पत्रपत्रिका राजनीति विचार/वहस

दलहरु आन्तरिक पक्ष बलियो बनाउँदै, अधिवेशनदेखि विधान निर्माणसम्म बहस

 विमल लामिछाने

दमक / पछिल्लो समय राजनीतिक दलहरु आन्तरिक पक्ष बलियो बनाउने ध्याउन्नमा जुटेका छन् । नेकपा एमाले विधान तयारीको अन्तिम चरणमा छ भने नेपाली काँग्रेस केन्द्रीय महाधिवेशनको ढोका उघार्ने तयारीमा छ । काँग्रेसले स्थानीय, पालिकास्तरीय र क्षेत्रीय प्रतिनिधि छानिरहेको छ । यसैगरी नेकपा माओवादी (केन्द्र) पनि पार्टीको इतिहासमा नयाँ पड्को मार्दै निर्वाचन प्रणालीमा जुटेको छ । माओवादी केन्द्र पहिलो पटक निर्वाचनको माध्यमबाट नेतृत्व छनौट गर्दैछ । राप्रपा, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजबादी लगायतका दलहरु चुनावी प्रक्रियाबाट पार्टी नेतृत्वको अभ्यासमा जान आन्तरिक छलफल चलाईरहेकै छन् । सयरी समग्रमा हेर्ने हो भने अब दलहरु आफू दरिलो भएर अघि बढ्ने अभ्यासमा जुटेका देखिन्छ ।
चौतर्फी चासोको रुपमा रहेको नेकपा एमाले विभाजनको ठूलो भूँमरीको मारपछि तंग्रिदै विधान महाधिवेशनको तयारीमा जुटेको थियो । एमालेले भर्खरै महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि समूहगत छलफल सकेको छ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल गरेको छ ।
१० वटा समूह बनाएर तीनवटै प्रस्तावमाथि गरेको छलफल सकिएको र प्रत्येक समूहका प्रमुखले संक्षेपमा सुझावहरु राखेका छन् । सुझावसहित आएको प्रश्नको जवाफ सम्बन्धित प्रस्तावक र पार्टी अध्यक्षले दिएपछि महाधिवेशन सम्पन्न हुनेछ ।
विधान महाधिवेशनले पार्टीको सांगठनिक संरचना, विधान र राजनीतिक कार्यदिशा तय गर्नेछ । एमालेले पहिलो पटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको थियो । महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधि सहभागी गराएर बहस गरेको छ ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसीर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले बताउँदै आएको छ भने यो पटक अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा सामान्य फरक मत भएपनि एकलौटी रुपमा पास भएको हो । यसले अब ओली पक्ष पार्टीमा हावी हु्नेमा दुईमत देखिँदैन ।
अध्यक्ष ओलीले शुक्रबार सो महाधिवेशनको उद्घाटन गर्दै पार्टी विभाजनको मुख्य योजनाकार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल भएको आरोपसमेत लगाएका छन् । त्यसैगरी उनले सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाले पनि एमाले पार्टी विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै आपत्ति जनाएका थिए ।
ओलीले अफगान मामिलामा अमेरिकाको समेत आलोचना गर्न भ्याएका थिए । सत्तामा हुँदा विवादास्पद एमसीसी सम्झौता अनुमोदन गर्न सक्दो प्रयास गरेका र सत्ताबाट बाहिरिएपछि उल्टो घुम्ती लिएका ओलीले अफगान मामिलामा अमेरिका असफल भएको दाबी गरेका हुन् ।
दक्षिण छिमेकी भारत र उत्तर छिमेकी चीनसँग विद्यमान समस्यालाई जिम्मेवार कूटनीतिक पहलका माध्यमबाट समाधान गर्नुपर्ने पनि ओलीले प्रतिवेदनमा लेखेका छन् ।
एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको बताएको थियो ।

पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान हासिल गर्ने प्रवृत्तिमा ह्रास आएको महासचिव पोखरेलले औंल्याएका छन् । अध्ययनभन्दा आमसञ्चार र सामाजिक सञ्जालमा बढी नयाँ पुस्ता प्रभावित हुने गरेको उनको विश्लेषण छ । अध्ययन र प्रशिक्षणकै आभवमा पार्टीमा गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा झाँगिँदै गएको एमालेले ढिलै भएपनि स्वीकारेको छ ।
यो समस्या एमालेको मात्रै नभएर समग्र पार्टीहरुको दीर्घ रोग बनेका छ । अबका दिनमा सबै दलहरुले आफूभित्रको कलह, आरोर र प्रतिआरोपको खेल, विभाजनको बाटो छोडेर अघि बढ्न सक्नुपर्छ । पार्टी अधिवेशनको तयारीमा जुटेका र अधिवेशन गर्दै गरेका पार्टीहरुले आफूभित्रको दीर्घरोग चिनेर बेलैमा उपचारको बिधी खोज्नु अहिलेको आवश्यकता हो । आपसमा विभाजन र आरोप प्रतिआरोपको दिर्घरोगबाट मुक्त भई समग्र मुलुकको विकासमा ध्यान केन्दित गर्न सकेमात्रै जनताको विश्वास जित्न सकिन्छ, मुलुक समृद्ध बनाउनु सबैको साझा जिम्मेवारी हो ।

You may also like