राजनीतिक अस्थिरता लोकतन्त्रको लागि प्रत्युत्पादक हुनुको साथै देशको दूरगामी निणर्यहरुलाई समेत प्रभावित पार्न सक्ने हुनाले जहिले पनि स्थिर सरकारको लागि जनताले अपेक्षा गरेको हुनुपर्दछ । संसदीय लोकतन्त्रको इतिहासमा जब जब अस्थिर सरकारको निर्माण भएको छ, तब तब सरकारको कामकाज गर्ने शैली बढी आलोचित बन्न पुगेको इतिहास नेपालभित्रै पनि भेट्टाउन सकिन्छ । आमजनताले सरकारबाट पाउन नसकेको आडभरोसलाई गन्ती गर्न साध्य हुँदैन । सरकारले जनताका अगाडि गरेका बाचाहरु बकमफुसे भाषण मात्र सावित भएको उदाहरण कति छन् कति, भनिसाध्य छैन । देशको नेता विद्वान नै हुनु पर्दछ भन्ने छैन, तर देशको नेता इमान्दार मात्रै पनि भइदिएको भए दुनियाँमा जनताले यति धेरै सास्ती खेप्नु पर्ने थिएन । जनता जति जति बिचल्लीमा पर्दछन् अवसरवादी नेताहरुले बुर्लुक्क बुर्लुक्क उफ्रिने अवसर पाइरहन्छन् । जनतालाई सुशासनको दरकार हुन्छ । तर सरकारले आफ्नो अल्पज्ञानबाट प्रशासन संयन्त्रमाथि कुशासनको बाजा बजाउन लगाउछन् । सामाजिक न्यायको साटो पक्षपातपूणर् व्यवहारको लागि प्रसिध्दि कमाउनेहरुको यही देशमा बिगबिगी छ । जनताको रगत पसीनामाथि अरुले साम्राज्य खडा गर्ने कार्य अब नौलो रहेन । देशको अर्थतन्त्र कोबाट परिचालित छ रु देशको कानून व्यवस्था किन यति धेरै लर्तरो छ भन्ने कुराको जवाफ खोज्न आफू नजिककै राजनीतिक दलका नेता र कार्यकर्ताहरुको मुख हेरे पुग्छ । दिनदिनै देश रसातलमा पुग्दै जाने छाँटकाट भए पनि ठूला ठूला पदहरुमा आशिन हुने र देशको निणरयक तहमा रहेका जनप्रतिनिधिहरुको खुट्टा भूईँमा रहेको देखिदैन । संधै आसमा र त्रासमा बाँचिरहने जनता गाँस बास, कपा, शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति सुरक्षाको सवालमा कति धेरै व्यग्र छन् यस सम्बन्धमा दलहरुसँग कुनै चेतना छैन । आन्दोलन र हूलमूल गराएर सत्ता हत्याउने षड्यन्त्र मात्र लोकतन्त्र हो भनें लोकतन्त्र र ठोकतन्त्रमा के फरक छ भनेर छुट्याउन र खुट्याउन मुश्किल नै पर्ला । प्राकृतिक स्रोत त प्राकृतिक विविधतामा धनी भएरै होला नेपाल अहिलेसम्म टाट पल्टिइसक्न पाएको छैन । लोकतन्त्रले जनतालाई जोगाउँछ, देशका संशाधनहरुलाइ संरक्षण गर्दछ र सबैप्रति समानरुपमा पक्षपातरहित व्यवहार गर्दछ भनें देशमा सत्ययुग आउनबाट कसैले पनि रोक्न र छेक्नु पर्दैन तर देशको माटोलाई अब्बलबाट दोयम र दोयमबाट चाहारसम्म पुर्याउनसक्ने हविगत बनाउन तम्तयार रहेका र देखिएका राजनीतिक खेलाडीहरू कसरी र कसको बलमा अगाडी बढ्दछन् भनेर भनि सक्नु त्यति सहज छैन ।
जनताका भावना, विचार र मनोमस्तिष्कसँग आफ्नो आर्थिक, सामाजिक र साँस्कृतिक व्यवहारहरुबीच लोकतन्त्रले ब्रीज अर्थात पुलको रुपमा कार्य गर्दछ । लोकतन्त्रलाई युगानुकूल र जनमूखी बनाउन जननिर्वाचित जनप्रतिनिधिहरुले तन, मन, धन लगाएर मनसा, वाचा, कर्मणा अहोरात्र खटेर जनतालाई विभाजित पारेर आफ्नो दुनो सोझ्याउने प्रवृत्तिबाट जस्तोसुकै नेता र राजनीतिकर्मीले आफूलाई जोगाउनु जरुरी हुन्छ । लोकतन्त्रको मन्दिरमा जनता जनार्दनप्रति श्रद्धा, विश्वास र सर्वस्व समर्पणको लागि निष्ठा नहुनेहरुले नै लोकतन्त्रलाई कमजोर बनाउन खोजिरहेका हुन सक्दछन् । लोकतन्त्रको प्रयोग गर्ने विधि र विचारहरु लोककल्याणकारी भएन भने लोकतन्त्र एउटा तासको महल भन्दा केही हुँदैन । राजतन्त्रभित्र पनि लोकतन्त्र हुनसक्छ तर त्यसमा जनतालाई जनार्दन बनाउने ताकत हुँदैन । समुद्रमा अक्टोपसले रजाई गरेजस्तै राजाले पनि सत्तारोहण गरेपछि आफ्नो लोकलाज बिर्सेर सत्ता र सुखको भोग गर्ने परिवारवादप्रति अनुरक्त हुन्छन् । विगतका नेपाली शासकहरुले कुनै ‘राम राज्य’ ल्याउनका लागि राज्यारोहण गरेका थिएनन् होला । ती राजाहरुका विचारहरु मर्यादित, संस्कारी र सभ्य थिएनन् होला । ती राजाहरुको डीएनएमा पनि आफ्ना पुर्खाहरुको धूर्त्याई, बठ्याई र बाहुबलको घमण्ड थियो होला । ती कुराहरुबारे विस्तारसँग बुझ्नुपर्दा नारायणहीटी दरबार हत्याकाण्डको अन्तिम प्रतिवेदन पढेर जवाफ पाइन्छ होला । जनतालाई राजतन्त्रप्रति वितृष्णा जन्मिएर देशमा ठूलो जनआन्दोलन र जनयुद्धको भारी बोकेर जनताले हिँड्नु र लड्नु परेको थियो । देश हिन्दू राष्ट्र नभए पनि हिन्दु संस्कृतिलाई मलजल गरेर सनातन धर्मको मान्यता र परम्पराप्रति गर्व गर्ने र त्यसको प्रभावबाट लोकसत्तालाई जनकल्याणकारी कार्यहरुको लागि उत्प्रेरक सिदान्तको रूपमा ग्रहण गर्ने पारम्परिक ज्ञानलाई कसैले बाधा पुर्याउला जस्तो लाग्दैन । तर खोटो सिक्कालाई असली सिक्का जस्तै देशभरि चलाउन खोजियो भने अन्तिममा जनता नै त्राहिमाम हुने अवस्था नआउला भन्न सकिन्न । आज विगतको तीतो यथार्थभन्दा माथि उठेर देशको राजनीतिक धरातललाई माथि उचाल्ने नेपाल आमाका सन्ततिहरुले विचार गर्नै पर्दछ । हा हा र हू हूमा लागेर देशको राजनीतिक धरातललाई खुम्चाउन खोजियो भने देश यथास्थितिमा रहन सक्दैन । घ्यूसँगै हात चाट्ने मानसिकताले देशको शिर्ष राजनीतिमा लोकलाज बचाउनको लागि केही ओतलाग्ने ठाउँ अझै पनि बाँकी छ । बलेको आगोमा घ्यू थपेर आगो दन्काउने र देशका जनताहरुको साझा स्वार्थ र हकहितलाई नजरअन्दाज गर्दै हिंड्ने परिपाटीले देशलाई कति असन्तुलित र गैर जिम्मेबार बनाउँदैछ भन्ने कुराहरु बारे गहिराईमा गएर गहन अन्तनिरीक्षण गर्नुपर्दछ । आज देशको माटो मरुभूमिकरण हँुदैछ । बालुवाकरण बढ्दै जाने प्रवृतिले अझ देशलाई मरुभूमिकरणतिर धकेल्दै छ । जलवायु परिवर्तनका गम्भीर मुद्दाहरुले देशलाई थिलथिलो बनाइरहेको छ । जैविक विविधता जोगाउने संयन्त्रहरु कमजोर बनाइँदैछ । देशका सबै जनताकालागि साझा बनाइएका सम्पत्तिहरुमा दुखान्त कथाहरु लेखिदैछ । रुख ढालेर जङगल टुहुरो बनाइँदैछ । वन जङ्गलभित्रका सुन्दरताहरुलाई कुरुप बनाउने प्रयास भइरहेको छ । देशभित्रका ओजोन लेयरहरुको पर्दा च्यातिनसक्ने संभावना बढ्दैछ । देशभित्रका चुरे क्षेत्रहरु झन्झन् आक्रान्त र अशान्त बनाइँदैछ । वातावरणलाई संरक्षण गर्ने सवालमा उठाइएका प्रश्नहरुमा देशका हर्ताकर्ताहरु मौन छन् । आफ्नै तालमा मादल ठोक्दै नाँच्ने नेता र मन्त्रीहरुले कन्तवियोगको पीडाको अनुभव गर्न सकेका छैनन् । अधिकारको नाममा केही नछोड्ने र कर्तव्यको सवालमा सिन्कोसम्म नभाँच्ने जनप्रतिनिधिहरु रित्तो भाँडो जस्तो बनेका छन् , जसको भरमा लोकतन्त्रलाई संस्थागत गर्ने कार्य कठिन मात्र होइन असम्भव पनि रहेको देखिन्छ । आसुरी शक्तिलाई परास्त नगरिकन दैवी शक्ति प्राप्त हुँदैन । अलोकतान्त्रिक गतिविधिलाई निस्तेज नगरुन्जेलसम्म लोकतन्त्रका उदियमान लोक नायकहरुलाई महिमामण्डित बनाउन सकिँदैन । देशमा विकास सम्बन्धी धेरै प्रयोगहरु भए, तर निष्फल परिणामले गर्दा असफलता बढ्दै गयो । बी पी कोइरालादेखि राजा महेन्द्रसम्मले कमबेशी रुपमा यही पटकथा लेखे । गिरिजा कोइरालादेखि राजा ज्ञानेन्द्र शाहसम्म पाखुरा सुर्काउने काम वाहेक दीगो विकास पटक्कै हुन सकेन । हतियारको लडाईं सुरु हुनासाथै भगवान पशुपतिनाथ समाधिस्थ हुन पुग्नु भयो । जनताको हृदयमा बास गर्ने भगवान् नारायणले जनतालाई जनार्दन हुने आशिर्वाद सफल हुनासाथै देशमा राजतन्त्रको चोलो फेरियो । गणतन्त्रको शंखनाद प्रारम्भ भयो । नेपालको यो गणतन्त्र कम्तीमा पनि हजार वर्षसम्म टिकाउनु पर्दछ । भावी पुस्ताहरुले निर्धारण गर्ने विकास रणनीतिमा जनताले अंगालीरहेका जीवन दर्शनमा देशको माटो बोल्छ कि बोल्दैन, देशको पानी बग्छ कि बग्दैन , देशको विकास हुन्छ कि हँुदैन, देशको सन्ताप हट्छ कि हट्दैन, त्यसको कसीमा कस्सिएर सरकारले आफ्नो पहिचान कसरी जोगाउँछ त्यो सर्वाधिक महत्वपूणर् विषय हो । अतिरञ्जित मानसिकता र अतिरञ्जित दार्शनिकताले देशको भूगोल मात्र होइन देशको भाषा संस्कृति, परम्परा, रहनसहन, जनजीविका र स्वाभिमान माथि ठेस पुर्याउने कार्य कहीं कतैबाट हुने गरेको पाइयो भनें त्यसलाई प्रतिस्थापित गरेर नयाँ विचार र नयाँ शक्तिलाई राजनीतिको शीर्षमा पुर्याउने कार्यमा जनता आफैं अग्रसर हुँदै जानेछन् । बुद्ध, जनक, सीताको देशमा बुद्ध, जनक र सीता भन्दा कुनै पात्र आफू ठूलो हुँ भन्ने ठान्छ भनें त्यसको पराजय निश्चित छ, यसमा कुनै शंका छैन । लोकतन्त्र स्वदरिलो र शसक्त हुन्छ । देश आत्मनिर्भरताको बाटोमा अग्रसर हुन्छ तथा सबै किसिमका विकृति विसंगति र बेथिति परास्त हुन्छ । स्वाधीन देशका जनतालाई कसैले पनि डगमगाउन सक्दैन ।
