दमक, ११ कार्तिक
दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरू हालै सङ्गठित भएका छन् । गत कात्तिक ६ गते महानवमीका दिन सो विद्यालयमा आयोजित एक समारोहका बीच पूर्वविद्यार्थी भगवान बस्नेतको संयोजकत्वमा पूर्वविद्यार्थी समाज गठन भएको हो ।
पूर्वविद्यार्थी, पूर्वशिक्षक, कार्यरत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो । शिक्षक प्रकाश भण्डारीद्वारा सञ्चालित ‘पूर्वविद्यार्थी तथा शिक्षक पुनर्मिलन एवम् दसैँ, तिहार, नेपाल संवत् ११४४, छठको शुभकामना आदानप्रदान कार्यक्रम’मा प्रधानाध्यापक द्रोण ब. श्रेष्ठले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए । शुभकामना आदानप्रदानका साथै भेटघाट, पुनर्मिलनका माध्यमबाट विद्यालयको विकासमा सामूहिक प्रयास जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे ।
दमक नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहिसकेका अध्यक्ष ओली, व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् वडाध्यक्ष प्रजापति सापकोटा, सोही समितिकै पूर्व अध्यक्ष मेघराज तिम्सिना, सह प्रधानाध्यापक नीलमणि कडुवाल, तथा पूर्वविद्यार्थी गोपालप्रसाद प्याकुरेलले शुभकामना मन्तव्य राखेका थिए ।
नवगठित पूर्वविद्यार्थी समाजका सदस्यहरूमा लेखनाथ न्यौपाने, चन्द्रा दाहाल, मेघराज थापा, अनन्त सेनेहाङ, वेदराज बस्नेत, कमलप्रसाद दाहाल, बिबिसा बुढाथोकी र उषा बराल रहेका छन् ।