीकार गरिसकेका छन्, अब पार्टीले पनि आत्मसमीक्षा गर्नैपर्छ ।
बैठकमा धेरै नेताहरूले ओलीले तत्काल राजीनामा दिई कुनै अन्य वरिष्ठ नेतालाई कार्यवाहक तोक्नुपर्ने र त्यसकै नेतृत्वमा महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्नुपर्ने प्रस्ताव राखेका छन् । यो मार्ग अवलम्बन गर्न सके एमालेभित्र नेतृत्व हस्तान्तरणको संस्कार सुरु हुन सक्छ । तर अध्यक्ष ओलीले अझै पनि नेतृत्वबाट नहट्ने अडानमा छन्, जसले पार्टीलाई दुई धारमा विभाजन गर्ने जोखिम बढाएको छ । विद्यादेवी भण्डारी लगायत केही वरिष्ठ नेताहरू पनि ओली–पश्चातको तयारीमा सक्रिय देखिन्छन् ।
एमालेको नेतृत्व संकट केवल ओलीको पदमा सीमित छैन । यो संस्थागत मूल्य, वैचारिक नवीकरण र राजनीतिक संस्कृतिको प्रश्न पनि हो । जेन–जी आन्दोलनले देखाएको नयाँ चेतनाले अब एमालेमात्र नभएर सबै पुराना दलहरूलाई ‘आत्मसमीक्षा’ को दिशामा धकेलेको छ ।

Author

You may also like