समाचार

ग्लोबलमा बाल दिवस

दमक/ झापाको दमक-६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले बाल दिवसका अवसरमा सम्मान र पुरस्कार सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । मंगलबार विद्यालय हातामा अभिभावक र विद्यार्थीको भव्य उपस्थितिमा मनोरञ्जनात्मक सहित यस्तो कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले स्थापनाकाल देखि हालसम्मको अवधिमा गुणस्तरीय शिक्षा दिँदै अभिभावकहरुको मन जित्न सफल भएको र आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशेष अतिथिका रुपमा दमक-६ का वडाध्यक्ष टेक बहादुर थापा रहेका थिए । त्यसअवसरमा वरिष्ठ शिक्षासेवी छविलाल सिटौला, वरिष्ठ लोकगायक एलपी जोशी, वरिष्ठ साहित्यकार खेमलाल पोखरल र अर्का युवा साहित्यकार धनकुटे कान्छालाई नगद, सम्मान पत्र र दोसल्ला ओढाई अविर टिका लगाएर सम्मान गरियो । उनीहरुलाई नगर प्रमुख थापा, वडाध्यक्ष थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बस्नेत, पूर्वअध्यक्ष खेम भण्डारी लगायतले सम्मान गरेका थिए । यसैगरी कार्यक्रममा पूर्वशिक्षिका र विद्यालयका शेयर सदस्य शोभा अधिकारी, दुर्गा लिम्बू र माया अधिकारीलाई पनि प्रमाण पत्र र दोसल्ला ओढाई अविर टिका लगाएर सम्मान गरियो । असल अभिभावक तर्फ खुमा ढकाल, रत्नकुमारी श्रेष्ठ, मुना श्रेष्ठ, निश्चल सिंखडा र चन्द्रकला लावतीलाई नगदसहित सम्मान पत्र र दोसल्ला ओढाएर अविर टिका लगाई सम्मानित गरियो । आज बुधबार परेको बाल दिवसको कार्यक्रम कक्षा नर्सरीदेखि कक्षा १० सम्मका लागि मंगलबारनै मनाइएको हो । आज बुधबार भने कक्षा ११ र १२ का लागि यस्तो कार्यक्रम आयोजना गरिँदैछ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बस्नेतको अध्यक्षतामा भएको मंगलबारको कार्यक्रममा अध्यक्ष बस्नेत, प्रिन्सिपल गुणराज अधिकारी, सम्मानित व्यक्तित्वका तर्फबाट वरिष्ठ साहित्यकार खेमलाल पोखरेल लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो वितरण गर्नुका साथै कक्षा नर्सरीदेखि कक्षा १० सम्मका परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । स्वागत मन्तव्य छात्रा एलिना सुवेदीले राखेको कार्यक्रममा संचालन भने शिक्षक शंकरराज गौतम र छात्राद्वय सुधा गौतम र प्रनिशा बराइलीले आलोपालो गरी गरेका थिए । कार्यक्रममा बाल अधिकारबारे छात्रा बेञ्जिला काफ्ले र त्रियम्सा अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रममा मन्टेश्वरी कक्षादेखि प्राथमिक, आधारभूत तथा मावि तहसम्मका विद्यार्थीले आकर्षक एकल र सामूहिकरुपमा गीत, नृत्य तथा मार्सल आर्ट्स कराते प्रदर्शन गरेर सहभागी अभिभावक तथा विद्यार्थीहरुलाई विशेष मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा शैक्षिक व्यक्तित्व जय बहादुर श्रेष्ठले गीत प्रस्तुत गरेका थिए भने सम्मानित लोकगायक जोशीले ‘रिटिङ रिटिङ विनयो बजायो’ भन्ने लोकप्रिय गीत र धनकुटे कान्छाले चराचुरुङ्गीको आवाज निकालेर आफ्नो प्रतिभा देखाएका थिए । कार्यक्रममा सो विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष खेम भण्डारी, संचालकहरु खगेन्द्र भण्डारी, होमराज कटुवाल, गोविन्द कटुवाल, इन्दिरा बस्नेत, निलम बहादुर कटुवाल लगायत शिक्षक/शिक्षिकाहरुको विशेष सक्रियता रहेको थियो ।

You may also like