देश–समाज राजनीति समाचार स्थानीय

बेतिथि र कुशासनको सटर बन्द गर्ने रवि–वालेनको उद्घोष

दमक । सुदूरपश्चिमको राजधानी धनगढी बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख नेताहरूका जोशिला भाषणले गुञ्जायमान बन्यो । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दुवैले ‘परिवर्तन उद्घोष सभा’मा देशलाई कुशासन र बेथितिबाट मुक्ति दिलाउने प्रतिबद्धता व्यक्त गरे ।
सभामा सभापति लामिछानेले पुराना राजनीतिक दलहरूको ‘राजनीतिक पसल’ अब जनताले बन्द गरिदिने समय आएको दाबी गरे । उनले ती दलहरू दशौँ वर्षदेखि जनताको सपनामा डोजर चलाउँदै आएको आरोप लगाए ।
‘अब देशमा बेथिति र कुशासनको सटर बन्द हुने समय आएको छ,’ उनले भने, ‘सटर त एउटा बन्द हुनैपर्छ, कि हाम्रो सटर बन्द गरिदिनुस् कि यिनीहरूको ।’
लामिछानेले जनतालाई पुराना दलहरूको झूट र भ्रममा नपरी नयाँ विकल्प रोज्न आह्वान गरे । उनका अनुसार रास्वपा देशको स्थायित्व र विकासका लागि जनतासँग प्रत्यक्ष करार गर्न तयार छ । उनले पाँच वर्षको स्थायी र उत्तरदायी सरकार गठनको आवश्यकता औंल्याउँदै भने, ‘अब नेताले जित्ने र जनताले हार्ने दिनको अन्त्य हुनुपर्छ ।’
उनले सुदूरपश्चिमका रोजगारीका खोजीमा भारतमा रहेका नेपालीहरूलाई सम्झिँदै भने, ‘अब तपाईंहरूको निष्ठा र आस्थालाई म सम्मान गर्दछु, तर देशको अस्तित्व जोगाउन यसपटक परिवर्तनका पक्षमा उभिनुहोस् । अब आफ्नै भूमिमा रोजगारी सिर्जना गर्नुपर्ने बेला आएको छ ।’
बालेनको संकल्पः “सुदूरपश्चिम स्विजरल्यान्ड होइन, स्विजरल्यान्डभन्दा सुन्दर”
सभामा रास्वपाका वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमलाई समृद्ध र आत्मनिर्भर प्रदेश बनाउने ठोस योजना प्रस्तुत गरे । उनले भने, ‘मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनुपर्छ भन्छन्, तर स्विजरल्यान्डको बाउ बडिमालिका यहीँ छ, रामारोशन यहीँ छ, खप्तड नेशनल पार्क यहीँ छ ( किन बनाउनु स्विजरल्यान्ड?’
बालेनले सुदूरपश्चिमको प्राकृतिक, सांस्कृतिक र पर्यटन सम्भावनालाई राष्ट्रिय स्तरमा उजागर गर्नुपर्ने बताउँदै, ‘हामी नेपालीहरू माल भएको चाल नपाएका मान्छे हौँ, अब भएको चिज देखाउन सक्नुपर्छ,’ भने ।
उनी अनुसार सुदूरपश्चिम र काठमाडौंबीच सांस्कृतिक तथा भावनात्मक एकता आवश्यक छ । ‘सुदूरपश्चिम त्यो दिन जोडिन्छ, जुन दिन यहाँका गीतहरू काठमाडौंका चोकचोकमा बज्छन्,’ उनले जोड दिए ।
“रास्वपा भोट होइन, काम माग्न आएको हो”
बालेनले रास्वपाको नीति जनताको भोट होइन, कामको जिम्मेवारी माग्ने बताउँदै भने, ‘भोट नदिए पनि हुन्छ, काम दिनुस्, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले।’ उनले पुराना दलहरूले भोट नभएको क्षेत्रलाई विकासबाट वञ्चित बनाएको आरोप लगाउँदै भने, ‘अब त्यो मानसिकता अन्त्य हुन्छ। कांग्रेस, एमाले, माओवादी सबैका कार्यकर्ता र सर्वसाधारणले हिँड्ने बाटो हामी बनाउँछौं ।’ उनले विगतका विकास योजनाहरू दशकौँसम्म अलपत्र परेका उदाहरण दिँदै काममा ढिलासुस्ती सह्य नहुने उल्लेख गरे । ‘दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षमा पनि बन्दैन, अब डेढ वर्षमै बन्नुपर्छ,’ उनले भने ।
शिक्षा र स्वास्थ्यः सेवा, व्यापार होइन
बालेनले आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको अवस्थाको अन्त्य गर्ने वाचा गरे । ‘खल्तीमा पैसा नभए पनि विपन्न नागरिकले शिक्षा र स्वास्थ्य पाउनुपर्छ,’ उनले भने । उनले स्वास्थ्य र शिक्षालाई ‘सेवा’का रूपमा स्थापित गर्ने र त्यसलाई व्यापारमा परिणत हुन नदिने प्रतिबद्धता दोहो¥याए ।
परिवर्तनको उद्घोष
लामिछाने र बालेन दुवैले रास्वपाको उद्देश्य सत्तामा पुग्नु मात्र नभई देश बदल्ने अभियान भएको बताए । ‘अब सटर बन्द गरेर नयाँ अध्याय खोल्ने समय आएको छ,’ सभापति लामिछानेले भने, ‘रास्वपा परिवर्तनका लागि आएको हो, प्रतिक्रियाका लागि होइन ।’
सुदूरपश्चिममा रास्वपाको सभा राजनीतिक प्रतिस्पर्धा भन्दा बढी ‘परिवर्तन र आशाको लहर’का रूपमा देखिएको छ । पुराना दलहरूले दशकौँदेखि शासन गर्दै पनि जनताको जीवनमा सुधार ल्याउन नसकेको पृष्ठभूमिमा रास्वपाको उद्घोषले नयाँ ऊर्जा भरिदिएको सहभागीहरूको भनाइ थियो । धनगढीमा आयोजित यो परिवर्तन उद्घोष सभाले देशभरका रास्वपा समर्थकहरूमा उत्साह जगाएको छ ।
सभाको अन्त्यमा बालेनले भावनात्मक शैलीमा भने,
‘सुदूर अब दूर छैन, झिक्कै झिक्कै माया तमलाई ।’

Author

You may also like