झिलझिले | झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा आवतजावतको सहजताका लागि ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ ।
दोमुखास्थित नुनमाटी खोलामा ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा ट्रस ब्रिज निर्माण गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत २८ लाख ६९ हजार चार सय ९०, शिवसताक्षी नगरपालिकाको चार लाख ३८ हजार आठ सय ६३ र ६७ हजार पाँच सय १७ रुपैयाँको जनसहभागितामा पुल निर्माण भएको हो ।
चौबिस मिटर लामो ट्रस ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले प्रदान गरेको थियो । ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको छ । सो क्षेत्रमा संघ, प्रदेश र पालिकाले सडक, पुल लगायतका पूर्वाधारका काम गर्दै वाह्य पर्यटक समेतलाई आकर्षक गर्ने कार्य तय गरेको छ ।