गोपाल गड्तौला,
पिस्टुला जडान गरिएको दायाँ पाखुरोमा पानी भरिएको बोतलले सेक्दै उर्मिला भाउजू कोठामा पस्नुभयो । मेरो ठीक सम्मुख डा. भम्पाको छेउमा बस्नुभयो । छालामा कतैकतै गाढा कालोपना बढेको र अनुहार सुन्निएको, हातखुट्टाको छाला चाउरी परेको, शरीर क्लान्त र दुब्लो, स्वर सुक्दै गएको, ओठ कलेंटी परेका, आँखामा पहेंलोपन बढेको ।

केही महिनाको अन्तरालको त्यो भेटमा उहाँ मुख नखोली मतिर हेरेर फिस्स हाँस्नुभयो । पहिलेदेखि नै गफिरहेका डा. भम्पा र मैले एकछिन बोली बिसायौँ । यही मौकामा उर्मिला भाउजूले उच्च रक्तचापको औषधि खाइरहने मेरी आमालाई कस्तो छ भनेर सोध्नुभयो । श्रीमती, बच्चा र बहिनीहरुको पनि खवर मेलैसँग सोध्नुभयो ।
थालमा राखिएको फिका चिया र बिस्कुट खान मलाई इसारा गर्दै भुइँतिर हेर्नुभयो र भन्नुभयो, ‘गोपाल भाइ, अब धेरै बाँच्दिन होला ।’ दुवै मिर्गाैला खराब भएर केही वर्षदेखि डायलासिसमा जानुभएकी उहाँको स्वास्थ्य दिनदिनै खस्किरहेको मलाई थाहा थियो । हिजै मात्र डायलसिस गर्नुभएको रहेछ ।
आज परदेशको एउटा कोठामा बसेर यी वाक्य लेखिरहँँदा म गम खाँँदै सम्झिन्छु, उर्मिला भाउजू र डाक्टर भम्पा राईलाई म कहिलेदेखि चिन्छु ? सिनेमाको रिल घुमेझैँ अनेक सम्झनाहरु मथिङ्गलमा फनफनी घुम्न थाले । उहाँहरुको डेराका हरेक कोठामा जान मलाई कहिल्यै कुनै बन्देज भएन । डाक्टर भम्पा र उर्मिला भाउजूसँग गफ गर्दागर्दै छतमा अबेर रातिसम्म बसेको छु ।
विशेषगरी नेपाल–भुटान १५औँ चरणसम्म वार्ता चलिरहँदा भुटानी नेतृत्वको हिसाबले डा. राईका कुरा समाचारमा कोट गरिन्थ्यो । यही प्रयोजनका लागि केही दिनको अन्तरमा उहाँसँग भेट भइरहन्थ्यो । काठमाडौँ र दिल्लीमा रहेका विभिन्न मुलुकका दूतावासहरुको ठेगाना र सम्पर्क नम्बर जुटाउन, विज्ञप्ति र ज्ञापनपत्र तयार पार्न डा. राई मलाई बोलाइरहने ।
भुटानी शरणार्थीको मामिलामा समाचार लेख्दा २५ वर्षअघि आफू कार्यरत पूर्वाञ्चल दैनिक, त्यसपछिको स्पेसटाईम दैनिक, पूर्वसन्देश दैनिक, उज्यालो ९० नेटवर्कदेखि हिजोआज हिमाल खबरपत्रिकासम्म कैयौँपटक यो दम्पत्तीलाई कोट गरेको छु । पाए भुटान जाने तर अन्यत्र नजाने अडानमा रहेर बुढ्यौली दैनिकी गुजारिरहेको जोडीका अब डाक्टर मात्र रहे दमकमा ।
एक दिन पूर्वसन्देश दैनिकमा डा. राईको बारेमा ‘पर्सनल प्रोफाइल’ छाप्ने निधो गरेँ । म सहायक सम्पादक थिएँ । कुरा गर्न बेलडाँगी रोडस्थित डा. राईको क्लिनिकमा पुगें । डा. राईले बाल्यकालका हरेक घटनाका संस्मरणका पत्रपत्र केलाउन थाले । खातापिता परिवारको पढाइमा मेधावी कान्छो छोरो । भुटान छोडेर नेपालमा शरणार्थी बन्नु अघिसम्म अभाव के हो भन्ने पत्ता नभएको मान्छे ।
दार्जिलिङ, गुहाटी र बङ्गलादेशको ढाकाबाट शिक्षा लिएका उनको पछिल्लो डिग्रीचाहिँ ‘एफआरसिएस’ रहेछ । कुरा गर्दा थाहा भयो, उनी फुटबल र फिसिङका एकदमै सोखी हुन् । नर्स उर्मिलासँग विवाह भएपछि थिम्पु जोनल हस्पिटलमा काम गर्दथे । कुरैकुरामा मैले तपाईंले भुटानी राजपरिवारका सदस्यहरुको पनि उपचार गर्नुभयो नि ? भनेर सोधेँ । ‘हो’, उनले मेरो प्रश्नलाई पुग्दो जवाफ दिएका थिए, ‘मैले जिग्मेको परिवारका धेरैको नाडी—धड्कन छामेको छु ।’
मैले थाह पाउँदा उहाँहरु दमक १३ (हाल दमक–८) मा धनपति सङ्ग्रौलाको घरको भुइँतल्लामा डेरा बस्नुहुन्थ्यो । भुटानबाट आएको नामी डाक्टर यहाँ बस्छन् भन्ने हल्ला चौदिशामा फैलिएको थियो । २०५१ सालको जेठ २ गते मेरो बुबालाई एपेन्टिसाइटिस दुखेर मुस्किल भएको थियो । डा. राईको कोठामा पु¥याएपछि आफूलाई अलिक ढुक्क लाग्यो ।
तर, उहाँले एकैछिन बुबाको पेट छामेर मतिर हेर्दै एकै सासमा भन्नुभयो, ‘तिम्रो बाबुको एपेन्टिसाइटिस फुटिसकेको छ, तुरmन्त अप्रेसन गर्नुपर्छ, नत्र जे पनि हुनसक्छ ।’ एम्बुलेन्स पनि उहाँले बोलाउनासाथ तुरmन्त आयो । पेट दुखेर कठिन हुनुभएको बुबालाई रिक्सामा लैजाँदा केही बोकेको थिइनँ । उर्मिला भाउजूले तातोपानी भरिएको तुम्लेट र सिरानी दिनुभयो । धन्न दुई घण्टापछि कोसी अञ्चल अस्पताल पु¥याइयो र अर्काे एक घण्टापछि आपत्कालीन अवस्थामा बुबाको शल्यक्रिया भयो । डा. राई र उर्मिला भाउजू मलाई पूरापूर स्नेह र अदवसाथ व्यवहार गर्ने । कडा मिजासका डा. भम्पा राईको प्रिय व्यवहारबाट म सधैँ प्रभावित छु ।
काठमाडौँ र पश्चिमी मुलुकबाट भुटानी शरणार्थीको समाचार तयार पार्न गएका प्रायः विदेशी पत्रकारहरु मेरो सम्पर्कमा हुन्थे । फ्रेन्च न्युज एजेन्सी एएफपीका साम टेलर, क्लेयर कजिन, फोटोपत्रकार प्रकाश माथेमा, आइरिस पत्रकार डन डन्क्यान, अस्ट्रेलियन शोधार्थी सुसन बाङ्काई, पुलिट्जर विजेता काई वर्ड आदि कैयौँलाई राईका उद्धरण (कोट) वा दृष्टिकोण चाहिएर पुग्दा म सँगै हुन्थे, अनि छेउमा सधैँ उर्मिला भाउजू । ‘उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो,’ हाल अमेरिकामा रहेकी एक पूर्व भुटानी शरणार्थी बहिनीले उर्मिला भाउजूको निधन भएको सुन्नासाथ मसँग भन्नुभयो, ‘दमकमा कलेजको शुल्क तिर्न पैसाको अभाव हुँदा म शिविरमा रहेका आमाबाबुलाई होइन, धेरैपटक डाक्टर अङ्कल र उर्मिला अन्टीलाई भेट्न गएकी छु, उहाँहरुले कहिल्यै रित्तै फर्काउनुभएन् ।’
डा. राई उपचार गर्न आफ्नो चेम्बरमा आएका एकदमै कम र दिन इच्छुकबाट मात्र शुल्क लिने । दमक–उर्लाबारी आसपासका सयौँ रिक्सा—ठेला चालक, सफाइ कर्मचारी, सातवटै शिविरका भुटानी शरणार्थी र प्रायः चिनारmको उपचार निःशुल्क गर्नका साथै र सम्भव भएसम्म ओखती पनि निःशुल्क दिने । औषधि बिक्रेताले डाक्टरलाई दिएको स्याम्पल उनले कहिल्यै बिक्री गर्नुभएन । उनको निवास पनि क्लिनिक जत्तिकै । उपचारका लागि आएको बिरामीलाई केही नखुवाइ नपठाउने भाउजूको आदत ।
भुटानी राजनीतिक तथा स्वदेशफिर्ती अभियानसम्बन्धी छलफल भइरहने राई निवासको चिया—खाजा नखाएका भुटानी अगुवा र नेताहरु सायद छैनन् । एउटा दानवीर शरणार्थी दम्पतीको रुपमा उहाँहरु चिनिनुहुन्छ, जो सधैँ दिइखान्छ । ‘म यो खबरले अभिभावकविहीन भएको महसुस गरिरहेको छु,’ उर्मिलाको निधनको खबरले भावुक एक जना पूर्व भुटानी शरणार्थी शिविर सचिव तथा कलाकार मनोज राई भन्छन्, ‘भुटानी समाजले राई दम्पतीलाई गुणकारी अभिभावकको रुपमा माथि राखेर हेर्नुपर्छ ।’
दक्षिण भुटानको साम्चीको बाँडामा रहेका हजुरसिंह बहिदारको नाति हुनुहुन्छ डा. राई । उहाँको दमक बेलडाँगी रोडस्थित क्लिनिकमा उपचारका लागि भुटानबाट कत्तिपय बिरामी अझै आउँछन् । परिचय खुलाउन नमान्ने त्यस्ता व्यक्तिहरुले डा. राईलाई भुटानको उहाँको खेतमा फलेको केही माना अन्न, हलुवावेद र आँगनको माटो उपहारस्वरुप ल्याइदिएको धेरैलाई थाहा छ, जुन उहाँहरुको सिरानीमा रातो टालोले बाँधेर राखिएको हुन्छ ।
मैले थाह पाएसम्म हरेक दिन डा. राई र उर्मिला भाउजू निधारमा त्यही माटोको टीका लगाउने गर्नुहुन्छ । प्लास्टिकको युगका हामी डा. राई दम्पतीका यस्ता फलामजस्तै बानी कति पत्याउन सक्छौँ कुन्नि, आफ्नो नाभी गाडिएको माटोप्रतिको विलक्षण प्रेमको यो अन्तर्य एउटा सिङ्गो महाभारतभन्दा पनि ठूलो महाकाव्य हो । रोगाउँदै गएका राई दम्पतीलाई २०७४ सालमा नेपाल सरकारले १० लाख, दमक नगरपालिका र झापा जिल्ला समन्वय समितिले २ लाख ५० हजार समेत कुल १२ लाख ५० हजार सहयोग गरेका थिए ।
असख्य संवादहरु सम्झनामा छन्, खै कहाँबाट सुरm गरेर तपाईंलाई श्रद्धाञ्जली दिऔं उर्मिला भाउजू ? तपार्ईंले पकाएको चिया, उसिनेका आलु–सखरसण्ड, भुटेको चिउरा, बफ्याएको मःम वा भाग लगाइदिएको बिस्कुट खाँदै डाक्टर दाइको मुखबाट भुटानका अनेक राजनीतिक घट्नाक्रम करिबकरिब कण्ठस्थ हुने गरी सुनेको छु ।
विदेशमा गएर पढेको भुटानको डाक्टरसँग तपाईंको लगनगाँठो कसिएको, सुनकोस खोलामा बल्छीमा माछा मारेर ढुङ्गामा सुकाई पोलेर नुन–खुर्सानीसँग खाएको, एक दिन आफ्नो मोटर लिएर भुटान छोड्नु परेको, शरणार्थी बनेपछिको सुरmका दिनमा आधा पेट खाएर झापाको गर्मीमा गरिब रात बिताएको जस्ता अकल्पनीय उतार–चढावहरु लिएर तपाईं आज पञ्चतङ्खवमा बिलाउन लामो बाटो लाग्नुभएको छ । अब हाम्रो भेट बाह्रघरे रोडको त्यो घरमा हुँदैन । म निकै भावुक र अन्योलमा छु, कुन भाषामा म डा. राईलाई समवेदना भनौँ ।
डा. राई, १४ वर्षअघि सन् २००६ मा पिताको दमकस्थित त्यही डेरामा निधन हुँदा कमल गाउँपालिकाको सितापुरीमा मलामीहरुको सान्त्वना सुनिरहनुभएका तपाईंले सबैलाई भावुक पार्ने गरी भन्नुभएको थियो, ‘यो चिहानघारीमा मेरा लागि अरु तीनवटा खाली ठाउँ चाहिएको छ ।” अर्काे एक दिन अनौपचारिक कुराकानीको क्रममा बिरामी भाउजू र बोली नआउने रोगी दिदीपछि मात्र आफ्नो काल आओस् भनेर भगवान्सँग प्रार्थना गरिरहेको बताउँदा तपाईंका गह भरिएका थिए ।
बाबुको आशौचबाट भर्खर उक्सिएको तपाईंको भावुक अनुहारसँग आँखा जुधाउन सकेको थिइनँ । हिजोआज सशस्त्र प्रहरी बलले खेलमैदान बनाएको हुनाले पहिलेको ठाउँबाट चिहानघारी केही पूर्व सारिएको छ । उर्मिला भाउजू त गइहाल्नुभयो । हो, डाक्टरसाहेब अब त्यो डेरा घरमा तपाईं र तपार्इंकी बोली नआउने दिदी मात्र हुनुहुन्छ ।
–पेन्सिलभेनिया, अमेरिका