सुरुङ्गा । रेविज रोग नियन्त्रणका लागि कनकाई नगरपालिका क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुको वन्ध्याकरण शिविर सुरु भएको छ ।
नेपाल एग्रो लाईभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टर इटहरी सुनसरीको प्राविधिक सहयोग रहेको तीनदिने शिविरमा यो पटक २ सयभन्दा बढी कुकुरको बन्ध्याकरण गरिने पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख तेजबहादुर पौडेलले जानकारी दिए । सोमबारसम्म सञ्चालन हुने शिविरमा ४ जना डाक्टरसहित १६ जनाको टिम खटिएको छ ।
शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसंगै रेबिजविरुद्वको भ्याक्सिन तथा आवश्यकताअनुसार अन्य औषधि उपचार गरेर छोडिने गरिएको छ । कनकाई नगरपालिकाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि बन्ध्याकरण शिविर संचालन गर्दै आएको छ ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाईलाई टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकाले समस्या समाधानका लागि शिविर सञ्चालन गरिँदै आएको बताए ।
गएको वर्ष दुई सय २७ भन्दा बढी कुकुरलाई बन्ध्याकरण गरिएको थियो ।
छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्यरुपमा शिविर आयोजना गरेमात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने समेत नगरले उल्लेख गरेको छ ।