पूर्वसन्देश समाचार
दमक/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौ महानगरका मेयर बालेन्द्र साह विचको ७ बुँदे राजनीतिक सहमतिले नेपाली राजनीतिलाई तरङ्गित बनाएको छ । आगामी फागुनमा हुने निर्वाचनमा को पहिलो हुने भनेर विभिन्न राजनीतिक शक्तिहरु विचमा होडबाजी भई रहेका बेला यि दुई नेताको सहमतिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खासगरि अवको निर्वाचन नयाँ शक्ति र पुराना शक्तिका विचको प्रतिष्पर्धाको रुपमा देखिदैछ । पुराना शक्तिको रुपमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी सहितको नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधित्व गरि रहेका छन् । यस्तै नयाँ शक्तिको रुपमा बालेन, रवि, कुलमान घिसिङ्, हर्क सम्पाङ् लगायतका अनुहारहरु अगाडी देखिएका छन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलन पछि विकसित राजनीतिक परिदृश्यमा अबको मुख्य राजनीतिक शक्ति को बन्ने आँकलन गर्न सजिलो देखिदैन । कतिपयले नयाँ पुस्ताले राजनीति र शासन व्यवस्थामा पुस्तान्तरणको आवश्यकता महसुस गरेकाले जेनजीको भावना समेट्ने शक्ति पहिलो बन्न सक्ने अनुमान गरि रहेका छन् । तर साविक सम्म राजनीतिक तथा शासकीय नेतृत्व गर्दै आएका राजनीतिक दलहरुको जनाधार बलियो रहेको, जनसंगठनहरु शक्तिशाली रहेको र अझै पनि ति दलहरु सशक्त रुपमा सहकार्य नजिक पुगि रहेको गर्दा नयाँ दलले सहानुभूती मात्र पाउने, भोट पुरानैले पाउने तर्क पनि गरि रहेका छन् ।
पहिलो शक्ति बन्ने अभिलाषा सहित माओवादी पार्टीको नामबाट स्थापित पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेबाट विभक्त भई बनेको समाजवादी पार्टी सहित अन्य समुहहरुलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टी घोषणा गरे । माओवादी र एमालेको ‘लिगेसी’ भएका मतदाताहरु तातिन सक्ने नेकपाको अनुमान छ । त्यसो त, जेनजीका माग आफुहरुले पूरा गर्ने भन्दै प्रचण्डले नयाँ पुस्ताको ध्यान खिच्ने कोशिस पनि नगरेका होईनन् । तर उनका आलोचकहरु त्यो पार्टीमा पटक पटक परीक्षण भएका नेताहरु मात्र भएको र कार्यकर्ता नभएकाले निर्णायक शक्तिका रुपमा पनि आउन नसक्ने भनि रहेका छन् ।
भदौ अघिको परिष्थिति सम्म सत्ता साझेदार रहेका नेपाली कांग्रेस र नेकपा एमाले विचमा केहि दिन देखि फेरि सघन भेटघाट बढेको छ । आगामी निर्वाचनमा विभिन्न नयाँ पार्टी र नयाँ अनुहार पनि युवाहरुको ध्यान खिच्न झ्यालीपिट्दै आई रहेकाले समेत उनीहरु फेरि नजिकिन बाध्य भएका छन् । केहि खासखास निर्वाचन क्षेत्रमा वा फरक मोडालिटीमा भए पनि यि दुई दलहरु विच चुनावी गठवन्धन भई यिनै दलहरु पहिलो वा दोश्रो पार्टी बन्ने सक्ने पनि राजनीतिक वृतमा बहस चलि रहेको छ । तर जे होस्, निर्वाचनको वातावरण सङ्लो हुँदै गए पछि को शक्तिशाली र पहिलो भन्ने भनेर नयाँ–पुराना दल र अनुहारहरु अहिले सक्रिय भएका छन् ।