दमक÷ नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकमा भएको अनियमितता र अस्तित्वको प्रश्नलाई लिएर संस्थापक अध्यक्ष मान बहादुर बुढाथोकीले दमक नगरपालिकाको ध्यानाकर्षण गर्दै आइतबार निवेदन दर्ता गराएका छन् ।
निवेदनमा उपशाखाको वर्तमान अवस्था, रेडक्रसको सिद्धान्त, मूल्य र मान्यता भन्दा बाहिर गएको, अनियमितता र दुरुपयोग बढेको, संस्थानै संकटपूर्ण अवस्थाबाट गुज्रेको उल्लेख छ । यीनै बेथितिहरुलाई लिएर अख्तियारले छानविन गरिरहेको अवस्थामा नैतिकताको आधारमा पनि हालका समितिहरु अयोग्य देखिएको हुँदा यसको सट्टामा छुट्टै तदर्थ समिति बनाई निश्चित समयभित्र निर्वाचन सम्पन्न गरी कार्यसमिति चयन गर्नेतर्फ कारवाही अगाडी बढाइदिन हुन नगरपालिकालाई अनुरोध गरिएको छ । यही आशयका पत्रहरु नेपाल रेडक्रस सोसाईटीेको केन्द्रीय कार्यालय र झापा शाखामा समेत पठाइसकिएको बुझिएको छ ।
यसअघि बुढाथोकीले सार्वजनिक आह्वान गरेर रेडक्रसको अस्तित्व, त्यहाँ भएको अनियमितताका बारेमा जानकारी गराएका थिए र छानविनका लागि एउटा समितिनै गठन भएको थियो । तर समितिले के रिपोर्ट दियो, अहिलेसम्म बाहिर आएको छैन । रेडक्रसको भवनमा बाल अस्पताल संचालन गरिनु मेरो आपति होइन, त्यति ठूलो निर्णय गरिँदा वृहत् छलफल गरिनु पथ्र्यो । स्थानीय तह छ, रेडक्रसको केन्द्र छ, जिल्ला छ, उपशाखामा हजार बढी आजीवन सदस्यको संख्या छ, सल्लाहकार समिति पनि छ, तर उनीहरुलाई मात्र वास्ता नगरिएको होइन, कार्यसमितिलाई समेत गुमराहमा राखेर १÷२ जनाले निर्णय गर्नु कतिको न्यायोचित छ भन्ने मेरो प्रश्न हो उनले बताए ।
रेडक्रसको अस्तित्व र अनियमितताका बारेमा बुढाथोकी भन्छन्– रेडक्रस एउटा पवित्र संस्था हो, यो मानवीय सेवामा समर्पित छ । यसभित्र गरिने जति पनि कामहरु छन्, पवित्र भावना र पारदर्शी तरीकाले गरिनुपर्छ । तर त्यो नभएपछि मैले प्रश्न उठाएको हो । दमक रेडक्रस आफ्नो उद्देश्यमा अगाडी बढिरहेको थियो । रक्त संचार, सर्पदंश उपचार केन्द्रले यस क्षेत्रमा राम्रो सेवा पु¥याइरहेको अवस्थामा सरल तरीकाले सेवा दिन सामुदायिक अस्पताल खोल्ने भनेर दर्ता भइसकेको, मुटु अस्पतालको उद्घाटन समेत भएको कुरालाई गम्भीरतापूर्वक नलिनु, भविष्यमा निःशुल्क उपचारको धारणा राखेको अक्षयकोषलाई आफ्नो मनोमानी गर्नु, अस्पताल संचालककै लागि भनेर प्रदेश सरकार र झापा क्षेत्र नम्वर ५ को सांसद कोषबाट आएको रकमको सदुपयोग नदेखिनु, खरिद गरिएका मेशिनहरु अलपत्र हुनु संस्थाका लागि हितकर छैन ।
दमक रेडक्रसमा अहिले धेरै समस्या बढ्दै गएको टिप्पणी हुन थालेको छ, आम्दानीको स्रोत घट्दै गएका छन्, खर्च बढ्दै गएको कारण आर्थिक संकट देखिन थालेको छ । रेडक्रसको समस्याका बारेमा प्रश्न उठ्यो भने जो कोहीलाई अस्पताल विरोधीको बिल्ला भिराइन्छ । वास्तवमा बाल अस्पताल संचालनमा कसैको विरोध छैन । बाल अस्पताललाई रेडक्रस परिशरमा भत्र्याएर अवसरका रुपमा लिने कार्यसमितिको उद्देश्यलाई सम्झौता गरिँदा जुन भूमिका निर्वाह भयो त्यसले कुठाराघात भएको गुनासो कार्यसमितिमै छ । बाल अस्पताल सञ्चालनका लागि उत्तरपटिको ठूलो बिल्डिङ दिने भनेर कार्यसमितिले सर्वसम्मत निर्णय गरेको हो र समन्वयका लागि निवर्तमान अध्यक्ष लिला गुरागाईलाई तोकियो । तर उनले कार्यसमितिमा कुनै कुराको जानकारी पनि गराएनन् र छलफल पनि भएन । रेडक्रसले भोगेको सम्पूर्ण जमिन र संरचनाहरु तीस वर्षका लागि दिने सम्झौता गराएछन् त्यो पनि आठ÷नौ महिना पछि खुल्यो । यही अहिले जटिल प्रश्न बन्दै गएको छ । यदि यो विषयमा खुल्ला छलफल गरेर निष्कर्ष निकालेको भए कुनै विवाद नउठ्ने प्रतिक्रिया पाइन्छ ।