कदम थिएटर को प्रस्तुती “१२ दुर्वासा”

“दमक नाटक हेर्छ”

“दमक नाटक गर्छ”

दमकमा हाल रङ्गमन्चको बहार छ। गत भाद्र १० गते बाट कदम थिएटरमा निरन्तर रुपमा प्रस्तुत भइरहेको नाटक “१२ दुर्वासा” विश्वप्रशिद्ध अमेरिकी नाटक “टुएल्भ एङ्ग्री मेन” को नेपाली रुपान्तरण हो। यसरी आफ्नो गाउँ ठाउँमा कलाले, साहित्यले, र रङ्गमन्चले बडो गजबका साथ फड्को मारिरहँदा गर्वले छाती ढक्क फुलेको महसुस हुने रहेछ।
कलात्मक कार्यक्रमहरुमा सहभागी हुन पाउँदा दमकवाशीहरुको मुहारमा जुन उत्साह र उमङ्ग देखिएको छ, यो कुरा म टाढै बाट पनि महसुस गरिरहेकी छु। दुर्भाग्यवश नाटक हेर्ने मौका नमिलेतापनी हाम्रा आदरणीय नाटककर्मीहरुबाट “१२ दुर्वासा” का बारेमा जति सुने, जति पढे, नाटक एकदमै सुन्दर बनेको छ भन्ने कुरा चाहिँ ढुक्कले भन्न सक्छु।
सिजन दाहालद्वारा निर्देशन गरिएको यो नाटक हेर्नू को मुख्य उद्देश्य भनेकै सामाजिक विषय र मुद्दाहरु तथा समस्याहरुको हल गर्ने विश्वव्यापी अभ्यास थाहा पाउनु हो। वि.सं. २०७३ सालमा  मण्डला थिएटर ले प्रस्तुत गरेको यस नाटकले हाल भने हाम्रो सुन्दर नगरी दमकका कलाप्रेमिहरुको मनको ढोका ढक्ढक्याउन पुगेको हो। सोचे अनुरुप यस नाटकले धेरै भन्दा धेरै दर्शकहरुको मन जित्न सफल भएको छ। त्यति मात्र नभएर अक्सर शो हरु हाउसफुल भएका छन।
कुनै पनि व्यक्तिलाई मनमा लागेका कुराहरु, भावनाहरु, विचारहरु अगाडि राख्न असाध्यै गार्हो हुन्छ। धक फुकाएर मनका कुराहरु पोख्नु सजिलो काम पनि त हैन। हरेक मानिसले व्यक्तिगत सोच, धारणा र विचारहरु निर्धक्क रुपमा प्रस्तुत गर्न पाउनुपर्छ र एक अर्काका विचारहरुलाइ स-सम्मान मनन गर्नुपर्छ भन्ने पाठ त हामी सबैले पढेका छौ। तर जब व्यवहारिकताका कुरा आउँछन, हामी त्यहीँ चुक्ने गर्छौं । बहुमतले हरेक निर्णयहरु पारित हुने हाम्रो देश र परिवेशमा त अझ एकल निर्णय को त मानौँँ कुनै मूल्य नै हुँदैन ।
कुनै विदेशी मुलुकहरुमा यस्तो पनि अभ्यास गरिदोँ रहेछ; यदि अदालतलाई कुनै पनि विषयमा निर्ण्य गर्न नसकेको खण्डमा अथवा कुनै पनि मुद्दामा शंकास्पद घटनाक्रमहरु देखिएको अवस्थामा, विभिन्न पेशामा आवद्द भएका १२ आम नागरिकहरुलाई सो मुद्दामा छलफल गर्न लगाइने रहेछ। ठ्याक्कै यहि विषयलाई मुख्य पृष्ठभुमिमा राखेर नाटकको रुपरेखा तयार पारिएको छ। नाटकमा रङ्गकर्मिहरु मात्र नभएर विभिन्न पेशालाई अङ्गालेका व्यक्तित्वहरुले जोड्दार प्रस्तुती दिएका छन।
नाटक एउटा छोराले आफ्नै बुबालाई मारेको हो वा होइन भन्ने मुख्य प्रश्नमा केन्द्रित रहेको छ। अदालतले यो विषयमा निर्णय गर्न गाह्रो भएका कारण फरक फरक पेसाका १२ जना आमनागरिकलाई त्यस मुद्दामा छलफल गर्न लगाएर, उनीहरूको सर्वसम्मतीबाट जे निर्णय हुन्छ त्यो नै अन्तिम निर्णय हुनेगरी १२ जनालाई एक कोठामा छलफलका निम्ति छाडिन्छ।
एउटा बन्द कोठाभित्र १२ फरक पात्रहरुले केही गम्भीर कुराको अन्तिम निर्णय कसरी लेलान त?
यसको उत्तर पाउन भने नाटक हेर्नै पर्ने हुन्छ। विचारमा देखिने संघर्ष को युद्द कति भयानक हुन सक्छ भन्ने उदाहरण हो “१२ दुर्वासा”।
हामिले कुनै पनि निर्णय आवेशमा लियौँ भने त्यसको नतिजा के होला? रिस, डर, प्रेम र क्षणिक भावुकताले अक्सर हाम्रो निर्णय गर्ने क्षमतालाई मिहिन रुपमा असर पारिरहेको हुन्छ। कुनै पनि गम्भीर अवस्थामा लिएको एउटा गलत कदम कति सम्म घातक हुन सक्ला? यिनै कुराहरुको भयले हामी अक्सर बहुमतको साहारा लिन्छौं । नाटकका पात्रहरुको हातमा कसैको जीवन र मृत्यु को निर्णय छ। यस्तो बेला उनिहरुको चेतन र अवचेतन कस्तो होला?
नाटकमा हेमन्त बुढाथोकी, जीवन बराल, मौसम राना, तिब्बत राई, सुवास खरेल, बलु राई, रोमनाथ ओली, राजेन्द्र अधिकारी, सन्तोष दुलाल, चिरञ्जीवी घिमिरे, सुमन लिङ्देन, मनिकशंकर, सुजन भण्डारी, नवीन रिजाललगायत कलाकारको अभिनय छ।
कलाकारिता क्षेत्रमा कहिल्यै आवद्द नभएका व्यक्तिहरूलाई पनि यस्तो बेजोड अभिनय का साथ स्टेजमा उतार्न सक्ने निर्देशकको क्षमतालाई मेरो तर्फ बाट अत्याधिक सम्मान । एउटा नाटकलाई जिवित रुप दिनु कुनै साधारण काम पक्कै होइन। अभिनय हेरिरहँदा कलाकारहरुले गरेको मिहिनेत र लगन प्रष्ट देख्न सकिन्छ।
-Divya Dahal

Leave a Reply

Your email address will not be published.