दमक, २१ चैत । मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएपनि अवसर समेत प्रदान गरेको झापाका पत्रकारहरुले विश्लेषण गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहकार्यमा कमल गाउँपालिकामा सम्पन्न ‘मोवाइल (मोजो) तथा मल्टिमिडिया पत्रकारिता’ सम्वन्धी दुई दिने तालिममा एआईको प्रयोगले चुनौतीसँगै केही अवसर समेत सृजना गरेको बताइएको हो ।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कका प्रधान सम्पादक रजनिश भण्डारी र प्राविधिक प्रमुख उज्वल ज्योति शाक्यको सहजीकरणमा सम्पन्न तालिमका बक्ताहरुले सो कुरा बताएका हुन् । पछिल्लो समय पत्रकारितामा आएका प्रविधि र एप्लिकेशनले पत्रकारिता र पत्रकारको तथ्याङक चोरी हुने जोखिमसँगै कार्यशैली समेत परिवर्तन हुँदा चुनौती थपिँदै गएको प्रमुख प्रशिक्षक भण्डारीले बताए ।
उद्घाटन् कार्यक्रममा प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पत्रकार र पत्रकारिताको विकासमा स्थानीय सरकार सँधै तत्पर रहेको बताए । उनले पत्रकारले सरकारलाई सत्य तथ्यमा रहेर खबरदारी नगरे जनप्रतिनिधिलाई समेत सुधार गर्ने कार्यमा असहयोग हुने बताए । उनले स्थानीय सरकारका राम्रा कामले पनि तथ्यसहित मिडियामा उचित स्थान पाउनु गर्नेमा जोड दिए ।
सो क्रममा नगर उपप्रमुख जलवर्षा राजवंशीले स्थानीय जनप्रतिनिधिको चुनौती र समस्याप्रति पनि पत्रकारले मार्ग प्रसस्त हुने गरी आवाज उठाउनु पर्ने बताइन् । समाज विकासका लागि निर्वाचित भएका जनप्रतिनिधिलाई सचेत गर्ने तथा राम्रा अभ्यासबारे समेत आवाज उठाउनु पर्ने उनले जनाइन् ।
उद्घाटनमा कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने, प्रेस चौतारी नेपाल प्रदेश लेखा आयोग सदस्य विष्णुप्रसाद पोखरेल, प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष कमन देवान, प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीले अवको पत्रकारिता प्रविधिमैत्री हुन नसके पत्रकारलाई चुनौती थपिँदै जाने बताए । उनले सरकार र दाताको सहयोगमा विर्तामोडमा रहेको महासंघको कार्यालयलाई स्तरोन्नती गरी ईलाइव्रेरी र कम्पुटर ल्याव स्थापना गरिएकाले अव पत्रकारको दक्षता अभिबृद्धिमा सहज हुने बताए ।
जिल्लाका ५० बढी पत्रकारको सहभागिता रहेको महासंघका झापा सचिव डिकेश लामाले बताए ।