खोजेर शान्ति खोजौ कहाँ ?
चौघेरामा नेपाली राजनीति
कसलाई पत्याउ
यहाँ कालो कर्तुत बोक्नेहरुको हुल छ
कसलाई सुनाउ
मानव अधिकारका कुरा
यहाँ दिनदहाडै मान्छे मारिन्छ
लुटिन्छ, डकैती हुन्छ
बोल्ने को हो ?
केर्ने को हो ?
न पक्ष छ न विपक्ष छ
जसले जे गर्दा नि भो
लुटतन्त्र जगजगी छ
रुने रोइरहेका छन
हास्ने हासिरहेछन
भ्रष्टाचार गर्ने झुन्ड गरिरहेछन
बाकिनै के रहयो र ?
पूर्व मेचीदेखि पच्छिम महाकाली बेचिदा
कसले आवाज बुलन्द गर्यो ?
सीमा दिनदिनै भारतीयहरुले सारिरहदा
मौन छन, नेताहरू
“र“ का एजेन्टहरुको चलखेल छ
त्इद्य का नाममा बिदेशी हस्तक्षेप बढदो छ
जेन– जीका नाममा
हिजो नक्कलीहरु लुटपाट गर्दैथिए
त्रास बढदो छ , यहाँ
हिजो सत्तामा छउन्जेल
दानापानी , रसदपानी खानेहरु
सत्ता गुमेपछि ओडारमा बसेर हुङकार गर्दैछन
हिजोको बिरासत खोसिएकोमा
चिच्याइ – चिच्याइ आर्तनाद गर्दैछन
चिल्ला गाडीमा सयर गरेका दिन सम्झदैछन
अहिले सबै पद, ऐस – आराम गुमे
जिन्दगी बर्बाद भो
बाहिर निस्कनु पनि कसरी ?
जताततै – जतासुकै चर्चैचर्चा छ
गुमेको सत्ता अब कहिले ब्यूतेला ?
अहिले साना– मसिना स्वरहरु गुन्जदैछन
गुमेको पुरानो विरासत ब्यूताउने रे
फेरि चलखेल गर्ने बाटो फुकाउने रे
हैट ! कस्तो अचम्म नि
आफै भत्काउने
अनि बनाउने
फेरि भत्काउने
पुनः निर्माण गर्ने रे
यो कस्तो बेथिति ?
के अब देशको राजनीति के होला ?
कस्तो होला ?
रङ्गहरु बेरङ्ग छन
मानवीय सन्त्रास बढदो छ
चौघेरामा नेपाली राजनीति !
हो, वास्तवमा हिजोआज यस्तै देखिदै गएको छ नेपाली राजनीति । यहाँ बितृष्णा जनतामा छ नेताहरूमा पटक्कै देखिन्न । तपाईं चिया होटल जानुहोस, साहित्य चौतारी जानुहोस, भेटघाट चौतारी जानुहोस । जहाँपनि देश हाम्रा नेताहरूले बिगारे भन्ने दोष उनीहरूमाथि थुप्रीएको छ । आखिर किन भयो यस्तो र किन हुँदैछ ? सार्वजनिक चासो र सरोकारको बिषय कोहिकसैमा देखिन्न । यहाँ सुनपानीले कालो कर्तुत नेताहरूले पखालिसकेका छन । हामी सिधासादा जनता एकअर्काबिच कुरै नबुझी काटमार गर्छौ किन ? हामीलाई यो अवस्थामा पुर्याउने को हो ? हामी यो सम्म बुझ्दैनौ, अनि झगडा गर्छौ, मन दुःखेसो गर्छौ । यहाँ हिजोका पिढीले राजतन्त्र, लोकतन्त्र देख्यो भने अहिलेका जेन – जी पुस्ताको आँखाले नेताहरूले गरेको भ्रष्टाचार, बेथिति देख्यो । यहाँ कुनै दलहरु पानीमाथिको ओभानो नभए नि हुन्छ कि हामी असली क्रान्तिकारी हौं, अरु सबै नक्क्ली हुन भनेर नडुक्रीए हुन्छ कि नेपाली जनताले सबै दलहरुलाइ ढक तराजुमा जोखिसकेका छन । यहाँ धमिलो पानीमा कसैले पनि माछा नमारे हुन्छ । बर्तमान नेपाली राजनीतिको फोहोरी खेल हेर्नुहोस, हिजो सत्ता अहिले छैन, मौन बस्या छन हिजोका सत्ता संचालकहरु । गुमेको छ सत्ता, भोका छन रहरहरु, कुर्सी रितिएपछि हिजोआज साना– साना कोठे बैठकमा सिमित छन ठूला दलहरुका ठूलाठालु नेताहरू र उनका गोजीभित्रका कार्यकर्ताहरु । हिजोका दिनमा जो जसले फाइदा उठाए, आफ्ना भाइभारदारलाई अस्थायी, स्थायी जागिर दिलाए, आज उनैका परिवारका झोले पात्रहरुले मात्र सामाजिक संजालमा रोइलो मच्चाएका छन, उनीहरू यति अन्धभक्त छन कि उनैका कार्यकर्ताले कस्तो जवाफ टिप्पणी गरेका छन र यसले केको संकेत गरिरहेको छ भन्ने शुद्ध बुझ्न सक्या छैन ।
हिजो कुनैपनि राजनीतिक दलमा लागेर संजीवनी बुटी सुघेर हिडेपनि आज तिनै कार्यकर्ताले भुलेका छन आफ्नो दल तथा नेताहरू । किन यसो गरिरहेका छन ? के कारणले यो सब भै रा छ ? अबको उनीहरूको मार्गनिर्देश के हो ? गन्तव्य कतातिर लम्किने हो ? यो सब अनिर्णय छ, यहाँ नक्कली युटुबरे, पित पत्रकारिता, झोले र चम्चे पत्रकारको खबर भित्रको बेखबर समाचारले गर्दा आजित भएका छन आम नेपाली जनताहरु । यतिबुझ्दा सम्म आफ्ना नेताहरूले गरेको गल्तीलाई गल्ती गरेकै हुन भन्न सक्नुपर्छ, त्यो भने अहिले सामाजिक संजालमा देखिन्न बरु बचाउ अभियानमा पो लागेको देखिन्छ । आज नेपाली राजनीतिमा सबैभन्दा घातक र डरलाग्दा– डरलाग्दा घटना घटाउने भनेकै शीर्ष नेताहरुको कुर्सी , सत्तामोह र भ्रष्टाचार हो अनि साइबर स्यालहरुको बेफ्वाकको हुइयाहरु पनि हुन ।
नेपाली जनतमा दिनका दिन बितृष्णा पैदा गरिदिने को हुन त ? हामीलाई थाहै छ त कि छैन ? स्पष्ट बुझेका छौ, नियालेका छौँ, बिचरण गरेका छौँ । एउटा बिचरणीय बिषयबस्तु यहाँ यो कलमीले उठान गर्दैछ कि जुन सत्य र तथ्यपरक छ । हामीलाई नेताहरूले गर्नै नहुने काम गरिदिने प्रतिवद्दता समेत गरे, अनेकन आशा जगाए, फोहोरी खेल खेले रै पनि हामी हेरालु बन्यौ । चुनाव ताका भ्रष्टाचार गरेको रकमले हामी स्वयंलाई किन्दासम्म हामी थाहा पाउदैनौ किन ? हामी उनीहरूसङ्गै सति जानुपर्ने कारण के हो ? किन बोल्दैनौ उनीहरूले गरेको बेथिति विरुद्धको आवाज । आज उनीहरूप्रति आक्रोश व्यक्त हुन थालेको नयाँ सत्ता कि पुरानो सत्तै ठीक हो त ? आपसी छलफल जनताहरु गर्न थालेका छन । नेपाली जनताहरुले चाहे भने जमानाजफतै गर्दिन्छ्न भन्ने हेक्का अघिल्ला चुनावमा दिएको जनमतको साइज कति घटाइ दिए भन्ने कुरा घामझै छर्लङ्ग छ । कहिँ छिपेको छैन, वृद्धदेखि युवाबनिताहरुको मनमस्तिष्कमा गढेको छ । हामी टाढा नजाऔ बिगत भाद्र २३ र २४ गते अचानक जेन – जीहरुले गरेको आन्दोलनको परिणामले पनि बताउछ कि युवाहरु नेताहरूको हर्कतबाट कति आक्रोशित रहेछन भन्ने कुराको थाहा पाउन सकिन्छ । उनीहरूले प्रत्येक नेताहरूले गरेको भ्रष्टाचार कति हो भन्ने सम्मको प्रमाण उनीहरूले भेटेका छन । छिटपुट रुपमा जेन – जीको नाममा नक्कली घुसपैठ गरेर आगजनी, तोडफोड भएकै हो त्योपनि अहिले धमाधम पक्रेर कारवाही गर्नेकाम बर्तमान प्रधानमन्त्री पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वले गरिरहेकै छ । र पूर्ण रूपमा गर्नेनै छ भन्ने कुरामा हामी आशावादी छौँ । तर फेक न्यूज र बकम्फुसे युटुबरे, अनलाइन खबर जसले सत्यता लुकाउछ उनीहरूको भ्रममा नपरौ ।
सम्पूर्ण जेन – जी युवाहरूको नेतृत्वले बृहत नागरिक छलफल गरेर आगामी फागुन २१ गतेको चुनाव अघिनै हिजोको विरासत पुनः निर्माण गर्नका निम्ति हातेमालो गर्दै सम्पूर्ण राजनीतिक दलका युवानेताहरु जागरुक भइ यो राजनीतिको कालो मडारिएको कालो बादललाई हटाउनका निम्ति गोलबद्द बनौ । चौघेरामा परेको यो राजनीतिक अनिर्णयको बन्दी हामी जनतालाई उन्मुक्ति दिनका निम्ति टुटेर फुटेर होइन जुटेर अघि बढौ । शुभ दीपावली, नेपाल संबत, छैट पर्वको सबैमा अग्रिम शुभकामना ।