लेख

छुटेर जानेहरुका नाममा

वितेको एक वर्षमा फेसबुकको भित्तोमा कम्तिमा एकसय मृतकलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरेको रहेंछु । २२ जुनमा एकजना चिनारु अग्रज गुरुप्रसाद मैनाली, अलिक अघि अभिभावकतुल्य गाउँले अग्रज हरी भण्डारी, त्यसअघि दमक चोकका औषधी पसले रणबहादुर थापा र उहाँका पिता खड्गबहादुर एक दिनको फरकमा, गत २८ मे मा सुनसरीको सप्तकोशी एफएमका प्रबन्धक चन्द्र न्यौपाने, काठमाडौंमा पत्रकार मित्र कमल मिश्र, छिमेकी नरेश श्रेष्ठ, पूर्वशिक्षक डम्बरुबल्लभ प्याकुरेल………. । अनि यस्ता कति हो कति । धेरै चिनारु तथा अन्तरङ्ग ब्यक्तिहरुका नाममा हात काँप्दै श्रद्धाञ्जली लेखेको सम्झिँदा लाग्छ, मिति मात्र फरक हो, लाममा म÷हामी पनि छु÷छौं । यो अप्रिय तथ्यले दिमागका तन्तुहरु हमेशा गिजोलीरहेको छ ।
हाम्रा घर र छिमेकहरुमा जीवन जीउने कलाका बारेमा जान अञ्जानमा धेरै बहस हुन्छन् । बाँच्ने काइदा र उपायहरु सुनिन्छन्, सिकाइन्छन् । तर प्रत्येक दिन मृत्युको नजिकतर्फको यात्रामा हामी नजानिँदो पाराले लागिरहेका हुँदारहेछौं । म सम्झिन्छु, बाल्यकालमा सँगै पढेका साथीहरु कतिपय छुटेर गए । तिनीहरु मृत्युको लाममा पहिले नै लागिसके । म सँगै एउटै भुँईमा बसेर दमक १९ (हाल दमक १०) को सिंहदेवी प्रस्तावित माध्यमिक विद्यालय (हालको उच्च मावि) मा कलिलो मुखले साँवा अक्षर फुटाउन सिकेको साथी इन्द्रबहादुर थापा र उसको सहोदर दाजु पूर्णबहादुर थापा दमक र लखनपुरमा भएका सडक दुर्घटनामा बिते । म सम्झिन्छु, पढाईमा म जस्तै मध्यम तिनका मृत्युले तिनका परिवारको जगै हल्लाइदिएको थियो । दमकमा अहिले पनि मुस्किलले उठ्न खोजिरहेको छ उनीहरुको दोस्रो पुस्ता । दुई भाई मध्ये दाजुचाँहिको मलामीसम्म गएको थिएँ । परिवारको युवा मूली परलोक हुँदा बाँकी सदस्यहरुलाई सम्हालिन र अघि बढ्न पर्ने गाह्रो कल्पना गर्दा समेत ऐठन हुन्छ ।
अर्काे थियो, अत्यन्तै प्रिय साथी अनिल थापा । सरद थापा सरको जेठो छोरो । ४ देखि १० कक्षासम्म हरेक दिन स्कुल जाँदा उ र म सँगै हुन्थ्यौं । सम्झिन्छु, होचो उ सरल थियो । उसको आँगनको लिच्चीको बोटमा झुण्डिने अधिकार त्यो घर बाहिरका केटाकेटीमध्ये मलाई मात्र थियो । पढाईमा केही कमजोर उ प्रवेशिका माथि उक्लिन सकेन । केही वर्ष दमकमै मारुती भ्यान चलायो । विवाह ग¥यो । उ पनि अर्काे सडक दुर्घटनामा बित्यो । त्यो डरलाग्दो बिहान अनिल मरेको खबर कानमा तातो झिर प्रवेश गरे झैं सुनियो । साईकलको प्याडल फन्काउँदै उसको खुल्ला आँगनमा पुगें । उ लमतन्न सुतिरेहेको थियो । लिच्चीको बोटमा आड लागेकी उसकी श्रीमतीको अरण्य रोदनले वरिपरिका सबैका गह भिजेका थिए ।  । मलाई कहिल्यै तँ नभन्ने उसको मुखबाट कसैले खैरो रङको धुसा हटाइदियो । आँखा खुल्लै थिए । अन्तिम पटक हेरें । आज पनि अनिलसँगका अनेक सम्झनाले मन उचाल पछार गरिरहेको हुन्छ । अनिल नाच्थ्यो । गीत पनि राम्रै गाउँथ्यो । चित्र पनि राम्रो कोर्दथ्यो ।
छरिएका छौं । फेसबुकको सहायताले धेरै देशमा पुगेका सहपाठीहरुसँग जोडिन सम्भव छ । अस्ति मात्र काठमाडौंमा रहेका मञ्जु धिमाल र प्रमिला न्यौपानेसँग कुरा भयो । हाम्रा को को सहपाठीहरु नफर्किने बाटोमा गइसके, तिमीहरुलाई थाह छ ? भनेर मैले नै उठाएको जिज्ञासामा उनीहरु पनि सामेल भए ।
पढाईमा मेधावी थियो ओमप्रकाश दाहाल । उसको घर दमक बजार नजिकै थियो । पातलो र गोरो बनौटको ओमप्रकाश प्रवेशिका पछि स्वास्थ्य प्राविधिक बनेको थियो । उ बेला म काम गर्ने दमकको जनज्योति साप्ताहिकको कार्यालयसँगै रहेको अर्काे कोठामा क्लिनिक खोलेको थियो । २०५३ सालतिर हरेक दिनजसो भेटिन्थ्यौं । स्वास्थ्यप्रति सचेत उ चिनी कम हालेको चिया माग्थ्यो । गफिन्थ्यौं । स्नातकको परीक्षा चलिरहेको एक अपरान्ह मलाई कसैले तिम्रो साथी आज बित्यो भनेर सुनाइदियो । मलामी जाने समय पनि थिएन । ठूलो विस्मात छ, ओमप्रकाश म तिम्रो मृत शरीर हेर्न समेत जान सकिनँ । उसकी आमा विमला दाहाल, जो दमकको राजनीतिक र सामाजिक जीवनमा सकृय हुनुहुन्थ्यो । विमला आमालाई जहाँ देखेपनि नरमाइलो लाग्थ्यो ।
राजकुमार धिमाल अर्काे सहपाठी र छिमेकी पनि । उ कम बोल्ने । जण्डीसले सिकिस्त रहेछ । म उसको आँगनमा पुग्नुअघि नै एम्बुलेन्स पुगिसकेको थियो । निख्खर कालो कपाल, हावाले हल्का उडाइरहँदा उसको अनुहार केहि सुन्निएको र पहेंलो पनि । नजिकबाट हेरें, उ क्लान्त थियो । म दैनिकी पनि लेख्थें । पुरानो डायरी पल्टाउँदा थाहा पाएँ, त्यो ३ असार २०५९ को बिहान थियो । पानीको बोतल र सिरानी छेउमा राखिएको एम्बुलेन्सको बेडमा सुतेको उसले हेर्दा सायद नजिक म पनि देखिएँ । उसका पाइताला पहेँला थिए । उसका पिता रामबहादुर धिमाल र केहि आफन्तहरु चढेपछि घरबाट केहि उत्तर पुगेर पश्चिम धरानको लागि हुँइकिएको एम्बुलेन्स विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्नै नपाइ मेरो एउटा स्कुले साथीको प्राण हरण भइसकेको थियो । उ मेरै उमेरको थियो । छिमेकी पनि भएकोले उसकी आमा (काकी) हरेकदिन मलाई देख्नु हुन्थ्यो । मलाई हेरेर उहाँ कयौं पटक टोल्हाएको देख्दा मेरो पनि हृदय पग्लिन्थ्यो । अचेल त आफैं टाढा पुगेको छु । कतै पढेको थिएँ, मान्छे सबभन्दा बढि डराउने र सबैले भोग्नै पनि अपवादविहिन एकमात्र सत्य मृत्यु हो । यो कुनै पनि बाधा वा अड्काउले रोकिन्न ।
बाल्यकाल सबैलाई प्रिय लाग्छ । कल्पनामा बेफिक्रि कावा खाइन्थ्यो । पानी परेको कुनै दिन घाँस काट्न हिमालय चिया बगान पस्दा पानीले लोथ भिजेपछि गह्रौं भएर घाँसको भारी उचाल्न नसक्दा घिसारेर ल्याएको, भैंसी चराउन गएकोबेला एउटा घोगो मकै भाँचेर आधाआधा खाएको, छिमेकमा कसैको विवाहमा सँगै काम सघाएको, यस्ता अनेक सम्झना छन् मेरा राजकुमारसँगका । मेरा लागि इन्द्र, धनबहादुर, ओमप्रकाश, अनिल र राजकुमार पञ्चतत्वमा विलिन भएका त्यस्ता पात्र हुन जो बाल्यकाल सम्झिँदा सग्लो चित्रसाथ आइहाल्छन् । विचराहरुले जीवनका धेरै रंङ्गहरु भोग्न पाएनन् । छोटो आयुका रहेछन् । उनीहरुलाई सम्झिँदा अँध्यारो पहाडमा हामी एक्लाएक्लै छौं जस्तै लाग्छ ।
साथीहरु, सँगै उचालेका थियौं पाइलाहरु । आकाशमा चराहरुले बनाउने बद्लिरहने पहाडको चित्र, हामी माथिको आकाशमा उडेको हवाईजहाज, हाम्रा कक्षाकोठाका आँगनमा हामीले फुलाएका फूलहरुको सुगन्ध, तीनमा पालैपालो बस्ने पुतलीका पछाडि दौडिने हामी, सबैथोकले सम्झाइरहन्छ नि ! स्कुलको चउरमा हामीले उफ्रिपाफ्री गरेका पदचाप अझै होलान । हामी बसेका डेक्स बेञ्चहरु अझै होलान । हामीलाई पढाएका धेरैजसो शिक्षकहरु अझै हुनुहुन्छ ।
मृत्युबारे हामी घरमा पनि कुरा गर्दैनौं । नानीहरुलाई त विल्कुलै भन्दैनौं । आमाहरुले आकाशका तारा गन्न सिकाए । तर काखमा राखेर बच्चालाई कहिल्यै मृत्युबारे बताएनन् । यसलाई यति असहज र भयानक स्वरुपमा बुझियो कि कल्पना गर्न समेत गाह्रो हुने ।
म आफैं पनि झापाका कनकाई र रतुवा घाटहरुमा कम्तिमा दुईसय लाशहरुको मलामी गएको हुँला । मलामी गएको बखत मन भारी हुनु र केहिबेर पछिदेखि पुरानै लयमा फर्किनु स्वाभाविक अभ्यास नै भयो । चितामाथि राखिएको लाशलाई देख्दा सबै मलामीजन एकछिन भएपनि दार्शानिक जस्ता लाग्ने । मानौं, तीनिहरु गृहस्थीका खातिर कुनै लप्पन छप्पन गर्नेवाला छैनन् । र, घाटाबाट पवित्र मन लिएर फर्किनेछन् । तर त्यस्तो कहाँ हुनु, अर्काे घण्टा नवित्दै उछिनपाछिन र भागदौड शुरु भइहाल्ने ।
अस्ति भर्खर एउटा विश्व समृद्ध मुलुक इटलीमा लाशहरुको यतिसाह्रो विस्कुन लाग्यो कि, ठूल्ठूला खाडी खनेर सामूहिक अन्त्येष्टी गरियो । भारतको मुम्वईमा खरानी पखाल्ने आफन्तहरु पनि थिएनन् हजारौं लाशहरु जलिरहँदा । काठमाडौंको आर्यघाटमा पनि जल्नको लागि पालो पखिरहेका थिए लाशहरुले । रुने र लाशलाई दिने काँधहरु निकै पर बसेर खबर बुझ्नु पर्ने अवस्था । अत्यन्तै भयानक स्वरुपमा बुझेँ, बुझाइएको मृत्यु यसरी करिव करिव सहज र सस्तो बन्दै गएको छ । प्रकृतिले उसकै गतिमा हिजोआज कठोर काईदाले हामीलाई मृत्यु चेत बुझिनेगरी अथ्र्याइरहेको छ ।

You may also like