==== अहिलेको समयमा पुस्तकहरु बिक्री नहुनुको प्रमुख दोष विद्युतीय श्रव्य दृष्य सामग्रीको प्रचुरतालाई पनि दिन सकिन्छ । तर विश्व बजारलाई हेर्ने हो भने किताब उत्पादनमा कमी आएको देखिंदैन । छापा सँगसँगै डिजिटल र अडियो बुकहरु चलिरहेकै छन् । डिजिटल बुकहरुको विकासपछि छापा किताबहरुलाई धक्का दिन्छ कि भन्ने अनुमान पनि फेल भएको छ । ====

 

डा. व्यन्जना शर्मा

तपाईंको पनि पुस्तक पढ्ने शोख छ भनें कतिवटा नेपाली साहित्यका पुस्तकलाई तपाईंले आफ्नो मनको नजिक राख्नुभएको छ ? पुराना क्लासिकका कुरा नगर्दा गत दश वर्ष यता संग्रह गर्न लायक पुस्तक कति होलान् ? आ–आफ्ना शोख हामी सबैले पालेका हुन्छौँ । मेरो चाहिँ शोख भनेकै पढ्नु र घुम्नु हो । घुम्ने कुरामा जहाँ पुगिन्छ, त्यहिँ रमाइलो । गएका नयाँ ठाउँका विशेष खानेकुरा चाख्नु पनि मेरो एक शोख नै हो । पढ्ने कुरामा भनेँ म उदार छु तर पुस्तक छान्ने कुरामा भनेँ साह्रै अनुदार ।

अहिले बजारमा पुस्तकको पहिरो नै छ । हरेक दिन जसो छापामा नयाँ नयाँ पुस्तकको चर्चा देखिन्छ । पुस्तक प्रतिको मोह र उत्साह देख्दा पक्कै पनि पठन संस्कृति बढेको होला जस्तो लाग्छ । तर मेरो बुझाइमा त्यस्तो छैन । छापिएका पुस्तकका संख्याले गुणवत्ता बुझाउँदैनन् । यो अप्रिय कुरा भएपनि भन्नैपर्ने हुन्छ– पढ्न लायकका र गुणस्तरीय पुस्तक अति कम मात्र प्रकाशित हुन्छन् ।

यसका पछाडि धेरै कारण हुन सक्लान्  तर संक्षेपमा भन्नुपर्दा हामी जे लेख्छौं त्यसैलाई अन्तिम सत्य मान्छौं । अनि पुस्तक छापेर जनमानसमा पु¥याउन हतारिन्छौं । आफ्नो लेखन आफूलाई अब्बल लाग्नु स्वभाविक नै हो तर त्यस लेखनलाई सार्वजनिक गर्ने रहर गरेपछि भरिसक्ये त्रुटिरहित बनाउनु जरुरी हुन्छ ।

शुरुका पाँच पन्ना

शुरुका पाँच पन्ना मेरा लागि पुस्तक छनोटका आधार हुन् । पुस्तक पल्टाउँदा शुरुका पाँच पन्नाले मलाई तान्न सकेन भने त्यो किताब छेऊ लाग्छ । यो सूत्र मैले आपैंmले प्रतिपादन गरेको भनें होइन । पुस्तक सम्पादनमै वषौं समय बिताएका नोअ ल्युकम्यानको किताब ‘द फस्ट फाइभ पेजेज’ पढेपछि नै उनका कुरामा म सहमत भएकी हुँ । यदि शुरुका पाँचवटा पन्नाले मलाई तान्न सकेनन् भने म त्यो पुस्तकलाई प्रेमपूर्वक थन्क्याउँछु । यो मेरो मात्र नभई हरेक पाठकको समस्या हुन सक्छ ।

यसरी पढ्न नसकेर प्रेमपूर्वक थन्क्याएका पुस्तक राख्ने स्थानाभाव नै भैसकेको छ मेरो घरमा किनभने यी पुस्तकहरु वर्षौंदेखि नपढेर थन्क्याइएका छन् र अब पढ्ने सम्भावना पनि कमै छ । यस किसिमका अग्राह्य पुस्तकको बढ्दो संख्याले म मा एउटा कौतुहलता जगायो—किन यति धेरै मात्रामा अरुचिकर पुस्तकहरुको उत्पादन हुन्छ ? किन पुस्तकहरु एक भन्दा अर्को संस्करणमा विरलै मात्र जान्छन् ? यी प्रश्नहरुको उत्तर लेखकहरु स्वयम्ले पनि कहिलेकाहीँ नखोजेको हुनसक्छ ।

हुन त यो रुची र अरुची भन्ने कुरा व्यक्तिगत हो तर व्यापारिक प्रयोजनका लागि बजारमा राखिएका पुस्तकको अत्यन्त न्यून वा शुण्य बिक्रीले भनें पुस्तक अग्राह्य नै हो कि भन्ने देखाउँछ ।

अहिलेको समयमा पुस्तकहरु बिक्री नहुनुको प्रमुख दोष विद्युतीय श्रव्य दृष्य सामग्रीको प्रचुरतालाई पनि दिन सकिन्छ । तर विश्व बजारलाई हेर्ने हो भने किताब उत्पादनमा कमी आएको देखिंदैन । छापा सँगसँगै डिजिटल र अडियो बुकहरु चलिरहेकै छन् । डिजिटल बुकहरुको विकासपछि छापा किताबहरुलाई धक्का दिन्छ कि भन्ने अनुमान पनि फेल भएको छ ।

हुन त टेलिभिजनले पनि रेडियो मार्न सकेन । त्यसैगरी, अनलाइन पत्रिकाले पनि अखबार सुकाउन सकेन । हामी के चाहिं भन्न सक्छौं भनें अहिले हामीसँग प्रशस्त छनौट सुविधा छन्– हामी कि त पुरातन शैलीका छापा विधि छान्न सक्छौं कि नयाँ समयको डिजिटल संसारमा रम्न सक्छौं ।

हाम्रा सन्दर्भमा भनें पुस्तकहरु पठनीय नुहुनुको कारण सम्पादनको कमी र लेखक स्वयम्को अध्ययनको कमी हो जस्तो लाग्छ । पुनर्लेखन गर्ने धैर्य त अझ हामी धेरैमा छँदैछैन । प्रथम चरणमा लेखिएका, कुन वर्गका पाठकलाई कुन उद्देश्यले लेखिएको हो भन्ने स्पष्ट नभएका पुस्तकका डंगुरले कहिलेकाहिँ उत्कृष्ट लेखनीलाई समेत ओझेलमा पारेको हुन्छ ।

आफूले लेखेको पाण्डुलिपी बोकेर सोभैm प्रेसबाट पुस्तकाकारमा ल्याउन सक्ने शाहसीपनले पनि अग्राह्य पुस्तकको संख्या बढेको हुन सक्छ । पुस्तकले लेखकलाई अमर बनाउँछ भन्ने कथन चलेको भएपनि जुन पुस्तकको एकै प्रति पनि विक्री हुँदैन त्यो पुस्तकले लेखकलाई चिरस्मरणीय र अमर बनाउन सक्दैन।

आलोचनात्मक चेत

मेरो विचारमा पुस्तक छापेर सार्वजनिक गरिसकेपछि त्यो पाठकको सम्पत्ति हो । त्यसलाई ग्रहण गर्नु वा नगर्नु पाठककै विवेकमा भर पर्छ । यदि पाठकले त्यसमा आलोचनात्मक दृष्टिकोण राख्छन् भनें पनि लेखकले त्यसका लागि तयार रहनुपर्छ । तर हामी सधैं प्रशंसा मात्र रोज्छौं । त्यसका उदाहरण हामीले आजकल देखिने पुस्तक समीक्षामा देख्न सक्छौँ ।

पुस्तक समीक्षा पढेकै आधारमा पुस्तक किन्न सकिने स्थिति हामीकहाँ मैले देखेकी छैन । कि त समीक्षकमा आलोचनात्मक चेत नै हुँदैन, कि त जानीजानी लेखकलाई खुशी पार्न समीक्षकले सकारात्मक पक्ष मात्र उजागर गर्न चाहन्छ । यस प्रवृतिको मारमा पाठक, लेखक र समीक्षक सबै पर्न सक्छन् । समीक्षकले आंैल्याइदिएका त्रुटीलाई लेखकले स्वीकार गर्न नसके ऊ अगाडि बढ्न सक्दैनन् । समीक्षक आफै नै पूर्वाग्रही बनेको हो भनें त अझ उसले आफ्नो अस्तित्व नै धरापमा पार्छ ।

पाँच पन्ने पुस्तक

यदि एउटा पुस्तक पाँच पन्ना भन्दा पर्तिर जान मन मान्दैन भनें त्यस पुस्तकमा भएको लगानी व्यर्थ हुन्छ । हाम्रा प्रकाशन संस्थाले लेखकसँग रकम नलिई छाप्ने जोखिम उठाउन चाहँदैनन् । किताब बिक्ने पक्कापक्की नहुन्जेल र त्यस पुस्तकलाई बिक्री योग्य नबनाउन्जेल उनीहरु निरन्तर सुधार गरि नै रहन्छन् । तर, त्यस्ता अगुवा प्रकाशक नेपालमा बिरलै मात्र छन् । कुनै क्षेत्र र पेशा विशेषमा नाम कमाएका सेलिब्रिटीका पुस्तक मात्र उनीहरुका छनौटमा पर्छन् ।

बाँकी सम्पूर्ण प्रकाशकहरु पैसा असूल गरेर लेखकका पुस्तक छाप्ने मात्र हुन् । त्यसरी छापिएका पुस्तकमा उनीहरुको लगानी शून्य रहने हुँदा पुस्तक चलिहाले जस र नाफा प्रकाशकको हुने र नचलेपछि अपजस र नोक्सान लेखकको हुने गर्छ । अर्काथरी आफै प्रकाशन गर्ने लेखकहरु पनि छन् । उनीहरुका पुस्तक व्यापारिक दृष्टिकोणले हेर्दा अझ दयनीय अवस्था छ । यस्ता स्वप्रकाशकहरुले पुस्तकको बजारिकरण सहज रुपमा गर्न नसकेर सकस भोगिरहेका हुन्छन् ।

यो पाँचपन्ने दुरावस्थाबाट बच्नका लागि हामीले आफ्ना पाण्डुलिपी आफैले इमान्दारीपूर्वक दुई चार पटक पढ्नै पर्छ । त्यसपछि आफ्ना नजिकका साथीभाइलाई आलोचनात्मक ढंगले पढ्न लगाउनुपर्छ । आलोचना स्वीकार नगर्ने र आफ्नो लेखनका बारेमा झुठो दम्भ पालेर अघि बढिरहने मात्र हो भनें आफैसँग आफ्नो लेखनी पनि शेष हुने कुरा अकाट्य सत्य हो ।

 

Author

You may also like