मुख्य

कन्काई टोल विकासको साधारण सभा

दमक/झापाको दमक–५ बेलडाँगी रोड स्थित कन्काई टोल विकास संस्थाको छैठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वडा नम्वर ५ का वडाध्यक्ष इन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा टोलमा रहेको सवारी पार्किङको समस्या, विद्युतीय ट्रान्सफर्मर मुनिबाट मानिसहरु हिंड्नुपर्ने समस्या, फुटपाथमा रहेका फलामे पोल हटाउने समस्या, बाटो निर्माणमा देखापरेको अवरोधको समस्या, टेलिफोनको खम्बामा व्यापारिक सामान टाङ्ग्ने समस्या लगायतका समस्या समाधानका लागि सरोकारवाला पक्षहरुबीच छलफल भएको थियो ।

कार्यक्रममा उल्लिखित समस्याहरु सो संस्थाका अध्यक्ष यमबहादुर अधिकारीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । तर यि सबै समस्याहरु समाधानका लागि सो टोलका घरधनीहरु नै जागरुक बनेर वडा या नगरपालिकासंग सहकार्य गर्नुपर्ने वडाध्यक्ष गुरुङले आफ्नो मन्तव्यमा बताए । उनले घर बनाउँदा नै पार्किङको व्यवस्था हुनेगरी बनाउने, फुटपाथमा मालसामान राख्न गरी नबनाउने, व्यापारी व्यवसायीहरुले घरको कोठा बहालमा लिँदा नै त्यसो गर्न नमिल्ने भनी शर्तनामा गर्ने हो भने नगरपालिका या वडा कार्यालयको सहजीकरणमा समस्याको समाधान हुने बताए । अर्का विशेष अतिथि दमक–६ का वडाध्यक्ष टेक बहादुर थापाले पनि टोलभित्रको समस्या समाधान गर्न घर बनाउँदादेखिनै ध्यान दिने र टोलबासी आफँै तत्पर हुने हो भने समस्या समाधानमा सहज हुने धारणा राखे ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख सुन्दर श्याम पोखरेलले सडकमा पार्किङका लागि बनाइएको रेखाभित्र सवारी पार्किङ गर्ने हो भने समस्याको समाधान हुने बताए । दमक–५ का वडा सदस्य गोपाल संग्रौलाले सो वडामा ६२ वटा टोल विकास संस्थाहरु रहेको र वडाले सबै टोलहरुसंग सहकार्य ग रेर काम गर्ने प्रष्ट पारे । त्यस्तै टोलबासीका तर्फबाट सहकारीकर्मी चुडामणि ओझाले टोलमा रहेका समस्याहरुको समाधानका लागि योजनावद्ध ढंगले काम गर्नुपर्ने र वडाले पनि त्यसमा साथ दिएमा आफूहरुको तत्परता रहने बताए । साधारण सभामा अध्यक्ष अधिकारीले संस्थाको प्रगति प्रतिवेदन र सचिव नन्द कुमार राईले आर्थिक प्रतिवेदन पेश गरेको थिए । जसअनुसार संस्थाले हालसम्म ११ लाख ८३ हजार ७९८ को कारोबार गरेको र संचित कोषमा ४ लाख ३६ हजार २५० रुपैयाँ रहेको छ । संस्थाका उपाध्यक्ष चन्द्रकला भण्डारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव नन्द कुमार राईले गरेका थिए ।

Author

You may also like