उनको मनमा बिद्रोह रहेछ, क्रान्तिको चेत रहेछ । परिवर्तनको राप र ताप रहेछ । अग्रगमनको आव्हान रहेछ । राज्यसत्ता परिवर्तन गर्ने हुँकार रहेछ । अनि न्याय र अधिकारको बिगुल रहेछ । आप्नै देशको एक मुठ्ठी माटोको याचना रहेछ । आफ्नै आङ ढाक्ने एक सर्को आकासको सपना रहेछ । धर्ती पनि गुमाएका, आकास पनि गुमाएका भुटानबाट बिस्थापन गराइएर धर्ती र आकास खोज्दै नेपालका सरणार्थी शिविरमा आफ्नै स्वत्वको खोजीमा मुर्मुरिरहेका आवाजहरुको मनभरी राँको पनि रहेछ ।
===================================
बाँस्कोटा धनञ्जय
मैले स्नातक तहको अंग्रेजी कक्षामा पढाउँदै गर्दा हरपल मुस्कुराइरहने एक जना विद्यार्थी सधैं मेरो नजरमा हुन्थे । उनको मुस्कान प्राकृतिक थियो, मौलिक थियो । गृहकार्य सधैं जसो हुन्थ्यो र विद्यार्थीले पढेर कक्षामा प्रस्तुत गरिरहँदा उनी मुसुक्क मुस्कुराएर भन्थे, ‘लेखेको छ, सर । तर मैलाई चित्त बुझेको छैन ।’ अनि कक्षामा गृहकार्य ल्याएको छ भने पहिला उनै भन्थे । मैले सोच्थें, यी भाइ निकै फुर्सदिला रहेछन् क्यारे । कसै कसैले त भ्याइएन पनि भन्थे । तर दिल भूटानीलाई भ्याइएन भन्न कहिल्यै आएन ।
एउटा अध्ययनशील विद्यार्थी पाउँदा म फुरुक्क नहुने कुरै पनि थिएन ।
तिनै दिल भूटानी विद्यार्थी भाई आज एउटा काब्यको ग्रन्थ नै तयार पारेर ल्याई मेरो हातमा थमाइरहँदा मैले तीन दशक लामो विद्यार्थीको मनोविज्ञान बुझेको भन्ने भ्रम पनि सिद्धियो । ती मुस्कुराइरहने भाइ त बिद्रोहको ज्वाला मनभरी बोकेर पनि मुस्कुराइरहेका हुँदारहेछन् । उनको मनमा बिद्रोह रहेछ, क्रान्तिको चेत रहेछ । परिवर्तनको राप र ताप रहेछ । अग्रगमनको आव्हान रहेछ । राज्यसत्ता परिवर्तन गर्ने हुँकार रहेछ । अनि न्याय र अधिकारको बिगुल रहेछ । आप्नै देशको एक मुठ्ठी माटोको याचना रहेछ । आफ्नै आङ ढाक्ने एक सर्को आकासको सपना रहेछ । धर्ती पनि गुमाएका, आकास पनि गुमाएका भुटानबाट बिस्थापन गराइएर धर्ती र आकास खोज्दै नेपालका सरणार्थी शिविरमा आफ्नै स्वत्वको खोजीमा मुर्मुरिरहेका आवाजहरुको मनभरी राँको पनि रहेछ ।
यस्ता सायौं राँकाहरु मनभरी बोकेर दमक बहुमुखी क्याम्पसको स्नातक तहको कक्षामा मुस्कुराएर बस्ने विद्यार्थी भाइ दिल भूटानीको हृयको आयाम अहिले म नाप्ने प्रयास गरिरहेको छु । कति मजबुत रहेछ उनको चेतना ! आँसुहरुमा पनि मुस्कुराउन सक्ने ! अँध्यारामा पनि उज्यालो देख्ने । काँडामा पनि सुवास देख्ने । हजारौं घाउहरु बेकेर पनि एैया नभन्ने । आत्था नभन्ने । दुख्यो नभन्ने । बरु तिनलाई दवाएर उज्यालो छर्ने । नकारात्मकतालाई परास्त गरेर सकारात्मकताको बीउ छर्ने उनको यो महान व्यक्तित्व उनको भखैरै प्रकाशित भएकाकविता सङ्ग्रहनब्बेका घाउहरू(२०७८) मा प्रकट हुन पुग्यो । उनको मुस्कनमा यति धेरै घाउहरु थिएछन्, अहिले मात्रै थाहा भयो । अकल्पनीय यथार्थ !
उनको यस कविता सङ्ग्रहमा जम्मा ३६ वटा कविताहरु सङ्ग्रहित छन् । यी सबै अभिव्यञ्जनाहरुको रचना गर्भ भने एउटै छ, र त्यो हो भूटानी राज्यसत्ताले चलाएको आतङ्क र आप्mनै नागरिकहरुलाई देश निकाला गर्ने आततायी भूटानी राज्य संयन्त्र । अनि जसको परिणामस्वरुप तिनले देश छोडनु प¥यो । धर्ती पनि गुमाउनु प¥यो, आकास पनि गुमाउनु प¥यो । अन्ततः आप्mनो सारा इतिहास, बिरासत र पहिचान गुमाउनु पर्याे ।
यो कविता सङ्ग्रह वास्तवमा दिल भूटानीको आत्मबृतान्त हो भन्दा पनि अत्युक्ति हुँदैन । किनभने उनको पहिलो कविता म जन्मँदा को पहिलो श्लोकमै उनको जीवन लीलाको सुरुआती आयामको द्योतक बनेको छः
म जन्मँदा
मुस्कुराउनु पर्ने मेरी आमाको चेहरा
अँध्यारो थियो ।(म जन्मँदा)
भुटानमा जन्मिएर बाल्यकालमै आप्mेनोपन गुमाउन पुगेका लाखौं सरणार्थीहरुको सामुहिक कथा हो यो । दिलले सानैमा सरणर्थी जीवन भोग्नु प¥यो । गाईबस्तु कोचेर लगेजसरी आप्mनै राज्यले लगेका बबुराहरुको भीडमा सानो मान्छे दिल भूटानी आज ती दिनहरुको बहीखाता पल्टाएर आएका छन् पाठकसामू । यो हिसावकिताव खाता हो, बही खाता हो, र एउटा जीवन्त इतिहास पनि हो ।
यसरी नेपालका बगर र जङ्गलमा छाप्रा बनाएर छानाबाट चुहिएका पानी थोपा कान र नाकमा, सिरकका खोलमा, आँखामा तपतप झरिरहँदा पनि मुस्कुराएर कक्षामा बस्ने दिल भूटानी आज तिनै पानीका थोपामा आप्mनोपन देख्दैछन् । तिनै पानीका थोपामा लेख्दैछन् काव्यमा एक इतिहास । र उनी हामी यता छौं मा भन्छन्ः
हामी दुखै दुखमा छौं
तर अझै
देश पर्खिरहेका छौं ।
उनले आफेनो भोगाइलाई अत्यन्तै मार्मिक अलंकारमा अभिव्यक्त गरेका छन् । यो अलंकार चानचुने पनि होइन । दिनहुँ हजारौं मानिस शिविरका मान्छे हेर्न भनेर जान्थे । अहिले पनि जान्छन् । मान्छे हेर्न मान्छे जान्छन् त ? कति पीडा हुन्छ मान्छे हेर्न मान्छे पैसा खर्च गरेर जान्छ भन्दा ? उनी म हरिण हुँ मा यसोसम्म भन्न भ्याउँछन् ः
यतिवेला म
चिडियाखानामा छु ।
उनमा क्रान्तिकारी चेतना प्रश्स्तै छ । त्यसैले उनले कहिले अक्टोवर क्रान्तिको बिम्ब छर्छन्, कहिले प्रान्सेली राज्यक्रान्तिको कुरा उठाउँछन् । उनका पर्चाहरु क्रान्ति गरिहेका छन् ।
सरणार्थी शिविरमा आगलागी भएर उनका कविताहरु डढेर गए, अनि उनी त्यही खरानीको बास्ना लिएर अरु काव्यकोृ रचना गरिरहेका छन् । खरानीमा जीवन पाउन्, खरानीमा अस्थित्व पाउने उनी र उनको सिर्जना इजिप्सियनहरुको पौराणिक पात्र फिनिक्स चरो हो । फिनिक्स आफ्नै खरानीमा जीवन पाउने पात्र हो । दिल भाइका रचना पनि त्यही चरो हो, र त आज यहाँ हामीमाझ यी कविताहरु झुल्किन पाए फिनिक्स चरो भएर ।
स्वत्व हराएका पात्र बनेका ती शरणार्थीहरु हामी, हामी रहेनौं भन्छन् ।
यस कविता सङ्ग्रहमा सरणार्थीहरुको कहालीलाग्दो जीवन त छ नै, अझ बढी त यसमा मानवीयताको क्षयीकरण गरिएकोमा छ । निर्दयी, पापी, निरंकुश शासकको भण्डाफोर गर्न खोजिएको छ यहाँ । अचेल म बिग्रिएको छु मा उनी भन्छन्ः
किनकि म
एक शताब्दी बूढो सिंह पुर्ने
एउटा चिहान खन्दै छु ।
यस सङग्रहमा डायस्पोराको निकै महसुस गर्न सकिन्छ । त्यहाँ नोष्टाल्जिया छ । जन्मभूमिको सम्झना छ । प्रेम छ । र आज पनि त्यहाँका डाडापाखा, खाृेला र बारीका कान्लाले पनि दिमागलाई जकड्याएर राखिरहेको छ । हजुरबाहरु मा उनी भन्छन्ः
जहाँ जहाँ पुगे पनि
बारबार छोट्टाचिराङ्ग सम्झिन्छन् ।
यसरी भाइ दिल भूटानीले देश छाडेर हिंडन बाध्य पारिएका, हिंडाइएकाहको जीवन्त चित्र कविताका हरफहरुमा उतारेका छन् । आप्mनो पहिलो कविता कृतिमै यति बिध्न बुलन्द आवाज दिन सक्ने कवि दिल भूटानीको लेखनमा शक्ति छ । कला छ । रङ्ग छ । अनि अनेक आयाम छ । र थुप्रै सम्भावना छ । अर्थात म उनको अक्षरहरुमा उनको भविष्य पढिरहेको छु । निकै सम्भावना बोकेका छन् । र बधाई पनि दिन चाहन्छु भाइलाई । मुस्कुराउन नछोड्नू । त्यो मुस्कान नै तिम्रो अकल्पनीय काव्य हो ।
२०७८ असोज