हुनत यतिबेला बेल सकिने मौषम हो । त्यो प्राकृतिक बेलको फल त अहिले छैन । त्यसैले यसबेला म अप्राकृतिक बेलको कुरा गरिरहेको छु । अब यो समय कुन प्राकृतिक हो, कुन अप्राकृतिक हो भनेर छुट्याउन गाहृो छैन ।
अहिले बेल पकाउन हालिएको छ । भर्खरै मात्र यसको पुष्टि भएको छ बिभिन्न सञ्चार माध्यमहरुबाट । अनि धेरैका काम पनि खुल्यो । किनभने ती ब्यस्त रहे । फेसबुकमा पोस्ट गर्न, सेयर गर्न, अन्य सामाजिक सञ्जालहरु रङग्याउन । अनि खुसीको कुरा के भने त्यो बेल हाइब्रेडको छ । अर्थात् अन्तराष्ट्रिय ब्राण्डको छ । त्यो सितिमिति मान्छेले उत्पादन गरेको पनि होइन ।
त्यसको बीउ कहाँबाट ल्याएको भनेर प्रश्न गर्नुहोला? किनभने यति माप्पाको चिजको उद्गम पनि थाहा पाइराख्नु पर्ला भन्ने लाग्न सक्छ । यत्ति थाहा छ, त्यो पूर्व दिशाबाहेक अरु सबै दिशामा उम्रिदोरहेछ । चिसो ठाउँबाट, अनि अँध्यारो ठाउँबाट, अनि कुनै देशको राजधानीबाट, अनि त्यसमा पनि कुनै राजनैतिक दलको नेताको गोजीबाट प्राप्त हुँदो रहेछ । धेरैलाई यो कुरा थाहा पनि छैन । अनि के पनि थाहा छैन भने यो खायो भने के हुन्छ ? पच्छ कि पच्दैन, त्यो पनि भेउ पाएकै छैनन् । तथापि ती भोगिरहेका छन् शरीरमा कष्ट सहेर तर दिमागलाई थाहा छैन केले गर्दा कष्ट भयो ।
यस बेलका अदभूत बिशेषताहरु छन् । यो कसैकसैले मात्रै खाने चिज हो । बाँकिले कि रित्तो हात चाट्ने हो, कि रमित हेर्ने हो । त्यो गाडीबाट आउँदैन । भरियाले पनि बोक्नु पर्दैन । त्यो बासी पनि हुँदैन । पुरानु पनि हुँदैन । सधै ताजा । त्यो खाएपछि तुरुन्तै शक्ति आर्जन हुन्छ । त्यसमा यति धेरै भिटामिन र आइरन हुन्छ कि त्यो खाएपछि अगाडि र पछाडि सुरक्षा गार्ड र गाडीका लावालस्कर हुन्छन् । बेरोजगारहरुको युवाहरुको भण्डार भएका ठाउँमा तिनलाई सुरक्षा गर्ने, तिनको पक्षमा नारा जुलुश लाउने, तिनलाई भगवान बनाउने, सडक तताउने, ठोक्ने सबै काम तमाम ! हैन कत्रो शक्ति नाथे बेलको !
ती बेल खान पाउने सीमित मान्छेको पुर्पुरोमा यही लेखेको रहेछ, तिमीहरु सिर्पm खानू । ती खाइरहन्छन् । अनि कहिले कहीं तिनलाई अपच भएर पचहत्तरले भेटेर मरणसन्न हुन्छन् । अनि त्यसबेला ती बेल खान नपाएर थुक मात्रै निलेर बाँचेका पन्चानब्बे प्रतिशतले पैसा उठाउँछन् र तिनको उपचार स्वदेश र बिदेशमा लगेर अरबौंको खर्चमा पनि गरिदिन्छन् । कसैले ती बेलमान्छेलाई औंला ठड्यायो भने, त्यसको उठिबास लाउँछन् । तिनका गीत प्रतिबन्धित हुन्छन् । तिनमाथि भौतिक आक्रमण हुन्छ । कतिका किताब र लेखशरु जलाइन्छ । कतिलाई ‘किन हाम्रा ख्वामितलाई गाली गरेको’ भनेर जेलमा हाल्छन् । जनताले उठाएका पैसा सबै तिनै बेलमा सक्छन् । तिनै बेलको पूजा गर्छन् । परैबाट । अनि अर्काले फुटाएर खाँदा टुलुटुलु हेर्छन् । तर पनि कसैले केही भन्दैन । बरु ट्वाँ परेर थुक घुटुक घुटुक निलिरहन्छन् । किनभने तिनको काम भनेको सिर्पm ट्वाँ पर्ने हो । अरुले खाएको हेर्ने हो ।
बेलको जरो कहाँ छ भनेर खोजी पनि हुन्छ बेलाबेलामा । मानिसका उत्तरआधुनिक उत्तर छन् । कसैले भन्छन् यसको जरो दिल्लीमा छ । कसैले भन्छन् यसको जरो बेइजिङमा छ । कसैले भन्छन् यसको जरो युरोपमा छ । कसैले भन्छन् यसको जरो अमेरिकामा छ । तर थोरैलाई मात्रै चासो हुन्छ यस्ता बिषयमा । धेरैलाई थाहा पनि हुँदैन । तर त्यही बेलको पूजामा लीन हुन्छन् । तर जव हाम्रा बेलमान्छेहरु त्यतातिर घुम्न जान्छन् नि, ती आउनासाथ यहाँ केही न केही उथलपुथल भइहाल्छ । अस्ति दुइवटा बेलमान्छे दिल्ली गएर आएकै भोलिपल्ट संसदबाट बिदेशीहरुलाई पनि नागरिकता दिने कानून पास गरे । वाह ! बेलको कमाल ।
अनि यो माप्पाको बेलका हागा कहाँसम्म छन् पुगेका छन् भनेर कसैकसैले सोध्ने गर्छन् । यसको बस्तुगत उत्तर बनेको छ अहिले ‘गाउँ गाउँमा सिंहदरबार आ’छ नि, त्यहींसम्म यसका हाँगा फिँजिएका छन् ।’ उसोभए गाउँ गाउँको सिंहदरबार बेल हो त ? त्यो त सबैलाई सोध्दा थाहा हुन्छ । मैले किन भनिरहनु र ?
त्यो बेल कसका लागि रोपेको हो र कसका लागि हाँगै भाँच्चिने गरी फलिरहेको छ ? बेलको बेर्ना वा बीउ बाहिरबाट ल्याएर रोप्न थालिएको छ । सातसालदेखि यो कर्म तीब्र गतिमा भइरहेको छ । अनि एउटा निश्चित समयमा यसलाई पकाइन्छ र मिलिभगतमा सिध्याइन्छ । यसको सेवन गर्ने अधिकार सिर्पm मिलिभगतवालाहरुलाई मात्रै छ । यो बेल खान दल ठूलो हुनु पर्छ । त्यसको ‘सुप्रिमो’ हुनुपर्छ । कि त त्यही सुप्रिमोको वरिपरि घुम्ने ‘गणेश राजनीतिका हस्ती’ हुनुपर्छ । कि तिनका ‘असली, सच्चा, आदेशपालक झोलेहरु’ हुनुपर्छ । कि त विश्वबिद्यालयमा एक पिरियड पनि नपढाई जागीर खाने ‘झोले प्राध्यापक’ हुनुपर्छ । बेलमान्छेलाई बोकेर खोला तार्ने, रातो पिर्काबाट सलामी थाप्ने, मुखैमा ‘आइ लभ यु’ आइरहने, तिनका चुनावमा ज्यान दिएर सहयोग गर्ने अर्थात् झोलाको नामले सम्मान गर्न मिल्ने तमाम सहयात्री हुनुपर्छ । अनि केही पनि योगदान नदिने, झोलाको संधै बिरोध गर्ने, ‘बेल तिनले मात्रै खाए’ भनेर चौबिसै घण्टा रुने रुञ्चेहरुले कसरी पाउँछन् त त्यो बेल ?
त्यस बेलको सेवनले पार्ने असरहरु निकै सकारात्मक छन् । यसको सेवन गरे पछि बाँचुञ्जेल सत्ता र शक्ति प्राप्त हुन्छ । आप्mनो सुरक्षाको लागि राज्यकोषको खर्च हुन्छ । आप्mनाहरुलाई जताततै बम्पर उपहारै उपहार ! राजदुत उपहार । संबैधानिक अङ्गहरु उपहार । न्यायधिस उपहार । राज्य संयन्त्रमाथि कब्जा गर्न त्यसको साँचो उपहार । पन्द्र लाखमा बनेको भवन उद्घाटन गर्न बीस लाखको खर्च गरेर जान पाउने उपहार । ज्यान मारेको छ, वा मारेको मुद्धा नै छ, अनेकौं अपराधका मुद्धाहरु खेपेको नै छ भने पनि ठाडो शीर गरेर हिंडन पाउने हैसियत उपहार । विश्वबिद्यालयका पदाधिकारी उपहार । तस्कर गरेर व्यापार गर्न लाइसेन्स उपहार । सामाजिक संघसंस्थाहरु कब्जा गर्ने शक्ति र सामथ्र्य उपहार । बजेट उपहार । आयोजनाहरु उपहार । बाटो नै नभएका ठाउँमा पुल र गेट बनाएर राज्यकोषको दोहन गर्न पाउने लाइसेन्स उपहार । भन्सारमा आप्mनो मान्छे उपहार । सुन गायव पार्ने संयन्त्र उपहार । रिस उठेकाहरुलाई मुद्धा लगाएर मज्जा मान्न पाउने मनोविज्ञान उपहार । छोराछोरीलाई बिदेशमा पढ्न पठाएर यहाँ अर्काका छोराछोरीलाई आन्दोलनमा पठाउन पाउने लाइसेन्स उपहार । उपहारको बर्षा हुने जीवन प्राप्त हुने सौभाग्य प्राप्त हुन्छ यो बेल खाएपछि । त्यसैले त्यो बेल महंगो छ । सबैको भाग्यमा हुन्न खाने ।
अनि आगामी २०८४ को बेल पाकिरहेको छ । यस्तो गुणी बेलको महीमा किन नलेख्ने भन्ने लाग्यो । बेलको दाना त के, छाक्रा र बोक्रा पनि नपाउनेहरु उफ्रिरहेको पनि देख्नेछु मैले । तिनीहरुले सामाजिक सञ्जाल रंगाएको पनि देख्नेछु मैले । मोटरसाइकलमा झण्डा फराएर हिंडेका मान्छेहरुको उत्तेजना पनि पढ्न् छु मैले ।
तर ८४ को बेलले अरु उट्पट्यांग गर्छ कि भन्ने त्राश छ । किनकि ‘सिर्पm ढुंगा हानेर इतिहास बनाउनेहरूको’ हातमा देश जाने सम्भावना छ । अस्तिको बेलले त सिर्पm थुक निल्न बाध्य बनायो । अब यो बेलले थुक निलेर बाँच्ने बाध्यहरूको जीवनमा परिवर्तन ल्यावस, तर यो कुरा संभव छैन । त्यस दिन बेल त पाक्छ, तर हाम्रा निम्ति होइन । किनभने हामी सिर्पm काग हौं । तर बेलमान्छेहरूको भाग्य झनै खुल्ने छ । बेलमान्छेहरू जिन्दावाद !

Author

You may also like