अर्थ

अम्रिसोको भाउ बढेपछि किसान खुसी

दमक । गत वर्षको तुलनामा यस वर्ष अम्रिसोको भाउ बढेपछि इलाम, धनकुटा लगायतका अम्रिसो उत्पादक किसान खुसी भएका छन् ।
गत वर्ष यही समयमा प्रतिकेजी एक सयसम्ममा बिक्री भएको अम्रिसो हाल १ सय ५० रुपैयाँका दरले बिक्री भएको धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । पछिल्लो समय पूर्वी पहाडी भेगका धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सुनसरी र पूर्वी पहाडी भेगका धेरै किसानले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्रिसो खेतीतर्फ आकर्षित हुन थालेका छन् । कुनै सयम बिक्री नभएर वस्तुचौपायको आहारा बन्ने गरेकामा अहिले अम्रिसोको छिप्पिएको फुलेको भागबाट बनाउने कुचोको माग बढेर राम्रो आम्दानीको स्रोत हुन थालेपछि किसानहरुको यसतर्फ आकर्षण बढ्न थालेको हो ।
वर्षमा एकपटक उत्पादन हुने अम्रिसो तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानले यसको खेती गर्न थालेका धनकुटाका कृषक दिनेश राईले बताए । एक सिजनमा करिब २५ देखि ३० क्विन्टलसम्म अम्लिसो बिक्री हुने गरेको उनले जानकारी दिए । ओरालो र भिरालो ठाउँमा अम्रिसोको राम्रो उत्पादन हुने गर्दछ ।
धनकुटाका व्यापारी राजकुमार राईले नेपालमा अम्रिसो उत्पादन कम भएकाले भारतबाट अत्याधिक माग आइरहेको समेत जनाए । केही किसानले पहिलाको कुचो बेच्ने गरेकाले भाउ कम हुने गरेको व्यवसायी राईको भनाइ थियो । ‘जुन वर्ष अम्रिसोबाट कुचो बनाइएको हुन्छ त्यही वर्ष नै बेचिसक्नुपर्छ । अर्को वर्ष पर्खियो भने गुणस्तरहीन हुन्छ ।’ , उनले भने । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को वर्ष बेच्ने गरेकाले मूल्य कम पाउने गरेका उनले बताए । मूल्य बढेसँगै उत्पादित सबै अम्रिसो निकालेर बेच्न सुरु गरिएको व्यापारी राईले बताए । मूल्यमा घटबढ भइरहे पनि यस वर्ष तुलनात्मकरुपमा बढी मूल्य पाएपछि चाँडै बेच्न हतारिएको उनको भनाइ थियो । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र मेहनत पनि कम गर्नु पर्ने भएकाले किसान अम्रिसो खेतीतर्फ आकर्षित हुन् ।
पूर्वी पहाडी जिल्लामा उत्पादित अम्रिसोको ७० प्रतिशत भारतमा निर्यात हुने गरेको छ । व्यापार भारततिर हुने गरेको छ । अम्रिसोलाई प्रसोधन गरेर पठाउन सके अझ प्रभावकारी हुनेछ । भारतीय व्यवसायी आफैँ आएर लाने गरेका छन् । वर्षमा ४५ देखि ५० मेट्र्रिक टनसम्म अम्लिसो बिक्री हुने गरेको छ । भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको मूल्य वृद्धि भएको देखिन्छ ।

You may also like