देश–समाज विविध शिक्षा

फेसबुक र टिकटकमा नै अल्मलिन्छन् युवा, पाठकविहिन बन्दै झापाका पुस्तकालय

         विमल लामिछाने
दमक/ इमेल इन्टरनेट, यूट्युव, फेसबुक जस्ता विद्युतीय सुविधासँगै झापाका पुस्तकालयहरु पाठकविहिन बन्दै गएका छन् । शैक्षिक क्षेत्रको विकासलाई हेर्ने हो भने झापा अग्रपंतिमा नै आउँछ । तर पछिल्लो समय विद्युतीय प्रविधिसँगै झापामा पुस्तकालयमा अध्यायन गर्ने क्रम भने ओरालो लाग्दै सुन्यता छेउ पुगेको छ । पछिल्लो समय युवा पुस्ताले फेसबुक र टिकटकमा समय खेर फाल्ने गरेका छन् । इन्टरनेटमा अल्मिल्लिएपछि पुस्तक अध्यायनमा कमी आउन थालेको पुस्तकालय सञ्चालकहरु बताउँछन् ।
सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि अहिले गुमनाम छ । ऐतिहासिक महत्व बोकेको करिव सातदशक पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ । पश्चिम झापाको गौरीगञ्जमा २०११ सालमा स्थापना भएको अर्को ऐतिहासिक महत्वको त्रिभुवन आदर्श पुस्तकालयसमेत पाठक गुमाइसकेको छ । खजुरगाछी बजारमा दुई कठ्ठा जग्गामा निर्माण भएको एक तले पक्की भवनमा यो पुस्तकालय बनेको थियो । एक हजार पुस्तक संग्रहित यो पुस्तकालयको गौरादह-९ मा आफ्नै स्वामित्व रहेको खेतीयोग्य तीन विगाहा जमिन पनि छ ।
मुलुकभरमै कहलिएको मेचीनगरको त्रिफला राष्ट्रिय पुस्तकालय र गौरादहको गौरादह सामुदायिक पुस्तकालयलाई पनि कोरोनाकालमा पाठक नपाउने समस्याले छुटकारा दिएन । यी पुस्तकालयमा अहिले भने क्रमशः पाठक बढ्न थालेका छन् । भौतिक साधन स्रोतले सक्षम भएपनि यी पुस्तकालयप्रति अध्यायनमा रुची राख्ने नयाँ पुस्ता आकर्षित नहुँदा पुस्तकालय सुनसान भएका छन् । करीब ५ करोडको सम्पत्ति जोडिसकेको क्रिफला पुस्तकालयले भोगिरहेको सबैभन्दा ठूलो चुनौती भनेकै पाठक आकर्षित गर्न नसक्नु हो भन्छन् अध्येताहरु । पाठक नपाएर झापाका १० देखि १२ वटा पुस्तकालय हालसालै बन्द भइसकेको पुस्तकालय संघ झापाका अध्यक्ष प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ले जानकारी दिए । धेरै पुस्तकालय बन्द भइसकेपनि त्रिफला पुस्तकालयमा कोरोनाकाल सकिएपछि पाठक आउन थालेका छन्, विशेष गरेर भारतको दार्जिलिङ, सिक्कम हुँदै मनिपुरसम्मका मान्छे अनुसन्धान र खोज गर्न आइरहेका छन् पोखरेलले भने । साहित्यिक दिवसहरुमा विभिन्न कार्यक्रम गरेर त्रिफलाले पाठकहरुलाई पुस्तकालयभित्र छिराउने प्रयास गरेपनि पुस्तक पढ्नै भनेर आउने पाठकको संख्या एकदमै न्यून हुँदै गएको अध्यक्ष फलाहारी स्वीकार गर्छन् ।
२००८ सालमा स्थापना भएको देशकै चर्चित भद्रपुर पुस्तकालय प्रयोगविहिन छ । चन्द्रगढीको लेखनाथ पुस्तकालयमा फाटफुट पाठक आएपनि पहिलेको तुलनामा पाठक छैनन् । भाषाविद् चूडामणि रेग्मीलगायतको अगुवाइमा २०३५ सालमा स्थापना भएको लेखनाथ पुस्तकालयमा सबै विधाका पाँच हजार भन्दा बढी पुस्तक संग्रह गरिएको छ ।
पुस्तक ज्ञानको आधार हो । मानिसले प्राप्त गरेका अनुभवलाई अझ परिष्कृत बनाउन पुस्तक जन्य पाठ्य सामग्रीको गहण अध्ययन गरी अनुसन्धान र प्रयोगमा ल्याउने गर्छ । प्राचिन समयमा प्राप्त गरेको ज्ञान सीपको संरक्षण गुफा हुँदै मध्ययुगतिर मठमन्दिर, मस्जिद, गुम्बाचैत्य, पाटीपौवा तथा आधुनिक समाज तथा युगमा पुस्तकको प्रयोग तथा अनुसन्धानलाई बढावा दिन छुट्टै शाखा वा भवनमा पुस्तकको संरक्षण र परिचलन गरिँदै आएको छ, जहाँ पुस्तकको घरलाई आधुनिक पुस्तकालयको रुपमा लिइन्छ ।
राजनीतिक, सामाजिक र शैक्षिक रुपमा अग्रणी जिल्लाको रुपमा चिनिएको झापामा २००७ सालको परिवर्तनपछि दर्जनौँ स्थानमा पुस्तकालय खोलिएका थिए । प्रजातन्त्रमाथि प्रतिबन्ध लगाइएको पञ्चायतकालीन अवस्थामा समेत झापाका चेतनशील युवाले गाउँगाउँमा पुस्तकालय र बाचनालय खोलेर राजनीतिक आन्दोलनलाई ऊर्जा भर्ने कार्य गर्दथे । तर अहिले नयाँ पुस्तकालय खोल्ने क्रम ठप्प जस्तै छ भने पुराना र ऐतिहासिक महत्व बोकेका पुस्तकालयसमेत बन्द हुने अवस्थामा पुगेका छन् ।

शाखा विस्तारमा दमक पब्लिक लाइब्रेरी
पाठक नपाउने समस्या झेलिरहेका पुस्तकालयको अपबाद बनेको छ झापा दमकको पब्लिक लाइब्रेरी । यो पुस्तकालय स्थानीय साहित्यकार तथा युवा पाठकहरुको सक्रियतामा राम्रैसँग सञ्चालन भइरहेको छ । विसं २०६९ मा स्थापित दमकको पब्लिक लाइब्रेरीमा सात हजार पुस्तक रहेको र पाठकका रुची समेट्ने खालका नयाँ पुस्तकसमेत राखिएका कारण पाठक नघटेको अध्यक्ष भेषराज न्यौपानेले बताए ।

अहिलेपनि दैनिक २० देखि २५ जना पाठक आउने गरेको उनले जानकारी दिए । विशेष गरेर रिटायर कर्मचारी, विद्यार्थी र खोज अनुसन्धानका युवाहरु पाठक रहेको अध्यक्ष न्यौपानेको भनाइ छ । दमक पब्लिक लाइब्रेरीले अहिले झापाको कमल, दुधे, दमकबाहेक बाहिरी जिल्ला पोखरा, बुटवल, चितवन, विराटनगर, इटहरीलगायत १२ वटा शाखा स्थापना गरेर पुस्तकालय विकास गरेको न्यौपानेले बताए । उनले बौदिक विनाको मान्छे टाउको विनाको मान्छे जस्तै हुने भएकाले पुस्तकालयको महत्व घट्न नदिन राज्यपक्षसमेत गम्भिर हुनुपर्ने सुझाव दिएका छन् ।

Author

You may also like