दमक/ झापामा डेंगुको संक्रमण रोक्न सरसफाई र जनचेतनालाई प्राथमिकता दिने कार्यक्रमको थालनी भएको छ । डेंगु संक्रमण प्रायः देशका सबै जिल्लामा फैलिसकेको छ । झापामा पनि फाट्टफुट्ट बिरामी अस्पताल आउने गरेको र अहिलेसम्म २५-३० जना संक्रमित पुगेको अनुमान गरिएको छ । डेंगु रोगबाट बच्न लामखुट्टेको टोकाईबाट जोगिन सरसफाई नै मुख्य भएकाले चेतनाका लागि झापाका पालिकाहरुमा परिपत्र पठाइसकिएको तथा जिल्लामा रहेका सबै कार्यालयहरुले सफाइ अभियान सुरु गरेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत चुडामणि लुइटेलले बताएका छन् ।
हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा डेंगु फैलिएको छ । त्यसमध्ये १० वटा जिल्ला उच्च जोखिममा छन् । उच्च जोखिममा रहने जिल्लामा ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे, र चितवन रहेका छन् ।
आइतबारसम्मको तथ्यांकअनुसार ललितपुरमा ३ हजार ६ सय २२, काठमाडौंमा २ हजार ४ सय १४, मकवानपुरमा ६ सय ६३, रुपन्देहीमा ५ सय ७०, दाङमा ३ सय ५८, भक्तपुरमा १ सय ७६, धादिङमा १ सय ३७, तेह्रथुममा १ सय १०, काभ्रेपलाञ्चोकमा १ सय ५ र चितवनमा ९० केस पुष्टि भएका छन् । यी १० जिल्लामा मात्र ८ हजार २ सय ४५ जनामा डेंगु संक्रमण भएको छ ।
त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी वाग्मतीमा ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र कर्णालीमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म डेंगुबाट ७ जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार मृत्यु हनेमा ४ जना डेंगुकै जटिलताले मृत्यु भएको हो भने ३ जनामा भने डेंगुसँगै अरु रोगको पनि जटिलता थियो ।
विज्ञहरूका अनुसार डेंगुको अझै २ महिना जोखिम रहनेछ । अझै घट्छ भनेर यकिनका साथ भन्न सकिन्न । लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियानमा सिरियस्ली लागेको देखिन्न ।
यो लामखुट्टे दिनमा सक्रिय हुने भएकाले पनि धेरैले ध्यान दिँदैनन् । ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणले उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने लक्षण डेंगुका हुन् । गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्ने चिकिसकहरू सुझाउँछन् ।